यति बेला समाजका थुप्रै अङ्गहरू एक प्रकारले कोमाको स्थितिमा छन् तर पत्रकारिताको गति भने निर्बाध चलिरहेको छ । समाजमा जति जति कोरोना महामारीको जोखिम थपिँदै छ, कलम र क्यामेराको कर्म शीलता उतिउति बढिरहेको छ । लकडाउनका बेलामा खास गरी चिकित्साकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूजस्तै टेलिभिजन पत्रकारहरूका लागि कर्म, मन र डरको सन्तुलन मिलाउनु निकै जटिल सन्दर्भ बनेको छ ।

त्यसो त हामीले जतिसुकै सावधानीका उपाय अपनाए पनि हुने कुरा टारेर टर्दैन । जो हुनु छ त्यो भएरै छोड्छ । प्रकृति र नियतिसँग कसैको केही लाग्दैन । तथापि यसो भन्दैमा लत्तो छोड्ने चाहिँ कुरा हुन्न । सङ्कटकै बेला हुने हो, कर्मको पहिचान र धैर्यको परीक्षा ।

‘भोलि बिहान पत्रकार महासङ्घ सुनसरीले फिल्डमा सक्रिय भएर खटिएका २० जना पत्रकारको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गर्दै छ । साढे नौ बजे इटहरी क्वारेन्टाइनमा आउनु है,’ सोमबार साँझ पत्रकार दाइ सचिन पोखरेलले फोनमा एउटा प्रतीक्षारत सूचना सुनाउनुभयो ।

सरकारले कोरोना रोकथामका लागि दुई महिनादेखि लगाएको लकडाउनका बिचमा म सुनसरी जिल्लाका विभिन्न जोखिमयुक्त स्थानमा पुगेर न्युज २४ टेलिभिजनका लागि रिपोर्टिङ कार्यमा निरन्तर सक्रिय थिएँ । दुई पटक भारतसँग जोडिएको सुनसरीको हरिनगरसहित सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका पुग्दा निकै डराएको थिएँ ।

बिचमा न्युज २४ टेलिभिजनको केन्द्रीय कार्यालयबाट पूर्व आउनुभएका जिल्ला ब्युरो संयोजक राजु श्रेष्ठ र क्यामेरा पर्सन गोपाल पंगेनीजीका साथमा इटहरीका श्याम पोखरेल र म रिर्पोटिङकै लागि प्रदेश १ को कोरोना सङ्क्रमित राखिएको कोभिड–१९ अस्पताल (कोसी अस्पताल) विराटनगरसमेत पुगेका थियौँ ।

विराटनगरमै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अन्तर्वार्ता समेत गरेका थियौँ । काठमाडौँबाट वीरगन्जदेखि सप्तरी र उदयपुर हुँदै पूर्व आउनुभएका राजु सर र गोपालजीसँग रिर्पोटिङका लागि दुई दिन सँगसँगै हिँडेका थियौँ ।

राजु सर र गोपालजी बढी सङ्क्रमित भएका जिल्ला पर्सा र उदयपुर पुगेर दुई दिन इटहरी बस्नुभयो । यो अवधिमा हामी प्रायः सँगै थियौँ । मनमा कताकता राजु सर र गोपालजी वीरगन्ज र उदयपुरबाट फर्किएका कारण के हो के हो भन्ने भय पलाउन सुरु भइसकेको थियो ।

यसबिचमा म अति समस्यामा परेका केही व्यक्तिहरूको सहयोगका लागि औषधि लिन जोगवनी सिमानाका र धरानसमेत पुगेको थिएँ ।

मङ्गलवार दिउँसो ११ बजे इटहरी-५ स्थित जनता क्याम्पस परिसरमा इटहरी उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन कोरोना परीक्षणका लागि स्वाब (खकार) सङ्कलन गरियो । पहिलो चरणमा मसँगै सुनसरीका २० जना पत्रकारबाट स्वाब सङ्कलन गरिएको थियो ।

त्यस क्रममा केही साथीहरू डराए पनि । केहीले स्वाब सङ्कलनको सूचीबाट आफ्नो नामसमेत हटाए । स्वाब सङ्कलनका क्रममा धेरै साथीहरूको अनुहार मलिन थियो ।

रिर्पोट पोजेटिभ आउँदाको अवस्थामा त्यसको सामना कसरी गर्ने भन्ने चिन्ता अरूलाई जस्तै मलाई पनि थियो । सहकर्मी तथा अग्रजहरू मनको कुरा मुखमा कसैले पनि ल्याउन चाहेका थिएनन् ।

भित्र जति डराए पनि बाहिर सबै जना केही होइन यो, सामान्य कुरा हो जस्तो भाव प्रस्तुत गरिरहेका थिए ।

मनको डर कतिखेर बाहिर फुत्किने हो र साथीहरूका सामु कमजोर देखिइने हो भन्ने मनोवैज्ञानिक दबाब परेको प्रायः साथीहरूको मुहार, आँखाको प्रस्तुति, कुरा गराइ र शारीरिक हाउभाउमा झल्किरहेको थियो । कति कुरा नभनेरै बुझ्नुपर्ने अवस्था आइलागेको थियो ।

स्वाब सङ्कलन अघि र पछि मन र दिमागमा अनेक खाले कुरा खेल्न थालेका थिए । कोरोना पोजेटिभ भइहाले मेरा कारणले अरू कति धेरैलाई सङ्क्रमित हुने हो र तनाव हुने हो भन्ने यावत् कुरा बारबार दिमागमा आउन थाल्यो ।
आफू बस्ने टोलमा पत्रकार भनेर जहाँ पनि हिँडेको छ, कुनै बार-बन्देज छैन, कतै टोलमा कोरोना फैलाउने माध्यम आफू नै त हुने होइन भन्ने सोच मनमा आउँदा बेलाबेलामा मन उद्वेलित हुन्थ्यो ।

कोरोना परीक्षणका लागि स्वाब दिएर आएको भनेर घरमा सुनाउँदा मपछि श्रीमतीजी, दुई छोरा र बाबुआमामा चिन्ता र तनावको मात्रा उत्कर्षमा पुगेको थियो । परिवारका सदस्यहरूको अनुहारमा देखिएको भावले पनि मन थप खल्लो बनाएको थियो ।

यता, इटहरी-२ महेन्द्र मावि छेउका एक जना १८ वर्षीय युवकको स्वाब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको खबरले इटहरी आत्तिएको थियो । खबर लगत्तै इटहरी २ र ३ नम्बर वडा सिल गरिएको थियो । टोल-टोलमा गरिएको माइकिङका कारण बच्चादेखि ज्येष्ठ नागरिकसम्म सबैमा त्रासको माहौल ह्वात्तै बढेको थियो । स्थानीय सरकारले हाम्रो घर भएको २ नम्बर वडालाई तत्काल रेड-जोन घोषित गरेको थियो ।

यस्तो पृष्ठभूमिमा ४८ घण्टापछि रिर्पोट आउने भनिएको थियो । तर सुनसरी, मोरङ र झापाबाट सङ्कलित दुई सय ५० जनाको स्वाबको एउटै लटमा परीक्षण गरियो, जसका कारण रिपोर्ट थाहा पाउन ७२ घण्टाभन्दा बढी समय कुर्नुप¥यो ।

रिर्पोट नआउँदाको यो ७२ घण्टा ७२ महिनाजस्तो बोझिलो लागेको थियो । कसैलाई वा कुनै विषयको नतिजालाई पर्खिनुजस्तो सकस सायद कमै हुन्छ जिन्दगीमा । त्यही सकसमा बिताएँ मैले शरीरमा आएको हल्का ज्वरोसहितको यो ७२ घण्टा ।

स्वाब परीक्षण गर्न दिएको दिन सामान्य ज्वरो आएका कारण पनि म धेरै नै भयभीत भएको थिएँ । रिर्पोटका लागि विराटनगरका पत्रकार हरि अधिकारी र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्कालाई २० भन्दा बढी कल गरिसकेको थिएँ ।

धन्न ! उहाँहरूले झर्को मान्नुभएन । त्यसले पनि थोरै सान्त्वना मिलेको थियो ।

तनाव केही सेयर गर्न पत्रकार मित्र विकल रेग्मीसँग कुरा हुन्थ्यो । ‘धत् ।।। किन डराउने रु हाम्रो काम नै त्यस्तै छ, हिँड्नै पर्ने । अब पोजेटिभ देखियो नै भने पनि क्वारेन्टाइन बसेर काम गर्नुपर्छ । तर ढुक्क हुनु, रिर्पोट नेगेटिभ आउँछ,’ उनी यस्तै शब्दमा सम्झाउँथे ।

लकडाउनकै अवधिमा कतिपय रिर्पोटिङका क्रममा बोर्डर क्षेत्रसम्म सँगै हिँडेका मित्र विकलको यो सान्त्वनाले मन केही समय हलुङ्गो हुन्थ्यो । तर केही बेरपछि तनावको मात्रा जस्ताको त्यस्तै ।

रिर्पोट के आउने होला भन्ने तनावले होला शरीरको वजन अलि घटेको हो कि भन्ने भान पर्न थालेको थियो । रातको निद्रा पनि खजबजिएको थियो । काम गर्न जान मन लाग्न छोडेको थियो ।

दिन–प्रतिदिन कोरोनाबाट सङ्क्रमितहरूको सङ्ख्या थपिँदो अवस्थासँगै एकपछि अर्को मृत्युका घटना सार्वजनिक हुँदै गर्दा सबै जना चिन्तित हुनु स्वाभाविक नै हो । यो ७२ घण्टामा म निकै डराएको थिएँ ।

कथम् कदाचित कोरोना पोजेटिभ भएपछिको अवस्थामा आफूलाई परिवार, साथीभाइ र समाजमा कसरी प्रस्तुत हुन्छु होला भन्ने मनमनै योजनासमेत बनाएको थिएँ ।

तर अहँ त्यस्तो अनपेक्षित केही हुँदैन भन्दै बेलाबेलामा नकारात्मक मनलाई सकारात्मक मनले संयमित बनाउँथेँ । तर मन न हो, केही बेरमै अनेक कुरा खेल्न थालिहाल्थ्यो । मनको बाँध भत्किहाल्थ्यो । डर छताछुल्ल पोखिइहाल्थ्यो ।

रिर्पोटिङकै क्रममा कोरोना सङ्क्रमित भएका वीरगन्ज र उदयपुरका पत्रकार साथीहरू कोरोनासँग कसरी लडिरहेका होलान् भन्ने चिन्ता पनि मनमा आउँथ्यो । त्यसमा मुलुकको स्वास्थ्य अवस्था, अस्पतालको अवस्था, क्वारेनटाइनको व्यवस्थापन, जिम्मेवारी लिएकाहरूको व्यवहार, समाजको दृष्टिकोण आदि-इत्यादि छटपटिएको मनलाई अझ उद्वेलित बनाउन पर्याप्त थिए ।

यदि मेरो स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको भए म के गर्थेँ रु के लेख्थेँ रु यस बेला त्यो कुरा यहाँ उल्लेख गर्नु खासै सान्दर्भिक छैन । भाग्यवश परिस्थिति अनुकूल भइदियो । अनपेक्षित केही बेहोर्नुपरेन ।

रिपोर्टिङका क्रममा वा अन्य काममा पनि बाहिर हिँड्दा, मान्छेसँग भेटघाट गर्दा सावधानी अपनाएकै कारण कोरोना भाइरसले मलाई छुन सकेन ।

मेरो मात्र होइन, मसँगै स्वाब परीक्षणका लागि दिनुभएका सुनसरीका २० जना पत्रकारमध्ये सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यो अर्को ठुलो सन्तोषको कुरा भएको छ ।

यता, कोरोनाले जजसलाई छोएको छ, तीमध्ये एक जना बालिका र केही ज्येष्ठ नागरिकसहित धेरै जना भाइरससँगको युद्ध जितेर घर फर्किसकेका छन् । यो धरातलीय यथार्थ त्यो तनावपूर्ण ७२ घण्टामा मेरो तनाव कम गर्ने र मनोबल बढाउने एउटा प्रभावकारी सूत्र बनेको थियो । तथापि मेरो लागि यो ७२ घण्टाको समय अहिलेसम्मकै कठिन र अविस्मरणीय भएको सबै शुभेच्छुकहरूसमक्ष सेयर गर्न चाहन्छु ।

यत्रतत्र कोरोना महामारी फैलिएको यो संवेदनशील बेलामा फिल्डमा सक्रिय भएर खटिएका पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण गरेर ढुक्क हुने अवसर प्रदान गर्नुहुने पत्रकार महासङ्घ सुनसरी, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी, इटहरी अस्पताल र इटहरी क्वारेन्टाइन चिकित्सकको नेतृत्वलगायत सबै सरोकारवाला तथा शुभेच्छुकहरूमा धेरै धेरै धन्यवाद ।

कर्मशील पाइला यथावत् अघि बढिरहनेछ ।

(लेखक न्युज २४ टेलिभिजन तथा अपराध न्युज डटकममा आवद्द छन् ।)