धरान :अपाङ्गता भएका आदिवासी जनजातिहरूको अधिकार र उनीहरूको सवालमा प्रभावकारी पैरवी गर्न आदिवासी अगुवाहरूको कोशी प्रदेश स्तरीय तालिम शनिवार धरानमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ निडाको आयोजनामा भएको तालिममा कोशी प्रदेशमा अपाङ्गता भएका आदिवासी जनजातिहरूको अधिकार उपयोग गर्न स्व–सहायता समूहको अवधारणाबारे प्रशिक्षण दिइएको थियो ।

कोशी प्रदेशमा अपाङ्गता भएका आदिवासी जनजाति लक्षित तालिम एबिलिस फाउन्डेसनको सहयोगमा भएको हो ।

तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आदिवासी जनजाति अपाङलाई नगरपालिकाले नीतिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तालिममा सहभागीहरूलाई अपाङ्गता भएका आदिवासी जनजातिहरूका अधिकार र उनीहरूको सवालमा कसरी प्रभावकारी पैरवी गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।

सहजकर्ता, निडा उपाध्यक्ष इन्द्र कुमारी गुरुङले नेपालका अपाङ्गता भएका आदिवासी जनजातिहरूको श्वेत पत्र र संस्थाको परिचय प्रस्तुत गरेकी थिइन् ।

सल्लाहकार, अधिवक्ता दिलप्रसाद थापा मगरले अपाङ्गता भएका आदिवासी जनजातिका लागि स्व–सहायता समूहहरूका वकालत सम्बन्धी प्रस्तुति दिए ।

सोही अवसरमा निडा कोशी प्रदेश समिति गठनका लागि छलफल गरिएको छ ।समिति आजै गठन हुने बताइएको छ ।

तालिमका सहभागीहरूले अपाङ्गता भएका आदिवासी जनजातिहरूको अधिकार उपयोग, स्व–सशक्तीकरण र समाजमा समावेशी सहभागिता सुनिश्चित गर्न निरन्तर प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ ।