इटहरी : विहान सबेरै बल्छी लिएर माछा मार्न कुद्नु र दिनभर माछा मारि बेचेर बेलुका घर आएर दुईछाक गुजारा टार्दै आएका थिए कुनैबेला माझी समूदाय । कुनै समयमा सुनसरीका माझी समूदायहरु सप्तकोशी नदीमा माछा मार्नका लागि लाम लाग्ने गर्दथे । तर, कालान्तरमा माझी समूदायको माछा मार्ने पेशा संकटमा परेपछि आँफूहरु विस्थापित बन्दै गएको स्वयम् माझी समूदायहरु बताउँछन् ।

पुख्र्यौली पेशाबाट दैनिकी नचल्ने र अहिले नयाँ नीति बनेकाले आँफूहरु विस्थापित हुनु परेको माझी समूदायको भनाई छ । हाल सुनसरीको बराहक्षेत्र नगरपालिकाकामा बस्दै आएका स्थानीय सत्यनारायण माझीले आँफूहरु लामो समय अगाडिबाट माछा मार्दै आएको भएपनि अहिले पुख्र्यौली पेशा संकटमा परेकाले आँफूहरु जर्बजस्ती रुपमा विस्थापित हुनुपरेको बताउँछन् । ‘उर्बर भूमिलाई माझीले संरक्षण गरेर बसेका थिए,’ उनले भने, ‘जर्बजस्ती रुपमा माझीको पेशालाई विस्थापित गराइयो ।’ माझी समूदायको शैक्षिक र राजनीतिक रुपमा बलियो पहुँच नभएकाले पेशाबाट विस्थापित हुनुपरेको उनको भनाई थियो ।
बराहक्षेत्र नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका शेषराज माझी पनि आँफूहरुको पुख्र्यौली पेशा संकटमा परेर विस्थापित हुनुपरेपरेकोले चिन्ता प्रकट गरे । उनले माझी जातिका पेशा लोप हुँदै गएकाले दुःख ब्यक्त गरे । ‘माझीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ,’ उनले भने, ‘माझी समूदाय आफ्नो पेशाबाट विस्थापित भएर विदेश पलायन देखि लिएर बसाईसराईँ नै जानुपर्ने संकट छ ।’ उनले यो पेशाबाट आत्मनिर्भर बन्न नसकेको र नयाँ नीति अनुसार माछा मार्नबाट बञ्चित रहेको सुनाए । अहिले अधिकांश मानिसहरु विदेश पलायन भएको, बसाईसराईँ गरेर अन्यत्र बसोबास गर्नुपरेको तथा केही मानिसहरु यहिँ मजदुरी गरी खेतीपाती गर्दै आएको उनी बताउँछन् ।

पहिलेको समयमा डुङ्गाबाट मानिसहरु तार्ने गरेकाले पनि यो पेशामा आत्मनिर्भर बन्ने गरेका माझी समूदाय अहिले चिन्तित रहेको नेपाल माझी उत्थान संघ सुनसरीका कार्यबाहक अध्यक्ष तथा स्थानीय बासिन्दा घनश्याम माझी बताउँछन् । उनी भन्छन्, ‘पहिलेको समयमा नदीबाट हामीले डुङ्गाको माध्यमबाट मानिसहरु वारपार गर्दा केही पैसा आर्जन हुन्थ्यो र जीविकोपार्जन हुन्थ्यो, अहिले त त्यो पनि हुँदैन ।’ उनका अनुसार अहिले माझी समूदायहरु कृषि पेशामा आधारित रहेका छन् । माझीको आफ्नै जग्गा जमीन समेत नभएका कारण आँफूहरु मजदुरी गर्न बाध्य भएपनि त्यसले जीविकोपार्जन भएपछि विदेश पलायन हुनुपरेको उनले गुनासो गरे ।


सुनसरीमा मात्रै ४ हजार माझी समूदायको जनसंख्या रहेको बताउँदै उनले देशैभरी ८३ हजार ७ सय २४ जना माझी समूदाय रहेको बताए । यिनीहरुको संरक्षण र प्रर्बधन तथा रोजगारीका लागि पनि सरकारले उचित स्थान दिनुपर्ने उनको भनाई छ । माझी समूदायले दीर्घकालीन जीवन यापन गर्नका निम्ति स्थानीय, प्रदेश सरकारले बिशेष कार्यक्रमको योजना ल्याउनुपर्ने उनको जोड थियो । ‘आगामी दिनमा माझी समूदायको उत्थान र प्रर्बधनका निम्ति स्थानीय तथा प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने आवश्यक देखिन्छ,’ उनले भने ।