धरान : फ्रेन्ड्स सिनेमाजमा रिलिज भएको दुई दिनमा २ शो पछि 'मन बिनाको धन' प्रदर्शनबाटै हटाइएको छ । दर्शकको अकुपेन्सी ९० प्रतिशत रहँदा पनि हलले फिल्म प्रदर्शनबाट हटाएको हो ।
कार्तिक २१ गतेदेखि ‘जारी २’ र 'मन बिनाको धन' देशभर एकसाथ प्रदर्शनमा आएका थिए । फ्रेण्ड्स सिनेमाजले ‘मन बिनाको धन’ लाई प्रदर्शनको पहिलो र दोस्रो दिन १/१ शो दिएको थियो । ‘जारी २’ ले भने ७ वटा शो पाएको थियो ।
दुवै फिल्मको बुकिङ आक्रामक रहँदा, ‘मन बिनाको धन’ हेर्न विशेष गरी स्कुले विद्यार्थीहरूको ठुलो सहभागिता देखिएको थियो । तर फ्रेन्ड्स सिनेमाजका सुपरभाइजर पवन मास्केले फिल्मको शो हटाउने निर्णय दर्शकको अकुपेन्सी र उपस्थितिको आधारमा गरिएको बताएका छन् ।
उनले भने ‘फिल्ममा दर्शकको अकुपेन्सी पर्याप्त थिएन, फिल्म हेर्न विद्यार्थी बाहेक अन्य दर्शक नआएको कारण शो हटाइएको हो ।’ दसैंको बेला पनि फिल्म राम्रो सँग नचलेकोले अहिलेको परिस्थितिमा छलफल गरेरै शो हटाउने निर्णय गरिएको उनको भनाई छ । यद्यपि, उक्त दिनको हलभित्रको भीड र बुकिङ हेर्दा सुपरभाइजर मास्केको भनाई विश्वासयोग्य मानिएको छैन ।
फिल्मका निर्देशक टङ्क बुढाथोकीले रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा गुनासो व्यक्त गर्दै लेखेका थिए, ‘म हार्दैछु, मलाई हराउन धेरै लाग्यो, ठिक छ, सिनेमा घर सञ्चालकहरूले ‘मन बिनाको धन’ लाई नपत्याए पनि, न्याय तपाईँहरूकै हातमा छ ।’
फिल्ममा धरानकै बाल कलाकार बाबू पराजुलीको पनि अभिनय छ । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षमा आधारित यो फिल्मले देशभरका हलमा दर्शकलाई भावनात्मक रूपमा छोएको पाइन्छ । स्कुले विद्यार्थीदेखि बुबा आमासम्म हलभित्र रुँदै बाहिर निस्किएका दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
फिल्मले पर्याप्त शो नपाएको विषयमा वितरक छवि ओझाले भने ‘अरू फिल्म राम्रो चलिरहेको भएकाले हाम्रो फिल्मले शो पाएको छैन, हलले शो मिलाएर दिने कुरा छ, हामीले हलसँग लगातार समन्वय गरिरहेका छौँ ।’
मङ्गलवार र बुधवार टिकट छुट हुँदा हलमा भीड सामान्य दिनभन्दा बढी हुने गर्छ । तर ‘जारी २’ र ‘परान’को शो अटाएको फ्रेन्ड्स सिनेमाजमा ‘मन बिनाको धन’ नअटाउँदा दर्शक निराश भएका छन् ।


































































