इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोशी प्रदेशकी कार्यवाहक सभापति सरिन तामाङको विषयलाई लिएर केन्द्रीय समितिको विस्तारित बैठकमा चर्काचर्की नै भयो । कोशी प्रदेशको नेतृत्व गर्दै बैठकमा पुगेकी उनी कार्यक्रमको बिचमा विवादमा परिन् ।
विवादमा आउनुमा तामाङको भन्दा पनि उनका समर्थकले पार्टीको विधान बाहिरको अधिकार मागसँग जोडिन्छ । पार्टीको विधानमा कार्यवाहकको अधिकार र केन्द्रीय समितिमा प्रतिनिधित्वको विषय प्रष्ट नभएपछि कार्यकर्ताले आवाज उठाए । चर्को स्वरमै सरिन तामाङको नभए मान्दैनौ भनेर दबाब दिए ।
विस्तारित बैठक चलिरहेको अवस्थामा कोशी प्रदेश सदस्य तथा वन तथा वातावरण विभाग प्रमुख केदार आचार्यले आवाज उठाए । उनी सँगै कोशी प्रदेशका अन्य पदाधिकारी तथा प्रतिनिधिले उठेर विरोध जनाए । विस्तारित बैठकमा अन्य ६ जना प्रदेश सभापतिको फोटो राखिएको तर सरिन तामाङको नभएपछि विरोध उत्रिएका हुन् ।
आचार्यका अनुसार सरिनलाई केन्द्रीय सदस्यको रूपमा मान्यता दिएर अगाडी बढ्नुपर्ने प्रतिनिधिको माग थियो । सरिन बाहेक कोशी प्रदेशको सभापति कोही भए देखाउन दबाब दिएका उनीहरूले केही समय बैठक चल्न दिएनन् । बैठक नै बहिस्कार गर्ने सम्मको धम्की दिएका प्रतिनिधिहरूले फोटो राख्नुपर्ने अडान राखे ।
विधानमा कार्यवाहकलाई पदेन केन्द्रीय सदस्यको रूपमा नलिइएको हुँदा फोटो नराखिएको बताएपनि अन्य प्रदेश सभापतिकै हैसियत दिनुपर्ने माग भयो । विधानमा त्यस विषयलाई थप समेट्ने बाचा मञ्चबाट नेताहरूले गरेपछि माहौल केही शान्त बनेको थियो । त्यसपछि माहौल शान्त बन्दै गएको र अहिले बैठकमा धारणा राख्ने क्रम जारी रहेको आचार्यले बताएका छन् ।
गत जेठमा घण्टी चुनाव चिन्ह प्रयोग गरेर राजसंस्थाको वकालत गरेको र पूर्व महामन्त्री मुकुल ढकाललाई समर्थन गरेको भन्दै सभापति राजेश तिम्सिना कारबाहीमा परेका थिए । तिम्सिनालाई कारबाही गरेपछि उपसभापति सरिन तामाङले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
तीन दिन देखि चितवनमा चलेको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकमा कोशी प्रदेशबाट ६५ जनाले सहभागिता जनाएका छन् । केन्द्रीय समिति बाहेक प्रदेश सभापति तथा पदाधिकारीहरू, प्रदेशका विभिन्न विभागका प्रमुखहरू, जिल्ला र पालिका सभापति सहितको वृहत् भेलाले समसामयिक राजनीति र आगामी रणनीतिबारे निर्णय लिने बताइएको छ ।


































































