धरान : किरात सम्बत् येलेदोङ ५०९६ नयाँ वर्षको अवसरमा नेपाल कुलुङ सङ्घ सुनसरीले मङ्गलवार किरात कुलुङ समुदायको नारी दाचाम चासुम्लो निङदोङ् चाक्चाकुर सांस्कृतिक उत्सव आयोजना गरी मनाएको छ ।

किरात समुदायको येले सम्वतको नयाँ वर्ष माघै सङ्क्रान्तिबाट सुरु हुन्छ । कुलुङ किरात समूहको बेग्लै जाति भएको दाबी गर्दै आएको कुलुङ सङ्घले धरान–५ देवी गाउँ स्थित कुलुङ समुदायको धार्मिक स्थलमा उत्सव आयोजना गरेको हो ।

राजनीतिक शक्तिलाई चिन्न जरुरी छ : उपप्रमुख बेघा  

उत्सव धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले उद्घाटन गरेका थिए । समारोहमा उपप्रमुख बेघाले मुलुकमा नयाँ चुनाव हुँदै छ,कुलुङ जातिको भाषिक,सांस्कृतिक उत्थान र पहिचान स्थापित गर्न सघाउँदै आएका राजनीतिक शक्तिलाई चिन्न जरुरी भएको बताए ।

उनले सांस्कृतिक पहिचान र अधिकार कसैले दिएको नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सुनिश्चित गरेको अधिकार भएको बताउँदै भने ‘यसको रक्षा संरक्षण र थप अधिकार कार्यान्वयन गर्न राजनीतिक संस्कार विहीन दल र व्यक्तिबाट हुन सक्तैन ।’

देशमा अनेकौँ अलाकाँचा नेताहरू जन्मिएका र उनीहरूले राजनीतिक दल खोलेको हल्ला खल्ला फैलाउँदै त्यही हल्लाबाट कुसंस्कार जन्माउने काम भइरहेको उनको भनाई थियो ।

उनले भने ‘किराँती संस्कारले सधैँ प्रेम, आदर र मानव सभ्यताको पाठ सिकाउँछ तर राजनीतिमा गालीगलौज र अपमानको संस्कृतिले संस्कृतिको विकास भइरहेको छ ।’

नगर प्रमुख हर्क साम्पाङ तर्फ सङ्केत गर्दे उनले भने ‘अर्कालाई अपमान गरेर सम्मान नपाइने, राजनीतिमा संस्कारको अभाव भएमा दल र व्यक्तिप्रति जनताले भरोसा गर्दैनन् भन्ने बुझ्न जरुरी छ ।’

कुलुङ समुदायको छुट्ट जातिमा सूचिकृत गर्ने मागलाई राज्यले सम्बोधन र सम्मान गर्नुपर्नेमा उपप्रमुख बेघले जोड दिए । धरान उपमहानगरपालिकाको बजेट, योजना र कार्यक्रमहरूमा कुलुङ जातिको पूर्ण अधिकार रहेको बताउँदै स्थानीय सरकारको दायित्व अनुसार भूमिका निर्वाह गर्दै आएको स्पष्ट गरे ।

कार्यक्रममा वक्ताहरूले कुलुङ जातिलाई ‘राई’ भनेर चिन्ने गरे पनि कुलुङहरू छुट्टै जातीय बनोट, स्वपहिचान, ऐतिहासिक भूमि, वंश–परम्परा, मातृभाषा, भेष भूषा, संस्कार र रीतिथिति रहेको बताए । उनीहरूले कुलुङ जातिलाई बेग्लै जातिको रूपमा सूचीकृत गर्न पटक–पटक पहल गरिए पनि माग कार्यान्वयन हुन नसकेको भन्दै सरकारसँग गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उद्घाटन कार्यक्रमको सभापतित्व नेपाल कुलुङ सङ्घ सुनसरीका अध्यक्ष आईत राम राजितीले गरेका थिए ।

kulung-rai

kulung