इटहरी : भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको कारण इटहरीमा काठमाडौँ बाहिर सबैभन्दा धेरै क्षति भएको आँकलन गरिएको छ। इटहरी उपमहानगरपालिकाको भवन देखि सवारी साधनमा भएको क्षतिको यकिन विवरण सार्वजनिक नभएपनि कार्यालय अस्तव्यस्त भयो ।
इटहरीमा रहेका अन्य सरकारी कार्यालयमा भएको क्षतिकोले सेवा प्रवाहमा पर्ने असर स्थानीय नागरिकमा लामो समय पर्ने भएको छ। इलाका प्रहरी कार्यालयको पुनः निर्माणमा उपमहानगरपालिका र स्थानीय सरोकारवाल नागरिकले सहयोग गरिरहेका छन् ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धान देखि मेयर हेमकर्ण पौडेलको घर समेत जलेर नष्ट भएको छ । त्यस बाहेक अन्य भौतिक र मनोवैज्ञानिक क्षतिको कुनै हिसाब छैन ।
यति धेरै क्षति बेहोरेको इटहरीले राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायको परीक्षा लिइरहेको छ । दुई महिना बितिसक्दा समेत उपमहानगरपालिकाले सर्वदलीय वा सर्वपक्षीय भेला बोलाउन सकेको छैन । कार्यपालिका बैठकबाट केही औपचारिक निर्णय गरेपनि आन्दोलनपछि गर्नुपर्ने एकता र पुनः निर्माणमा ठोस कदम चालेको देखिँदैन ।
इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको अस्थायी संरचना र पुनः निर्माणको काम भइरहेपनि राजनीतिक दलहरू बिचमा भने संवाद र छलफल हुन सकेको छैन । इटहरीको पुनः निर्माण र नयाँ राजनीतिक सङ्कल्पमा संवादहीनताको अवस्था देखिएको छ ।
नेपाली काँग्रेसका उपसभापति कोविदजङ्ग कार्कीले दलहरू बिचमा छलफल र संवाद नभएको स्वीकार गरेका छन् । पार्टी नेतृत्वलाई आफूले त्यस विषयमा जिज्ञासा राखेपनि अहिलेसम्म कुनै पनि पार्टीले संवादको नेतृत्व नगरेको उनले बताए । विषम परिस्थितिको सामना गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सामाजिक अभियन्ताहरूले समेत सामूहिक प्रतिबद्धता जनाएर अगाडी बढ्नुपर्ने उनको बुझाइ छ ।
नेकपा एमालेका नगर कमिटी अध्यक्ष रुपेश बस्नेत आन्दोलनको भोलिपल्ट (भदौ २५ गते) नै काँग्रेस सभापति हेमकर्ण पौडेलसँग फोनमा कुराकानीमा सकारात्मक प्रतिक्रिया पाए पनि काममा सहयोग नपाएको बताए । उनले भने, ‘तत्कालीन अवस्थामा नागरिकमा त्रास देखिएकाले सुरक्षा दस्ता तयार पार्ने कुरा भएपनि पछि काँग्रेस सभापति सम्पर्कमा आउनु भएन । उपसभापति र सचिवहरू सँग कुरा भयो । वहाँहरूले सभापतिबाट निर्देशन नआएको भन्दै छलफल गर्न नसकिने बताएपछि एमालेले पदाधिकारी बैठकबाट सर्कुलर जारी गर्‍यो र वडा स्तरीय दस्ता बनायौँ ।’
संयुक्त वक्तव्य निकाल्ने विषयमा पनि काँग्रेसले साथ नदिएको एमाले अध्यक्ष बस्नेतले कपुरी न्युजलाई बताए । अन्य पार्टीसँग किन सम्पर्क गर्नु भएन ? भन्ने प्रश्नमा उनले भने, ‘रास्वपा, राप्रपा र माओवादी केन्द्रका नेता कार्यकर्ताहरू आफै आगजनी र तोडफोडमा संलग्न भएको देखिन्छ । यस्तो अवस्थामा वहाँहरू सँगै मिलेर वक्तव्य निकाल्ने कुरा नैतिक हिसाबले पनि जायज हुँदैनथ्यो । जुन हामीले गरेनौँ ।’
अन्य दलहरूले पनि नेपाली काँग्रेसले अग्रसरता देखाएर संवादमा बोलाउनुपर्ने अपेक्षा गरेका छन् । राप्रपा नगर कमिटी अध्यक्ष आकाशहाङ्ग लिम्बुले अहिलेसम्म पालिकाको नेतृत्व गर्ने दलहरूले छलफलमा नबोलाएको प्रस्ट पारेका छन् । 
काँग्रेसमा भएन आन्तरिक छलफल
उपमहानगरपालिका र नेपाली काँग्रेस पार्टीको नेतृत्वमा हेमकर्ण पौडेल छन् । सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको नगर समितिका सम्पूर्ण कागजात जलेका छन् । भाडाको घरमा कार्यालय भएकाले फर्निचर लगायत सामान सडकमा ल्याएर जलाइयो । त्यति हुँदा समेत काँग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।
जिल्ला सभापति केदार भण्डारी समेत इनरुवा नगरपालिकाका मेयर हुन् । उनको निजी निवास र नगरपालिका जलेर नष्ट भएको छ । भण्डारीले यसअघि नै पार्टीको बैठक आह्वान गरेर जिल्ला समिति र भातृसंस्थालाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन् । पार्टी कार्यालयमै समीक्षा बैठक समेत सम्पन्न भइसकेको छ ।
काँग्रेस इटहरीको शिथिलताको विषयमा नेपाली काँग्रेस पूर्वनगर सदस्य तथा नेपाल विद्यार्थी सङ्घ सुनसरीका सभापति प्रमोद भट्टराइले भने, ‘इटहरीमा पार्टी गतिविधि नभएको हो की जानकारी नपाएको हो थाहा छैन ।’ जिल्ला पार्टी समितिले छलफल र परामर्शमा बेलाएपनि इटहरीको विषयमा थाहा नभएको उनले बताए ।
यसबिचमा एमालेले विभिन्न कार्यक्रम गरिरहेको छ । एमालेको इटहरी नगर कमिटीले रक्तदान, शुभकामना आदानप्रदान देखि पार्टी कार्यालय पुनः निर्माणको काम सम्पन्न गरिसकेको छ । दुई महिनामा पदाधिकारी र सचिवालयका दर्जनौँ बैठक सम्पन्न भएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।
काँग्रेसको सुस्तता बारे उपसभापति कार्कीले सभापतिको व्यस्तताको कारण नभ्याइएको हुनसक्ने आकलन गरे । उपमहानगरपालिकाको नेतृत्व समेत गर्नुपर्ने भएकाले पार्टीमा ध्यान दिन नसकिएको होला भन्ने उनको अनुमान छ । आफूले समस्या परेको बेला पार्टीको आन्तरिक छलफलमा जोड दिनुपर्ने बताएपनि हालसम्म बैठक बस्न नसकेको उनको भनाइ छ । 
काँग्रेसको नगर समिति मात्र हैन प्रदेश क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति देखि अन्य भातृसंस्थाले समेत जेनजी आन्दोलनपछिको रणनीति र धारणा सार्वजनिक गर्न सकेका छैनन् ।
yatatat itahari
itahari-police-aajganiitahari 7