धरान : नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यमा आज (मङ्गलवार) दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ।
यस चरणमा १२२ सिटका लागि १ हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। बिहार निर्वाचन आयोगका अनुसार करिब ३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ, जसमा १ करोड ७५ लाख महिला मतदाता छन्।
मतदानका लागि कुल ४५ हजार ३९९ मतदान केन्द्र तोकिएका छन्, जसमा ४० हजार ७३ केन्द्र ग्रामीण क्षेत्रमा परेका छन्। नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा ठूलो मतदाता क्षेत्र बनेको छ, जहाँ मात्र ३.६७ लाख मतदाता छन्।
त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी २२-२२ जना रहेका छन्।
निर्वाचनका कारण नेपालसँग सीमा जोडिएका सात भारतीय जिल्ला पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंजमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।
त्यससँगै नेपालको मधेशका सीमा नाकाहरूमा पनि नेपाल-भारत आवागमनमा अस्थायी रोक लगाइएको छ।

































































