इटहरी : भोजपुरको अरुण गाउपालीका साबिकको याकु गाविसका अरुण बराइली जातीय विभेदको विरुद्धमा जनयुद्धमा होमीए । २०५७ साल देखी माओवादी युद्धमा होमीएका उनी युद्धको अग्रमोर्चामा थिए । सामाजीक विभेद सहेर लामो समय बस्न हुन्न भन्ने उनको सोच थियो । माओवादी आन्दोलनले मान्छे सबै एउटै हो भन्दै प्रशिक्षीत गरायो ।
ब्रामण र दलीत बिचमा केही फरक छैन भन्दै माओवादीले सामुहीक भोज चलायो । त्यसको प्रत्यक्ष अनुभव गरीरहेका थिए बराइली । छुवाछुतको अन्त्य हुने र दलीतपनि राज्यको उपल्लो तहमा पुग्छन् भन्ने बिश्वासमा थिए उनी ।
२०६० साल साल माघमा भिडन्तको लागी तयारी भइरहेको थियो । कसलाई अगाडी बढाउने भन्नेमा कमाण्डरले निर्णय गर्दै थिए । भोजपुरको रिपीटर टावर आक्रमण गर्ने योजना बनीरहेको थियो । त्यही बेला बराइलीले म अग्रस्थानमा हुन्छु भनेर प्रस्ताव गरे । भयो पनि त्यस्तै । टावर आक्रमण भयो । दुवैतर्फ गोली हानाहान भयो । उनको दुवै खुट्टामा गोली लाग्यो । आक्रमण सफल भयो । त्यसपछी उनी झनै सफल योद्धाको रुपमा परीचित हुन थाले ।
पछी सिरहाको बन्दीपुर आक्रमणमा उनको नाम अगाडी आयो । कुशल योद्धाको रुपमा परीचित भइसकेका उनी आक्रमणमा सहभागी भए । लामो समय युद्ध चल्यो । उनको ढाडमा गोली लाग्यो । घाइते भएपनि मैदान छाडेनन् । भिडीरहे उनी ।
पछी उपचारको क्रममा उनको जिउमा निकै गहिरो संग गोली भासीए भेटीयो । त्यो बेला खासै समस्या नभएको कारण थप गोली निकाल्न जरुरी ठानेनन् उनले । तत्काल निकाल्न खर्च र समय पनि मिलेन । जिउमै गोली बोकेर काममा लागे उनी । केही समय पछी गोली अड्कीएको ठाँउमा पोल्न र दुख्न थाल्यो । उपचारको लागी उनी काठमाण्डौनै जानुपर्ने भयो ।
त्यो बेला सम्म गणतन्त्र आइसकेको थियो । उपचार गराउने र निको भएर थप उद्यम गर्ने सुरमा थिए उनी । तर तरादेवीको सोचे जस्तो हुन्न जिवन..... गित जस्तै भइदियो । उनी सवार गाडी धादीङको कृष्ण भिरमा दुर्घटनामा पर्यो । उनको सम्झना अनुसार घटना २०६९ साउन १ गतेको हो । बसमा सवार ३६ जनाको मृत्यु भयो । ६ जना बेपत्ता भए । संयोगबस उनी सहित ५ सकुशल रहे । युद्ध देखी दुर्घटना सम्ममा उनी मृत्युको मुखबाट बाचेका छन् ।
उपचारकै लागी गएको भएर उनी सिधै अस्पताल पुगे । बिर अस्पतालमा अपरेसनको समय फिक्स भयो । नभन्दै अपरेशन पनि सफल भयो । ८ बर्ष पछी जिउको गोली निकालेकोमा खुसी थिए बराइली । तर उनको खुसी एक रात भन्दा बढी टिक्न सकेन ।
जिउबाट गोली त निश्कीयो । गोली संगै उनको आधा जिउको संवेदनमा पनि निस्कीयो । गोली निकालेको भोली पल्ट देखी उनको आधा शरीर चल्न छाड्यो । पुन उनी डाक्टरकोमा गए । डाक्टरले स्पाइनल कर्ट इन्जुरी भएको बतायो । यसको एकमात्र उपचार ह्विल चेयरनै थियो । त्यस दिन देखीको उनको साथी ह्विल चेयर अहिले सम्म साथमा छ ।
उनी जनयुद्धमा लागेको पाटी अहिले सरकारमा छ । दुइवटा पार्टी मिलेर ठुलो भएको छ । पार्टी जस्तै उनको समस्या पनि ठुलो ठुलो हुँदैछन् । युद्धमा होमीएका धेरै बराईलीहरु राहतको पर्खाइमै छन् । पार्टी सरकारमा भएपनि आफुहरु अल्पमतमा परेको उनको बुझाईछ । ‘जसको लागी युद्धको अग्रमोर्चामा लडीयो तिनीहरु अहिले मन्त्री भएकाछन् ।,’ उनी भन्छन् , ‘तर तिनीहरुकै लागी लडेको हो भन्दापनि अहिले चाही आत्मग्लानीको अनुभुती हुन्छ ।’
हिजो गणतन्त्रको लागी लडेको र अहिले गणतन्त्र आएको छ भनेर चित्त बुझाएर बसेको उनी सुनाउँछन् । आम्दानीको लागी केही उद्यम गरौ भन्दापनि नसकीने भएपछी झनै समस्या भएको उनी बताउँछन् । शिप सिक्नको लागी जिउ कन्ट्रोल नभएर समस्या हुने गरेको उनको भनाई छ ।
‘हिजो मृत्युको दस्तावेजमा हस्ताक्षर गरेर हिडेको मान्छे हौ । युद्धमा जाँदा फस्ट एसल्टमा (सबैभन्दा अगाडी) परीएन भने ग्वाग्वा रुन्थ्यौ । किनकी सबैलाई पहिलो सहिद हुने रहर हुन्थ्यो ।,’ बराइली दख मान्दै भन्छन्, ‘तर अहिलेपनि दुनीया परीवर्तन भा छैन । अहिले पनि महिला हिंसा छ । बलात्कार बढेकोछ । जातीय बिभेद जारी छ । देश भन्दापनि नेताको दैनीकी बढी परीवर्तन जस्तो लाग्छ ।’
तर उनकी श्रीमतीमा भने अनौठो सकारात्मक सोच देखीन्छ । उनी अरुलाई भन्दापनि आफैलाई बिश्वाश गर्नपर्ने सुझाउँछीन् ।
उनी संगै आएकी श्रीमती संचिता श्रेष्ठ कतिपनि निराश छैनन् । जनयुद्धमै अन्तरजातीय जनबादी विवाह गरेका उनीहरुको युद्धकै क्रममा छोरा जन्मीएको हो । अहिले छोरो १२ कक्षामा पढीरहेकोछ । संचिता भने श्रीमानकै हेरचाहमा व्यस्त छिन् । हिडडुल दिशापिशाबको लागी पनि साथी चाहीने भएपछि श्रीमान्कै साथमा हुन्छीन् उनी ।
पार्टीले धेरैलाई हेर्नुपर्ने भएकोले आफुहरुलाई नभ्याएको हुन सक्ने उनको बुझाईछ । भन्छीन्, ‘हैन अब पार्टीमा हामी जस्तो धेरै छन् । अहिले हामी छुट्यौ होला । हाम्रो पनि पालो आउला । एउटै घरमा पनि सबैलाई मिलाएर राख्न सकिन्दैन भने पार्टी भित्र झन् धेरै योद्धाहरु हुन्छन् मिलाउँदै जाँदा हामी छुटेको हुन सक्छौ । मिलाउन खोज्दा खोज्दै नमीलेर होला ।’