विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयमा सञ्चालित बीबीए र एमबीएको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे उपकरण समावेश गरी विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोडिने भएको छ ।
विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठका अनुसार विश्वविद्यालय र हेल्भेटास नेपालबिच शैक्षिक सम्झौता भएपछि शैक्षिक अभ्यास व्यावसायिक जीवनसँग जोडिने भएको हो । पूर्वाञ्चल विश्वविद्यालय (पियु) र हेल्भेटास बिच बुधवार सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता विश्वविद्यालयमा सञ्चालित बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे एपीएस उपकरण समावेश गर्न भएको हो । सम्झौताले विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग खुला गरेको डिन श्रेष्ठले बताए ।
उनले भने ‘विद्यार्थीलाई बजार सर्वेक्षणमा आधारित व्यवहारिक अनुभव प्रदान गर्दै उनीहरूलाई उद्यमशीलता विकासका लागि प्रोत्साहित गर्ने उद्देश्यले सम्झौता भएको हो ।’
हेल्भेटास नेपालका टिम लिडर हरिबहादुर गुरुङले एपीएस उपकरणले विद्यार्थीहरूलाई कुनै पनि सम्भावित क्षेत्रमा मुख्य स्रोतहरू, बजार अवस्था र उत्पादन प्रवर्द्धनको गहिरो अध्ययन गर्न सक्षम बनाउने बताए ।
उनले भने ‘उपकरणको प्रयोगले विद्यार्थीहरूले बजार संरचना, प्रतिस्पर्धाको अवस्था र सम्भावित उत्पादनहरूलाई स्पष्ट रूपमा विश्लेषण गर्न सिक्ने छन् ।’
हेल्भेटास नेपालको मधेस प्रदेशका उद्यम विकास अधिकृत कृष्णलाल कर्णले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यबाट नयाँ सम्भावनाहरूको ढोका खुलेको बताए ।
अब संयुक्त परियोजनाहरू मार्फत विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा रोजगारी सिर्जना गर्ने प्रयासलाई अगाडि बढाइने उनको भनाई छ । सहकार्यले शैक्षिक र व्यावसायिक क्षेत्रलाई एक अर्कासँग थप नजिक बनाउने उनले बताए ।
व्यवस्थापन संकायका डिन डा. श्रेष्ठका अनुसार विश्वविद्यालयले यस वर्षभित्रै एपीएस उपकरणलाई बीबीए र एमबीएको पाठ्यक्रममा समावेश गर्नेछ । एपीएस सम्बन्धी शिक्षण पुस्तिका तयार गरिने छ ।
शिक्षकहरूका लागि विशेष सेमिनारको आयोजना गरिने उनले बताए । एपीएस उपकरणको माध्यमबाट विद्यार्थीहरूले कुनै पनि क्षेत्रमा रहेको आर्थिक सम्भावना पहिचान गरी त्यसको विश्लेषण गर्न सक्ने बताउँदै उनले भने ‘यसले उनीहरूलाई उद्यमशीलताको दिशामा अघि बढ्न प्रोत्साहित गर्नेछ ।’
सम्झौता पत्रमा शैक्षिक क्षेत्र र व्यावसायिक संस्थानबिचको सहकार्यलाई बलियो बनाउँदै आउँदो डिसेम्बर २०२४ भित्रै शिक्षण पुस्तिका निर्माण र शिक्षक सेमिनार सञ्चालन गरिने उल्लेख छ ।
शैक्षिक र आर्थिक विकासको मार्गमा सम्झौता देशभरका विद्यार्थीहरूको शैक्षिक अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको डा. श्रेष्ठले बताएका छन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा विशेषज्ञ अरविन्द श्रेष्ठ, डा.वासुदेवलाल कर्ण लगायतको उपस्थिति थियो ।