इटहरी : जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पौष १६ गते हुने निर्वाचनमा प्रतिस्पर्धामा रहेका अध्यक्षका उम्मेदवार प्रह्लाद दाहालले फिर्ता लिएपछि सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

१० गते भएको मनोनयन दर्ताको क्रममा निर्वाचन हुने देखिएपनि दाहालले फिर्ता लिएको र अन्य दुई सदस्यको हकमा दाबी विरोध परेपछि मतदान भएन ।

मनोनयनकै क्रममा सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत भएको थियो । अध्यक्ष र उपाध्यक्षमा मुख्य प्रतिस्पर्धा मानिएपछि उम्मेदवारी फिर्ता र दाबी विरोधको कारण कार्यसमिति नै सर्वसम्मत भएको हो ।

अध्यक्षमा गोमाकुमारी गिरी (खड्का) र दाहालले उम्मेदवारी दिएका थिए । दाहालले १२ गते आइतबार नै उम्मेदवारी फिर्ता लिएपछि गोमाकुमारी सर्वसम्मत अध्यक्ष बनेकी हुन् ।

उता उपाध्यक्षमा ममता शाक्य र उद्धव बहादुर लिम्बु बिचमा पनि प्रतिस्पर्धा हुन पाएन । शाक्यको उम्मेदवारी नियम विपरीत भएको भन्दै उजुरी परेपछि खारेज भएको थियो ।

एक पदको लागि दुई जनाको उम्मेदवारी परेपनि शाक्यको हकमा दाबी विरोध परेपछि उम्मेदवारी रद्द भएको हो । ५ सदस्यको कार्यसमितिमा पनि नवीन पराजुलीको नाममा दाबी विरोध परेको थियो । निर्वाचन हुन लागेका तीन पदमा उम्मेदवारी फिर्ता र दाबी विरोधले सर्वसम्मत कार्यसमिति चयनमा सहज भएको हो ।

निर्वाचन उपसमितिका अनुसार १८ औँ महाधिवेशनले अध्यक्षमा गोमाकुमारी, उपाध्यक्षमा उद्धव बहादुर, सचिवमा मिलन त्रिताल, कोषाध्यक्षमा भिममाया लिम्बु सर्वसम्मत भए । त्यस्तै कार्यसमिति सदस्यहरूमा मदनकुमार चौधरी, दयानन्द चौधरी, कृष्ण घिमिरे, विमला भुजेल र बद्रीकुमार बुढाथोकी चयन भएका छन् ।

लेखा सुपरिवेक्षण समिति संयोजकमा ईश्वरी प्रसाद पराजुली सर्वसम्मत हुँदा सदस्यहरूमा डम्बरु वल्लभ भण्डारी र कलावती देवी दुलाल चयन भए ।

bachat-sang-sunsari