सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट सुनसरीका मुकुन्द घिमिरेसहित चार जना केन्द्रीय समितिमा निर्वाचित भएका छन्।
सुनसरीका मुकुन्द घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका हुन्। हिसान सुनसरीको दुई कार्यकाल अध्यक्ष भइसकेका घिमिरे यसअघि केन्द्रीय सदस्य थिए। यस्तै, केन्द्रीय सदस्य बलराम पन्त दोस्रो कार्यकालका लागि सचिव पदमा निर्वाचित भएका छन्। हिसान सुनसरीका वर्तमान अध्यक्ष सागर प्रसाद भट्टराई र सल्लाहकार केशव खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा निर्वाचित भएका छन्। शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्ष पदमा डा.स्वागत श्रेष्ठ र टङ्कराज आचार्य निर्वाचित भएका छन्। डा. श्रेष्ठले १४७ मत तथा आचार्यले १०३ मत प्राप्त गरेका थिए। सो पदका अन्य प्रतिस्पर्धी जीवन प्रकाश शर्मा, विराटनगरका भेषराज पोखरेल र बाबुराम पन्तले क्रमशः ३७, १०० र ७८ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष पदका १३ जनामध्ये ११ जना सर्वसम्मत निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेहरूमा आर.वि. अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे (कोसी प्रदेश), राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।
महासचिव पदमा रामहरि सिलवाल निर्वाचित भएका छन्। उनले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए।
सचिव पदतर्फ कृष्ण प्रसाद पौडेल (१४३), जीवन लामा गोले (१६७), पारस श्रेष्ठ (१४५), भवानी प्रसाद पौडेल (२१९), यम बहादुर रोका (१४५), राजेश कार्की (१४३ – कोसी प्रदेश) र बलराम पन्त (१५५ – कोसी प्रदेश) मतसहित निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा शिव प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा शङ्कर भट्टराई (कोसी प्रदेश) चयन भएका छन्।