धरान : साहित्य लेखनको सृजनशीलतामा पछिल्लो उदाहरण बनेकी वयोवृद्ध लेखिका खड्गमाया तुम्बाहाम्फे लिङथेपको ८९ वर्षको उमेरमा धरान–१६ स्थित निवासमा दुःखद निधन भएको छ ।
नेपाली भाषामा कथा लेख्दै आएकी खड्गमायाले ८४ वर्षको उमेरमा तेस्रो कथा सङ्ग्रह ‘नरमाया पागल भई’ प्रकाशित गरेकी थिइन् ।
यस अघि उनको ३ वटा कथा सङ्ग्रह सावरमती, पुर्खाका कृतिहरू, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् ।
उनका छोरा उत्तम लिङथेपका अनुसार निधन अघि अर्को कथा सङ्ग्रह र कविता सङ्ग्रह दुई वटा कृति प्रकाशित गर्न खड्गमायाले पाण्डुलिपि तयार गरिसकेकी छन् ।
उनले भने ‘यस वर्ष दुवै किताब छाप्ने योजना थियो, तर दुई किताब एकै साथ निकाल्ने उहाँको इच्छा पुरा नभई हामीसँग आमाले बिदा लिनु भयो ।’
किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य समेत रहेका छोरा लिङथेपका अनुसार दिवङ्गत खड्गमाया लामो समय देखी मधुमेह, उच्च रक्तचापको रोगी थिइन् । कथा र कविता लेख्नमा रुचि राख्ने आमा खड्गमाया मृत्यु पर्यन्त आमा लेखनमा तल्लीन रहने गरेको उनले बताए । 
खड्गमायाको कथा सङ्ग्रह ‘नरमाया पागल भई’ कोरोना महामारी बिच २०७७ माघमा प्रकाशित भएको थियो । उत्तमका अनुसार पुस्तक विमोचन गरी सार्वजनिक इच्छा कोरोना महामारीले पूरा हुन सकेन ।  
वयोवृध्दा कथाकार खड्गमायाको जन्म १९९४ माघ १७ गते हाल तेह्रथुम मेयङलु तम्फुला–४ मा त्यस बेलाका सम्भ्रान्त परिवारमा भएको थियो । उनका पिता ललितबहादुर तुम्बाहाम्फे २००७ सालमा धनकुटामा गठन भएको प्रान्तीय सरकारका गभर्नर बनेका थिए । आमा देवका आङबुहाङ थिइन् ।
त्यस बेला शिक्षाको सुविधा थिएन । २००७ सालको क्रान्ति पछि गाउँमा खुलेका फुसका छाप्राको विद्यालयमा सामान्य लेखपढ गर्न सिकेकी थिइन । त्यसैको भरमा स्व-अध्ययनबाट धार्मिक पुस्तकहरू अध्ययन गर्दै आमा लेखपढमा अगाडि बढेको छोरा उत्तमले बताए । 
स्वर्गीय  खड्गमायाको विवाह १८ वर्षको उमेरमा स्वर्गीय पूर्ण कुमार लिङथेप सँग भएको थियो । हाल धरान–१६ मा छोराहरू सँग बस्दै आएकी खड्गायाको शोक सन्तप्त परिवारमा ४ छोरा बुहारीका ११ नाति नातिनी छन् । 
स्वर्गीय खड्गमायाको बाजे लिम्बुवानमा समाज सुधार अभियानका महागुरु फाल्गुननन्दबाट प्रभावित थिए ।
त्यसैले उनको घरमा शिक्षालाई प्राथमिकता दिइएकाले आमामा त्यसको प्रभाव परेको छोरा उत्तमले बताए । 
लिम्बु मातृभाषा स्वर्गीय खड्गमाया अक्षर, शब्दहरू सबैले सबैले स्पष्ट पढ्न सक्ने नेपाली अक्षर तथा भाषामा लेख्ने गर्दथिन् । साथै उनी मातृभाषा याक्थुङ लिम्बु भाषा, पालामहरुमा पनि उत्तिकै पोख्त थिइन् ।