याक्थुङ लिम्बू समुदाय नेपालको एक प्रमुख जातिहरू मध्ये एक हो । यो जातिले आफूलाई आदिकालदेखि याक्थुङ भन्दै आए पनि राज्यले लिम्बु भनेर चिने पछि हाल आएर आफूलाई याक्थुङ लिम्बु जाति भनेर चिनाउने गर्दछन् । हाल आएर विश्वमा यो जाति लिम्बु जाति भनेर चिनिन्छ । नेपालको जनगणना २०६८ अनुसार याक्थुङ लिम्बु जातिको कुल जनसङ्ख्या ३,८७,३०० रहेको छ।

छिमेकी मुलुक भारतमा यो जातिलाई सुब्बा जातिको रूपमा राज्यले सूचीकृत गरेको छ । भारतको सिक्किम, आसाम तथा पश्चिम बङ्गालमा लगभग नेपालकै हाराहारी सङ्ख्यामा यो जाति रहेको पाइन्छ । हाल यो जाति विश्वका विभिन्न देशहरू यु.के., हङकङ, बर्मा, भारत, भुटान, अमेरिका लगायत देशहरूमा फैलिएर रहेको छ । याक्थुङ लिम्बु समुदाय आफ्नो भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिले सम्पन्न छ । यो समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिलाई निर्देशित गर्ने लिखित तथा अलिखित शास्त्र मुन्धुम हो । मुन्धुम समुदायले अनादिकाल देखि क्रमिक रूपमा विकास गर्दै ल्याएको ज्ञान हो । जबजब मुन्धुममा समयकाल खण्डमा नयाँ नयाँ आयाम थपिँदै गए तबतव यो समुदायका संस्कार, संस्कृतिहरू विकास हुँदै गए ।

मुन्धुमको भाषा, शैली, वाचन तथा संरचनागत कुराहरू हेर्ने हो भने यो जातिलाई एक सभ्य तथा सुसंस्कृत जाति हो भन्न सकिन्छ । मुन्धुमका आन्तरिक ज्ञानहरूलाई विश्लेषण गर्दा यो कुरा भन्न अझै टेवा पुग्दछ । मुन्धुम यही माटोमा उब्जिएको ज्ञान हो । यसले निर्देशित गर्ने मान्यताहरू फरक छन् । यसलाई उपयोगमा ल्याउन सके मानव जगतलाई नै फाइदाजनक हुन सक्छ । मुन्धुमले यहाँको संस्कार संस्कृतिमा विकास मात्र योगदान पुर्‍याएको छैन शिरिजंघा लिपी विकासमा समेत मिथकिय योगदान पुर्‍याएको छ । जाति र भाषाको विकासमा गरेको छ । तर समयकाल खण्डमा यसमाथि अरू धार्मिक विश्वासको, अन्य सामाजिक, संस्कृति तथा राजनैतिक दर्शनको असर परेको हुनाले मुन्धुममा दर्शनमा निक्कै विचलन आएको छ । मुन्धुम दर्शनले निर्देशित गर्ने जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । अहिलेको अवस्थामा मुन्धुमलाई विश्व समुदाय माझ उजागर गर्ने, यसको निरन्तरताको लागि पुस्ता हस्तान्तरण गर्ने कुरा मुख्य हो । यसका लागि परम्परागत विधिले मात्र सम्भव नहुने र समयअनुसार आवश्यकताहरूको परिपूर्ति गर्न वैकल्पिक उपायहरूको खोजी गरी प्रस्तुत गर्न आवश्यक देखिन्छ । यसका लागि मुन्धुम हिम सबैभन्दा उपयुक्त विधि र वैकल्पिक बाटो देखिन्छ । यसले याक्थुङ लिम्बु समुदायलाई मात्र होइन । सिङ्गो मानव समुदायलाई फाइदाजनक साबित हुन सक्छ ।

घर एक माङहिम

याक्थुङ लिम्बूहरूको आध्यात्मिक दर्शन अनुसार जहाँ घर हुन्छ त्यहाँ देवताहरू रहने मान्यता छ । घर आफैमा एक पवित्र स्थल हो । यो आफैमा देवस्थल हो । सामान्य याक्थुङ लिम्बु भाषामा घरलाई हिम । खिम भनिन्छ । मुन्धुमी भाषामा लक्फा सिङहिम भनिन्छ । लक्फा (गोपेबास) सिङहिम ( दाउराको घर ) शब्दले याक्थुङ लिम्बुको घर सम्बन्धी आदि मान्यता, अवधारणा, संरचनालाई इङ्गित गर्दछ । घर सँग सबन्धित लक्फादेन हाङफादेन, साप्परिमा पेम्बरिमा( खाप्पुरा मेन्लङ्नामा) , पाजाइवा तुन्धुन्याङबा र वरुप्ली वदङनामा, मेन्छायेम युमा पोरोक्मी यम्भामी मुन्धुम आदिमा घर सन्बन्धी मुन्धुमहरू जोडिएर आउँछन् । हुनत याक्थुङ लिम्बूहरू आफूलाई देवी देवता का सन्तति ( माङजिरी माङयाक्थुङ सा) को रूपमा आफूलाई मान्दछन् । देवी देवताहरू सँग आफ्नो अकाट्य सम्बन्ध रहेका मान्दछन् । यो कुरा घरमा पनि आकर्षित भएको देखिन्छ । घरको संरचना सुरु गर्दै पूजाआजा गर्नु पर्दछ । घरको मूल खम्बा स्थापित गर्दै यसमा अक्वानामालाई स्थापित गर्नु पर्दछ । अक्वानामालाई घरको मूल खाबो ( मुरुम् सित्लाङ । हाङ सिल्लाङ ) मा बस्ने देवताको रूपमा मानिन्छ । मूल खम्बा पुरै घरको संरचनाको बिच भागमा हुन्छ । यसले घरलाई चार भागमा विभाजन गरेको हुन्छ । यसैमा अक्वानामा रहने विश्वास गरिन्छ । यिनैले घरको संरचनालाई भूकम्प, बाढी पहिरो, हावाहुरी, बतास, झरी, पानी, जङ्गली, वन्यजन्तु आदि जस्ता प्राकृतिक विपत्तिबाट बचाउने विश्वास गरिन्छ । यसको कारण घरको संरचनालाई बलियो बनाउने र घर घडेरीलाई संरक्षण गरेको हुन्छ । घरको संरचना मूल खाँबोमा अडिएको छ भन्ने अवधारणा विज्ञान सँग पनि धेरै मेल खान्छ । अक्वानामाले यसरी घरमा रहने सबै मानिसको सुरक्षा प्रदान गरिरहेको हुन्छ । यिनको पूजा बर्षेनी गर्नु पर्ने मान्यता छ । मुन्धुम अनुसार यिनलाई सोधुङे लेम्मुहाङको नाति लापोती लाफुङ्यम्बा नाम्पोती नाम्फुङ्यम्बा । लाफुङ्यम्बा नाम्फुङ्यम्बा । इकेराङ ताकेराङ लाई मानिन्छ । अक्वानामा भन्नाले सामान्य याक्थुङ लिम्बु भाषामा कछुवा भन्ने पनि बुझाउँदछ । पृथ्वीको भित्र कुछ्वा आकारको विशाल अस्तित्व रहेको र जसको हलचलबाट पृथ्वीमा भूकम्प, बाढी, पहिरो जाने समेत विश्वास गरिन्छ । मुन्धुम अनुसार सोही पाताल लोकका मुसागेक सेमेल्लाहाङ र सिङ्दुम्सो वयाङमाकी छोरी वरुप्ली वदङनामा सँग पाजाईवा तेन्धुम्याङ्वाले बिहे गरी जन्मिएका सोधुङ्गे लेप्मुहाङका नाति भएको मुन्धुमी विश्वास रहेको छ ।

घरमा रहने साम्माङहरुलाई हिम (घर) साम्माङ भनिन्छ । हिम साम्माङहरुमा हिम साम्माङ नामकै देउता मानिसहरूको घरघरेडी, परिवारको रेखदेखका लागि युमासाम्माङले पठाएको मानिन्छ । पछि युमामाङ आफै युमा साम्माङको रूपमा घरमा आएको मानिन्छ । थक्ले साम्माङहरु घर परिसरमै लिम्बुनी सँगै रहेका हुन्छन् । घर परिसरमै थक्ले साम्माङहरुको पूजा गरिन्छ । कसैलाई आँगनमा, कसैलाई आँगनको कुनमा पूजा गरिन्छ । लिम्बु समुदायमा हरेकको घरमा युमा साम्माङको अनिवार्य पूजा, आराधना गर्नु पर्दछ । युमा साम्माङलाई दैनिक घरको कुनै चोखो कुनामा लासो (कलसमा फुल पानी) ले , फुल नभए पातीले चोखो, शुद्ध भएको अवस्थामा सम्झँदा मात्र पनि पुग्ने विश्वास गरिएको छ । विशेष अनुष्ठानमा फेदाङ्मा, साम्बा, येबा । येमाहरु मार्फत नाम्यो (तितेपातीको धूप), साङ्सिङ् (धूप), (घीउको धूप) ,थी (जाड), सिजङ्वा (रक्सी), भात, चोखो अन्नबाली चढाएर अस्थायी लासो (वेदी) बनाई पूजा, आज, आराधना, उपासना गर्ने गरिन्छ । युमासाम्माङ सँगै घरमा शक्ति प्रदान गर्ने थेवासाम्माङ रहेको मानिन्छ । घरमा सुस्वास्थ्य, समृद्धि, कला सीपका लागि काप्पोबा साम्माङ रहने विश्वास गरिन्छ । घरमुलीको सौर्यताका लागि सम्पन्न गरिने नाहाङ्मा र घरका सम्पूर्ण परिवारको आत्मसम्मानका लागि गरिने माङगेना पनि घरमै गरिन्छ । यस बाहेक घरपरिवार आखीडाही (नाहेन) पनि घरकै आँगनमा अथवा मूल ढोकाको अगाडि गर्ने गरिन्छ । याक्थुङ लिम्बु समुदायका पुजारी साम्बा र येबा । येमाहरुले आफ्नो घरको आँगनमा पेगेसिङ र येगेसिङ रोप्छन । यसकै थानमा वार्षिक फुङ्सो तेसिङ्मा (गुरुपुजा) गर्ने गर्दछन् । याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठुलो अनुष्ठान तङसिङ घरकै आँगनमा सम्पन्न गरिन्छ । घरमा परिवारका सदस्यहरूले ज्येष्ठताका आधारमा अनुशासन र आत्मा सम्मानपूर्वक बाच्ने आधार निर्माण गरेको हुन्छ । यसले परिवारमा सुख, शान्ति, समृद्धि, प्रगति, स्थायित्व कायम गर्दै अगाडि बढाइरहेको हुन्छ । यस्तो अनुकरणीय वातावरण घरमा नियमित सम्पन्न गरिने धार्मिक अनुष्ठानहरूले निर्माण गरिराखेका हुन्छन् । यस्ता सबै अनुष्ठानहरू सम्पन्न गर्ने घर नै देवी देवताहरूको घर (माङहिम) को रूपमा मान्न सकिन्छ ।

युमा साम्यो महासभा नेपाल र मुन्धुम हिमको अवधारणा

याक्थुङ लिम्बु समुदाय घर बाहिर देवी देउतालाई सामूहिक पूजा आराधना गर्न माङहिङ बनाउने प्रचलन सुरु भएको छ । केही युमा धर्मीहरूले पनि यो अभ्यासलाई अगाडि बढाएको देखिन्छ । विशेष गरी भारतको सिक्किम राज्यमा यसलाई अभ्यास गरिएको पाइन्छ । केही अन्य धर्मको प्रभावमा परेकाहरूले पनि माङहिङको अभ्यास गरेको पाइन्छ । शब्द र भाषामा यो आफ्नो जस्तै लागेता पनि माङहिङमा अभ्यास भने अन्य धर्महरू जस्तै पाइन्छ । यसले अझ पनि याक्थुङ लिम्बु समुदायको आध्यात्मिक चिन्तनलाई स्पष्ट पार्न सकेको छैन । घर आफैमा देउताघर ( माङहिङ ) पनि भएकाले घर बाहिर माङहिङ बनाउने अभ्यासलाई आम याक्थुङ लिम्बु समुदायले हार्दिकताका साथ स्वीकार गर्न सकेको छैन । माङहिङको मुन्धुमी आध्यात्मिक दर्शन सँग असङ्गत अभ्यास र अस्पष्ट अवधारणाका कारण पनि यो अभ्यासमा आम समुदायको आरक्षण पैदा हुन सकेको छैन । र यस खालको अध्यासले मुन्धुम पुस्ता हस्तान्तरणमा कुनै योगदान पुर्‍याउन सकेको छैन । सट्टामा मुन्धुममा अन्यौलता र अस्पष्टता थप्दै भ्रम मात्र फैलाएको कुरा आम समुदायलाई स्पष्ट हुँदै गएको छ । यस कारण समुदायको अहम् सम्पदा मुन्धुम तथा मुन्धुमी संस्थाहरूमा भ्रम र निराश्यता पैदा हुँदै गएको छ । यसका बाबजुद पनि समुदायमा हालै आएर मुन्धुम हिमको अभ्यास हुन थालेको छ । तर यसले तीव्रता हासिल गर्न सकेको छैन । विशेष गरी युमा साम्यो महासभा नेपाल नामक संस्थाको जन्म भएपछि यो अवधारणाले आकार लिँदै गएको हो ।

याक्थुङ लिम्बु समुदाय घर बाहिर देवी देउतालाई सामूहिक पूजा आराधना गर्न माङहिङ बनाउने प्रचलन सुरु भएको छ । केही युमा धर्मीहरूले पनि यो अभ्यासलाई अगाडि बढाएको देखिन्छ । विशेष गरी भारतको सिक्किम राज्यमा यसलाई अभ्यास गरिएको पाइन्छ । केही अन्य धर्मको प्रभावमा परेकाहरूले पनि माङहिङको अभ्यास गरेको पाइन्छ । शब्द र भाषामा यो आफ्नो जस्तै लागेता पनि माङहिङमा अभ्यास भने अन्य धर्महरू जस्तै पाइन्छ । यसले अझ पनि याक्थुङ लिम्बु समुदायको आध्यात्मिक चिन्तनलाई स्पष्ट पार्न सकेको छैन ।  घर आफैमा देउताघर ( माङहिङ ) पनि भएकाले घर बाहिर माङहिङ बनाउने अभ्यासलाई आम याक्थुङ लिम्बु समुदायले हार्दिकताका साथ स्वीकार गर्न सकेको छैन । माङहिङको मुन्धुमी आध्यात्मिक दर्शन सँग असङ्गत अभ्यास र अस्पष्ट अवधारणाका कारण पनि यो अभ्यासमा आम समुदायको आकर्षण पैदा हुन सकेको छैन । र यस खालको अध्यासले मुन्धुम पुस्ता हस्तान्तरणमा कुनै योगदान पुर्‍याउन सकेको छैन । सट्टामा मुन्धुममा अन्यौलता र अस्पष्टता थप्दै भ्रम मात्र फैलाएको कुरा आम समुदायलाई स्पष्ट हुँदै गएको छ । यस कारण समुदायको अहम् सम्पदा मुन्धुम तथा मुन्धुमी संस्थाहरूमा भ्रम र निराश्यता पैदा हुँदै गएको छ । यसका बाबजुद पनि समुदायमा हालै आएर मुन्धुम हिमको अभ्यास हुन थालेको छ । तर यसले तीव्रता हासिल गर्न सकेको छैन । विशेष गरी युमा साम्यो महासभा नेपाल नामक संस्थाको जन्म भएपछि यो अवधारणाले आकार लिँदै गएको हो ।

२०७४ माघ २२ गते संस्था विधिवत् रूपमा स्थापना भएको हो । यसले हालसम्म आउँदा युमा मुन्धुम, धर्म र दर्शन विषयक प्रथम विश्व सम्मेलन गरी याक्थु लिम्बूहरूको धर्म युमा साम्यो घोषणा, पेगी फाङसामहरुको प्रथम विश्व सम्मेलन बाट युमा धर्मको मूलभूत अचार संहिताको निर्माण, युमा खिबेलुङ  स्थापना तथा खिवेलुङमा युमा हेना धार्मिक अनुष्ठान, मुन्धुमी स्थल संरक्षण अभियान, युमा साम्यो प्रचार तथा सङ्गठन विस्तार अभियान जस्ता महत्वपुर्ण कार्यहरू सम्पन्न गरिसकेको छ । हेर्दा र सुन्दा यी कामहरू सामान्य लाग्न सक्छ तर यी कार्यहरू कालजयी प्रभाव पार्ने प्रकृतिका हुन भन्दा अन्यथा नहोला । यो कुराको प्रमाण समय अन्तरालमा समुदायमा आफै पेस हुँदै जानेछन् । 

युमा साम्यो महासभा नेपालले अगाडि बढाएको अवधारणा नै मुन्धुम हिम हो । यसलाई युमा साम्योले याक्थुङ लिम्बु समुदायको सांस्कृतिक अभ्यास केन्द्रको रूपमा परिभाषित गरेको छ । यो अवधारणाको अभ्यासले मात्र मुन्धुम बाच्ने, पुस्तान्तरण सम्भव हुन, भाषा लिपी को जगेर्ना हुने संस्थाले निचोड निकालेको छ । मुन्धुम बाचे मात्र लिम्बु समुदाय जीवन्त रहने कुरामा संस्था स्पष्ट छ । मुन्धुम हिम नै युमा धर्म दर्शन तथा मुन्धुम दर्शनलाई रक्षा गर्दै याक्थुङ लिम्बु समुदायको सम्पदाहरूको रक्षा तथा पुस्ता हस्तान्तरण सम्भव हुन्छ । मुन्धुम हिममा बालबालिकालाई भाषा प्रशिक्षण तथा समुदायका सदस्यहरूलाई मुन्धुम प्रशिक्षण, समूहगत धार्मिक तथा सांस्कृतिक अभ्यास जस्ता कार्यहरूले मुन्धुम पुस्ता हस्तान्तरणलाई प्रणालीगत व्यवस्थापन गर्दछ । याक्थुङ लिम्बु जातिको सम्पूर्ण जन्म, जीवन , मृत्यु , जीवन शैली, परम्परा, धर्म, संस्कृतिमा युमा दर्शनको अत्यन्तै गहिरो प्रभाव रहेको छ । यसैले नै यस धर्मलाई मौलिक र विशेष बनाएको छ । तर आज विभिन्न कारणहरूले  यसको मौलिकता माथि गम्भीर सङ्कट आएका कारण यसलाई बचाउनु पर्छ भनी सोच राख्ने विभिन्न व्यक्ति तथा समूहहरूको यो एउटा सङ्गठित संस्था हो । जसले लिम्बु समुदायको मुन्धुममा आधारित भाषा, धर्म, साहित्य, संस्कृति ,संस्कार ,परम्परा आदिलाई बचाउन तथा प्रवर्द्धन गर्न भूमिका खेल्दछ । यी सब कुराहरू याक्थुङ लिम्बु समुदायको सम्पत्ति हुन । यी निधिहरूको पुस्तान्तरण आधुनिक समाजको विकास सँगै चुनौती बन्दै गएको छ । याक्थुङ लिम्बु समुदाय माथि अन्य धार्मिक सम्प्रदायको प्रभाव तथा दबाब , आफ्नो धार्मिक आस्था विश्व समुदाय माझ प्रस्ट्याउन नसक्नुका कारण याक्थुङ लिम्बु जातिको सम्पदाहरू लोप हुँदै गएको देखिन्छ । यसलाई समय सापेक्ष प्रस्तुत गर्दै पुस्तान्तरण गर्न सकियो भने मात्र साँचो अर्थमा मुन्धुम र युमा धर्मको रक्षा हुने कुरा स्पष्ट छ । यसका लागि युमा साम्यो महासभा नेपालले प्रस्तुत गरेको मुन्धुम हिमको अवधारणालाई कार्यान्वयनमा ल्याउनका साथै मुन्धुमी पुस्तकहरूको प्रकाशनको कामलाई तीव्रता दिन आवश्यक छ । मुन्धुमहिमले याक्थुङ  लिम्बु समुदायमा सेतुको काम गर्न सक्छ ।
युमा मान्यो महासभा नेपालले आफ्नो दोस्रो वार्षिकी २०७६ को अवसरमा संस्थाको तर्फबाट संस्थाका सचिवालय सदस्य देव सुब्बा इजमद्वारा प्रस्तुत संस्थाको भावी नीति तथा कार्यक्रम अनुसार संस्थाले मुन्धुम निमार्ण अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

मुन्धुम हिमको आन्तरिक प्रकार्यात्मक अवधारणा

आखिर मुन्धुम हिम किन आवश्यक छ ? के का लागि आवश्यक छ ? यसले के भूमिका खेल्न सक्छ ? मुन्धुम हिममा केकस्ता कामहरू हुन्छन् ? यसको अवधारणा के हो ? भन्ने बारेका स्पष्ट हुन जरुरी छ ।  मुख्य रूपमा मुन्धुम हिमले दुई वटा उद्देश्यहरू पूर्ति गर्नेछ । पहिलो त मुन्धुम सम्बन्धी प्रशिक्षण  हुनेछ । भने दोस्रो याक्थुङ लिम्बु जातिको संस्कार संस्कृतिको अभ्यास हुनेछ । यो समुदायको संस्कार संस्कृतिहरू मुन्धुम मै आधारित रहेकाले समग्रमा यसको गन्तव्य एउटै हुनेछ । संस्कार संस्कृति र मुन्धुममा तादाम्यता कायम हुनेछ । मुन्धुम समुदायले हजारौँ लाखौँ वर्ष लगाएर निमार्ण गर्‍यो । यो निर्माण प्रक्रिया अवलोकन र अनुभव विधि प्रयोग भएका छन् । कारण र परिणाममा आधारित भएर मुन्धुमी ज्ञान निर्माण भएको छ । यसमा मानिसको जीवन, समुदाय, गैर समुदाय, सृष्टि ,भूगोल, प्रकृतिलाई बुझ्ने ज्ञानहरू छन् । सिङ्गो मानव समुदायलाई उपयोगी ज्ञान तथा चेतनाहरू समेटिएका छन् । जब समुदाय धार्मिक सांस्कृतिक हिसाबले अन्तरक्रिया,घर्षण, दमन, प्रभावमा पर्न गयो । राजनैतिक महत्कांक्षाहरु समुदाय माथि लादियो । यसले मुन्धुम अभ्यास गर्ने सिङ्गो समुदायको अस्तित्व सङ्कट निम्तिँदै गयो । यसले समुदाय सँगै मुन्धुममा समेत सङ्कट पैदा भयो । यसले अन्ततः मुन्धुम सम्बन्धी बुझाई नै सतही बनायो । मुन्धुम, मुन्धुमी दर्शनहरू विस्थापित हुँदै गए । मुन्धुम हिम औपचारिक शिक्षा केन्द्र भने होइन । 

मुन्धुम हिम भित्र युमाको नियमित पूजा, आराधना र उपसना हुनेछ । मुन्धुम अनुसार ब्रह्माण्ड सृष्टि, पृथ्वी, आकाश, बनस्ती, जलचर, थलचर तथा मानव सृष्टि सन्बन्धी बुझाई, उद्देश्य, पात्र, प्रयासको बारेका नियमित प्रशिक्षण हुनेछ । मुन्धुम दर्शन अनुसार मानिस र मानिस बिच के सम्बन्ध छ ?, मानिस र आत्मा बिच के र कस्तो सम्बन्ध छ ?, मानव जीवन र प्रकृति बिच कस्तो सम्बन्ध छ ?, मुन्धुम र सान्दर्यशास्त्र बिच के तादाम्यता छ ?, जीवनलाई हेर्ने दृष्टिकोण के छ ?, बारेमा नियमित प्रशिक्षण गरिने छ ।  प्राकृतिक मुन्धुमी स्थलहरू, यसको जर्गेणा, मुन्धुमी मर्म र भावना अनुसार संरक्षणको प्रशिक्षण गरिनेछ । हप्तामा कम्तीमा एक पटक गाउँ घरका केटाकेटीहरूलाई भाषा तथा लिपीको प्रशिक्षण दिइने छ । उनीहरूलाई सामूहिक रूपमा आफ्नो भाषा बोल्न अभिप्रेरित गरिनेछ । बेला बेलामा मुन्धुमी साहित्यको बढावा दिन प्रतिस्पर्धात्मकता क्रियाकलापहरू गराइनेछ । मुन्धुम अनुसारका अनुष्ठानहरू घरमा सम्पन्न गर्न अभिप्रेरित गरिनेछ । मुन्धुम हिमको बाहिरी प्राकृतिक दुरीमा मुन्धुम अनुसारको सामूहिक रूपमा सम्पन्न गर्न सकिने अनुष्ठानहरू युमाङ खमा । यक्वा ममा, ताफे , सामूहिक तङसिङ  , सामूहिक चासोक तङनाम आदि सम्पन्न गरिनेछ । मुन्धुम हिमको परिसरमा मुन्धुम वर्णन गरिएका मुन्धुमी फुलहरू लगाइनेछ भने दुरीमा धार्मिक अनुष्ठानहरू सम्पन्न गर्न चाहिने बिरुवाहरू घुङरिङ, काउलो, कोलाको बोट, असोफुवा आदि रोपिनेछ । अझ दुरीमा मुन्धुममा व्याख्या गरिएका रुखहरू गुराँस, लाँकुरी, हङसिङ, विभिन्न खालका बास आदि रोपिनेछ । यो परिसरमा मुन्धुमी दर्शनलाई देखाउने कलाकृतिहरू प्रदर्शन गरिनेछ । 

मुन्धुम हिमको संरचना डिजाइन

युमा साम्यो महासभा नेपालले मुन्धुम हिमको अवधारणा अगाडि बढाउँदै गर्दा यसको डिजाइनको रूपरेखा पनि कोरेको छ । मुन्धुम हिमको बाहिरी संरचना याक्थुङ लिम्बूहरूको परम्परागत मौलिक घरको संरचनालाई झल्काउने गरी यसको डिजाइन तयार गरिएको छ । यसको आकार कत्रो हुने भन्ने बारे कुनै निर्धारण गरिएको छैन । मुन्धुम हिम निर्माण गर्दा यसको अभिप्राय तथा उद्देश्यलाई जहिले पनि ख्याल गर्नू पर्ने हुन्छ । यसले मुन्धुम हिमको आकार तथा आन्तरिक डिजाइनलाई निर्धारण गर्ने र प्रभाव पार्ने देखिन्छ । यसरी हेर्दा पहाडी क्षेत्रमा हुने मुन्धुम हिमको आकार र तराई क्षेत्रमा फरक फरक हुन सक्दछ । गाउँमा निर्माण हुने र सहरी क्षेत्रमा निर्माण हुने मुन्धुम हिमको आकारमा फरक हुन सक्छ । पहाडी क्षेत्रमा निर्माण गरिने मुन्धुम हिममा कम्तीमा ५० जना अट्ने आन्तरिक स्पेस र अगाडि बत्ता चल्न सक्ने स्पेस हुन जरुरी हुन्छ । तराई क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कम्तीमा १०० देखि १५० जना अट्ने स्पेस हुन आवश्यक हुन्छ । यसका झ्याल ढोकाहरू याक्थुङ लिम्बूहरूको मौलिक परम्परागत घरमा रहने बुट्टेदार हुन पर्दछ । यो कम्तीमा एक तला देखि तीन तलाको बनाउन सकिन्छ । यो मुल मुन्धुम हिमको परिसरमा आवश्यकता अनुसार अन्य संरचनाहरू निर्माण गर्न सकिन्छ ।

मुन्धुम हिमको सञ्चालनका लागि आदर्श भौगोलिक छनौट

मुन्धुम हिम निर्माण तथा सञ्चालनका लागि आदर्श भौगोलिक अवस्थिति छान्न जरुरी छ । यो सामान्य घर भन्दा फरक सार्वजनिक घर हुने भएकाले यो बस्तीको समदुरीमा हुन जरुरी छ । सबैको समान पहुँचलाई ध्यान दिई मुन्धुम हिम निर्माण गर्न सकिन्छ । यो बस्तीको बिचमा भन्दा पनि प्राकृतिक हिसाबले अलि दुरीमा हुन जरुरी छ । पहाडी क्षेत्रमा पर्याप्त खाली क्षेत्र रहेको डाँडामा जसको छेउछाउ जङ्गल रहेको स्थान भए अझ राम्रो हुन्छ । याक्थुङ लिम्बूहरू घर बाहिर प्रकृतिमा अस्थायी बेदी बनाएर पूजा गर्दछन् । विशेष गरी कुई कुदापहरुलाई मन्छाउन यस्तो गरिन्छ । अन्न बाली लाउन अगाडि मनाउने युमाङ खमा । यक्वा ममा खोला नाला बगिरहेको दृश्यावलोकन हुने डाँडामा सम्पन्न गर्ने गरिन्छ । अन्न बाली थन्काए पछि ताफेङ प्राय जङ्गल पाखामा सम्पन्न गरिन्छ । साकमुरा वादेम्मा सम्भव भए खोलामा सम्पन्न गरिन्छ । यिनीहरू मध्ये युमा ङ । यक्वा ममा र साकमुरा वादेम्मा सामूहिक रूपमा मनाउने गरिन्छ । साक्मुरा वादेम्मा निश्चित कुल, वंश, समुदायको मात्र सहभागिता हुने हुन्छ । युमाङ खमा। यक्वा ममा गर्दा सिङ्गो समुदाय तथा अन्य समुदायको सहभागिता स्वीकार समेत गर्न सकिन्छ । यो अनुष्ठान सम्पन्न गर्दा हरेक परिवारले एक माना चामल र एउटा कुखुरा योगदान गर्न अनिवार्य मानिन्छ । यहाँ चढाइएका कुखुराको मासु सोही ठाउँमा उपभोग गर्नू पर्ने हुन्छ । यसले एउटा ठुलो पर्वको आकार ग्रहण गर्दछ । मुन्धुम हिमको परिसरमा कम्तिीमा युमाङ खमा । यक्वा ममा अनुष्ठान सम्पन्न गर्न सकियोस् । यसले मुन्धुम हिमको सांस्कृतिक अभ्यास केन्द्रको अवधारणालाई टेवा पुर्याउदछ । यसो गर्दा पहाडी क्षेत्रमा गाउँपालिकाको कम्तीमा एउटा बडामा क्षेत्रफल र जनघनत्व हेरेर एउटा देखि तीन वटा सम्म मुन्धुम हिमहरू निर्माण गर्न सकिन्छ । तराई क्षेत्रहरूमा खोलाको सुरक्षित किनार अथवा जङ्गलको छेउ निर्माण गर्न उपयुक्त हुन्छ ।

अन्तमा ....

मुन्धुम हिमको अभ्यासले अन्ततः दुई वटा कुराको स्पष्ट देखिने परिणाम ल्याउँछ । पहिलो त यसले मुन्धुमलाई जीवित राख्ने काम गर्दछ । दोस्रो अहिलेको समयमा पुस्ता हस्तान्तरणको सेतुको काम गर्दछ । मुन्धुमको दर्शन, यसले निर्देशित गरेको धार्मिक आध्यात्मिक दर्शन, सामाजिक दर्शन, यसले निर्देशित गर्ने संस्कार संस्कृति, जीवनशैली को व्याख्या, विश्लेषण, विमर्श, प्रशिक्षण आदि कामले पहिलो उद्देश्यलाई पूर्ति गर्दछ । यसको नियमित अभ्यासले पुस्ता हस्तान्तरण योगदान पुर्याउदछ । अहिले सम्म मुन्धुम र मुन्धुम दर्शनमा हिँडेको र हिँड्न खोज्ने याक्यु लिम्बु समुदायले मुन्धुमको हिमको अवधारणा र अभ्यासलाई अपनाउन आवश्यक छ।