धरान: धरानमा सुनसरी जिल्ला स्तरीय‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । मङ्सिर ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजना हुने भएको हो ।
प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालय सहभागी हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । सहभागी टिमहरू पहिले आउने पहिलो आधारमा छनोट गरिने उनले बताए ।
धरान–१७ एन्फा एकेडेमी खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका २ टिमले ५/५ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५०० को दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याचको पुरस्कार १००० रुपैयाँमा राखिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले धरान ‘मिनी ब्राजिल’का रूपमा चिनिँदै आएको बताउँदै विद्यालय तहबाटै फुटबल खेल प्रवद्र्धन गरी भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सराहनीय रहेको बताए ।
उनले भने, ‘ग्राउन्ड लेभल भनेको स्कुल नै हो, स्कुलबाटै उत्पादन भएका खेलाडीहरूले विश्व कीर्तिमान बनाएका छन्, युवाहरू तयार भए मात्र विश्वकप जित्न सकिन्छ, अब पालो नयाँ पुस्ताको हो ।’
प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले पहिले अभिभावकहरू छोराछोरी घरबाट निस्किँदा चिन्तित हुने गर्थे, अहिले उनीहरू घरमै बस्न रुचाइने विद्यार्थीलाई खेलकुदले सही बाटोमा ल्याउने गरेको बताए । प्रतियोगिता एन्फा एकेडेमी धरान र जिल्ला फुटबल सङ्घ सुनसरीको प्राविधिक सहयोगमा, तथा प्यावसन र एनब्यावसन धरानको संयोजनमा सञ्चालन हुनेछ ।
सुनाखरी एकेडेमीका निर्देशक प्रदीप राई, एन्फा सुनसरीका अध्यक्ष नवीन राई लगायतको उपस्थिति थियो ।


































































