'श्रद्धा प्रयोजनमस्येति श्राद्ध:' अर्थात् श्रद्धापूर्वक गरिने कार्य श्राद्ध हो भनी शाब्दिक अर्थ बुझिएपनि 'शास्त्रोक्तविधानेन पितृकर्म्म श्राद्ध:' माने शास्त्रीय विधानमा रही विधिसम्मत पितृकर्म नै श्राद्ध हो। हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ। कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाऊन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। हेमाद्रीको श्राद्धखण्डको भनाईअनुसार ब्राह्मणभोजन, पिण्डदान गराउनु श्राद्ध हो ।

“संस्कृतव्यञ्जनाढ्यञ्च पयोदधिघृतान्वितम्,
श्रद्धया दीयते यस्मात् श्राद्धं तेन निगद्यते ।” (पुलस्त्य)
अर्थात्, राम्रोसित तयार गरिएका दूध, दही र घ्यूआदिबाट निर्मित पायसादि अन्न-पानी जसबाट पितृहरूलाई संकल्पित वाक्यले अर्पण गरिन्छ त्यो नै श्राद्ध हो। 'पितर: वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता:' - देवताहरू भावनाको इच्छा गर्छन् भने पितृहरू वचनको इच्छा गर्दछन्।
'सम्बोधनपदोपनीतान् पित्रादीन् चतुर्थ्यन्तपदेनोद्दिश्य हविस्त्याग: श्राद्धम्' माने आचार्यका वचनानुसार 'अमुकगोत्राय अमुकनाम्ने पित्रे..... वा अमुकगोत्रायै मात्रे' आदि सम्बोधनपदद्वारा आमान्त्रित पितृहरूलाई चतुर्थीपदले पायस/जौको पीठोले बनेको खाद्यवस्तु वा पिण्ड अर्पण आदि कर्म श्राद्ध हो। समग्रमा दिवङ्गत आफन्तहरू पितृ हुन् र तिनलाई कसैगरी नियमले श्रद्धा गरिने काम श्राद्ध हो।

श्राद्धका प्रकार
हामीले हाम्रा शास्त्रहरूले धेरै प्रकारका श्राद्ध र तिनका भेदहरू बताएपनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध/सोह्र श्राद्ध, आभ्युदयिक श्राद्ध र तीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन्। एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ। धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय श्राद्ध भनिन्छ। भविष्य पुराणका अनुसार -
“नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धं सपिण्डनग् ।
पार्व्वणञ्चेति विज्ञेयं गोष्ठ्यां शुद्ध्यर्थमष्टमम् ।।
कर्म्माङ्गं नवमं प्रोक्तं दैविकं दशमं स्मृतम् ।
यात्रार्थैकादशं प्रोक्तं पुष्ट्यर्थं द्वादशं स्मृतम् ।।" अर्थात् दैनिक गरिने तर्पणादि श्राद्ध नित्य, कुनै तिथिमा पितृविशेषको श्राद्ध निमित्त र विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध/वृद्धि श्राद्ध भनिन्छ। यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो। कर्माङ्ग वृद्धिश्राद्ध नान्दीमुख । नित्य - श्राद्ध पनि गरिन्छ । एकोद्दिष्ट आदि नैमित्तिक हुन् । यस बाहेक आफ्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देशान्तरमा जाँदा सफल हुन घ्यूले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ। कसैको देहान्तपछि दशगात्रादि कार्य गरी बाह्रौं दिन गरिने श्राद्ध सपिण्डी हो । गोष्ठको रक्षाका लागि पनि श्राद्ध गरिन्छ। यसलाई गोष्ठश्राद्ध भनिन्छ यो पनि काम्य श्राद्ध नै हो । दैविक श्राद्ध पनि काम्य श्राद्ध नै हो। सोह्रश्राद्धमा गरिने पार्वण (धेरै पितृहरू हुनाले महालय पनि भनिन्छ) श्राद्ध हो। जुनसुकै कठिनाई वा आपत-विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख श्रुति-स्मृति-पुराणमा पाइन्छ।मा.वा.शु.य.वेदशाखासँग सम्बद्ध हुने वैदिक सनातन वर्णाश्रमधर्म मान्नेहरू यस शाखाका गृह्यसूत्रानुगामी कात्यायन श्राद्धकल्पसूत्र अनुसार एकोद्दिष्ट, पार्वण, सपिण्डी र आभ्युदयिक नामका श्राद्धहरू गर्दछन् |

श्राद्धका अधिकारी-
श्राद्ध एउटा विधिपूर्वक गरिने पितृयज्ञ हो। यो रहरले जस्ले पायो उस्ले र जतिबेला पायो उतिबेलै गर्ने बिषय होइन। सनातन धर्मानुसार आ-आफ्ना वर्णाश्रम अनुरूप गरिने षोडश-संस्कारहरूमध्ये व्रतबन्धादि कर्म(पुरुषका हकमा) र विवाहादि कर्म(महिलाका हकमा) गरेका व्यक्तिले आफ्ना आमा-बाबु वा कोही अधिकार प्राप्त पितृको श्राद्ध गर्नचपर्दछ। कोही मरिसकेपछि उसको दशगात्रादि कर्मबाट श्राद्धको शृङ्खला प्रारम्भ हुने हुँदा अन्त्यकर्म गर्ने अधिकारी नै पछिसम्म श्राद्ध गर्ने अधिकारी बन्दछ। समाजमा सन्तान नहुनेहरूको क्रिया कस्ले गर्ने भन्ने भ्रम र विकृतिहरू छन् जसबाट संस्कार लोप र विकृत हुने अवस्थामा पुगेको छ। कर्मकाण्ड प्रदीपका अनुसार ३२ प्रकारका श्राद्धका अधिकारीहरूबारे यसरी उल्लेख गरिएको छ -

१. औरस पुत्र - पुत्र श्राद्धको पहिलो अधिकारी हो।
१.१ व्रतबन्ध गरेको नाति छ तर व्रतबन्ध नगरेको छोरो (बूढेसकालको होस्) छ भने छोरो नै अधिकारी हुन्छ।
१.२ यदि तीन बर्षको छोरो छ। चूडाकर्म भएको छ भने वैदिक मन्त्रविना स्वधा उच्चारण गरी काम चलाउने।
१.३ धेरै भाइ छोरा छन् भने पनि जेठो छोरो पहिलो अधिकारी हुन्छ।
१.४ जेठो छोरो अनुपस्थित/टाढा भए कूलपतित नभएको माइलो/साइलो छोराको अधिकार हुनेछ।
२. पुत्रको अभावमा नातिको अधिकार हुनेछ।
३.नाति नभए पनाति अधिकारी होओस्
४. पनाति पनि छैन भने दत्तकपुत्र अर्थात् धर्मपुत्रको अधिकार हुनेछ।
४.१ धर्मपुत्रको भने दशगात्रादि कर्मका लागि यज्ञोपवित संस्कार भएकै हुनुपर्छ तथापि अरु श्राद्धका लागि नभएपनि हुन्छ।
५. धर्मपुत्र नभए सौतेनी छोराले (आमाको) क्रिया गरोस्
६. यहाँसम्म अधिकारी नभए श्रीमान्को श्रीमती र श्रीमतीको श्रीमान्ले नै क्रिया गर्ने
७. श्रीमान्को क्रिया गर्ने पत्नी छैन भने सहोदर दाजु-भाइले क्रिया गर्ने
७.१.१ भाइ र भाइका छोरा भए कान्छो भाइले क्रिया गर्ने
७.१.२ कान्छो भाइ पनि नभए उस्को छोरो(भतीज) ले गर्ने
७.१.३ सहोदर दाजु-भाइ र तिनका सन्तान नभए सौतेनी दाजु-भाइले गर्ने
७.१.४ त्यो पनि नभए सौतेनी दाजु-भाइका छोरिहरूले गर्ने
७.२ दाजु-भाइ छुटिएका भए छोरीले क्रिया गर्ने
७.२.१ विवाहित/अविवाहितमध्ये विवाहित छोरीले क्रिया गर्ने
८. छोरी नभए छोरीको छोरो(नाति)ले गर्ने
८.१ नातिहरू धेरै छन् भने छुटिएको नातिले चाहिँ गर्ने
९. माथिका कोही पनि नभए बल्ल पिताले क्रिया गर्ने
१०. पिता नभए माताले गर्ने
११. माता पनि नभए बुहारीले गर्ने
१२. बुहारी पनि नभए दिदी-बहिनीले गर्ने
१३. दिदी-बहिनी नभए भानिजले गर्ने
१४. भानिज पनि नभए बल्ल काका वा तिनका छोराहरूले
गर्ने वा सपिण्डीभित्रका सात पुस्ताभित्रका ले गर्ने
१५. सपिण्डीभित्रका कोही नभए सोदक अर्थात् (८-१४) पुस्ताभित्रका ले गर्ने
१६. ती पनि नभए गोत्रज(१५-२१)ले गर्ने
१७. गोत्रज पनि नभए मावलीका परिवार वा तिनका सपिण्डीहरूले गरिदिने
१८. मावलीपट्टीका कोही नभए फुपूका छोराहरू
१९. फुपूखाल पनि नभए सानीमा/ठूलीमाका छोराहरू
२०. ती पनि नभए पिताका फुपूका छोराहरू
२१. ती पनि नभए बाबुका सानीमा/ठूलीमाका छोराहरू
२२. ती पनि नभए बाबुका मामाका छोराहरू
२३. ती पनि नभए आमाका फुपूका छोराहरू
२४. आमाका सानीमा/ठूलीमाका छोराहरू
२५. आमाका मामाका छोराहरू
२६. यहाँसम्म कोही पनि नभए शिष्यले गर्ने
२७. शिष्य नभए ऋत्विग् अर्थात् पुरोहित वा ब्राह्मणले
२८. पुरोहित नभए आचार्य अर्थात् गुरुले
२९. ज्वाइँको ससुराले/ससुराको ज्वाइँले
३०. साथीले वा मितले
३१.१ साथी पनि नभए धनहारी अर्थात् धनको रक्षकले
३१.२ समान वर्णको धन सम्पत्तिको उपभोग गर्नेवालाले
३२. यहाँसम्म पनि कोही नभए धर्मपुत्र बनेर जो कोहीले क्रिया गरिदिने

प्रस्तुत अधिकारीहरूको विवरण यथारूप यहाँ उल्लेख गरिएको छ। आशा छ यस विवरणले समाजमा देखा पर्ने कस्ले क्रिया गर्ने वा कस्ले नगर्ने भन्ने बिषयमा यसले सहयोग गर्नेछ। ।।ॐ।।