धरान : धरानका तत्कालीन मुख्य बजारहरू मध्ये धरानको पुरानो लोकप्रिय बजार धरान १३ को फुस्रे बजार पनि एक हो ।

धरान धनकुटा सडक विस्तार नहुँदा धरानको निकै चर्चित बजार मध्येको एउटा व्यापारिक बजार हो फुस्रे । पूर्वी पहाडी क्षेत्रबाट किनमेलका लागि त्यतिखेर धरान नै आउनुपर्ने हुन्थ्यो । त्यसैले धरान आउने जो कोहीको पहिलो बजार थियो फुस्रे बजार । त्यतिखेर पूर्वी पहाडी क्षेत्रबाट आउने सर्वसाधरणहरुका लागि निकै लोकप्रिय बजार थियो फुस्रे ।

पहाडी क्षेत्रमा यातायातको सेवा सुविधा नहुँदा दैनिक उपभोग्य बस्तु नुन, तेल मरमसला खरिद गर्न धरान नै आइपुग्नुपर्ने हुन्थ्यो । सवारी साधनको सुविधा नहुँदा भारी बोकेर तेह्रथुम, सङ्खुवासभा, धनकुटा, पाँचथर र ताप्लेजुङ सम्म सामान पुर्‍याउनुपर्ने हुन्थ्यो । फुस्रे बजारमा त्यति बेला निकै चहलपहल हुने गर्दथ्यो ।

जब धरानको जिरोप्वाईन्ट हुँदै धरान धनकुटा सडक विस्तार भयो त्यस समय देखि फुस्रे बजार ओझेलमा पर्‍यो । बिस्तारै त्यहाँको व्यापारी र व्यापार केन्द्रहरू सुक्न थाले । फुस्रे बजारका तत्कालीन व्यापारीहरु राम साहु, टेकबहादुर साहु, गोकुल साहु, हरि साहु, सेते साहु, हर्कबहादुर साहु, सेरबहादुर साहु लगायतले त्यतिखेर धरानको फुस्रे बजार चम्काएका थिए ।

बजारमा पहाडबाट झर्ने सर्वसाधरणहरुको बाक्लो उपस्थिति अनि धान नाचले साँच्चै तत्कालीन फुस्रे बजार रमाईलो थियो । त्यो बेलाको सम्झना गर्दै धरान १३ फुस्रे निवासी कुमारमान श्रेष्ठ भन्छन् “त्यो बेलाको फुस्रे बजारको रमझम अनि धरानको पुरानो बजार साँच्चै रमाइलो थियो ।

अझ चाडबाडको नजिक तिर त थामिनसक्नु भिड फुस्रे बजारमा हुने गर्दथ्यो भने धरानको पुरानो बजार लगायतका क्षेत्रहरूमा किनमेल गरेर बास बस्न साँझमा फुस्रे बजार आईपुग्नेहरुको ठुलो जमघट हुने गर्दथ्यो । त्यति बेलाको चहलपहल र रौनक उधुमै थियो । तर बाटो कोल्टिएर जिरोप्वाईन्ट हुँदै धनकुटा लगिएपछि फुस्रे बजार सुनसान भयो ।

फुस्रेको साख फर्काउने प्रयास :
धरान १३ मा रहेको पुरानो ऐतिहासिक बजार फुस्रेको साख फर्काउने प्रयास अहिले भइरहेको छ ।

फुस्रे बजारको साख फर्काउन धरान उपमहानगरपालिकाको १५ लाख लागतमा अहिले विभिन्न कामहरू भइरहेका छन् । जस अनुसार फुस्रे सौन्दर्यता निर्माण उपभोक्ता समिति गठन गरी फुस्रेलाई पहिलेको दिनहरू सम्झाउने खालका मूर्तिहरू धमाधम निर्माण हुदैछन् ।

मूर्तिकार धिरज राईद्वारा फुस्रेको तत्कालीन झल्को दिने भरिया, बजारका साउजी, त्यतिखेर तराई र भारतबाट फुस्रे आएर व्यापार गर्ने तराई बासी व्यापारी, चौरी सहितको सेर्पा लगायतको पुर्णकदको मूर्ति धमाधम निर्माण भइरहेका छन् ।

दसैँ र तिहार पछि फुस्रे चौकमा अनावरण गर्ने गरी तयारी भइरहेको फुस्रे सौन्दर्यता निर्माण उपभोक्ता समितिका अध्यक्ष गौतम श्रेष्ठले बताए । यसैगरी फुस्रेको मुख्य चौकमा सर्दु जलाधार क्षेत्रको मोडल बनाएर राखिने १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

पछिल्लो समय धरान १३ फुस्रे आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । फुस्रे बजार देखि पश्चिम धरान २० मा बनेको बीपी पार्क, ओशो पार्कले गर्दा अहिले मानिसको आउजाउ बढ्न थाले पछि फुस्रे बजारमा केही थोरै चहलपहल बढेको फुस्रेबासीहरु बताउँछन् । ऐतिहासिक मूर्तिहरू अनावरण गरिसकेपछि फुस्रे बजारमा पुनः चहलपहल बढ्ने फुस्रे बासीको विश्वास छ ।

Fusre Fusre-1 Fusre-3 Fusre-4 Fusre-5 Fusre-7