धरान : विश्वमा घट्दो सङ्ख्यामा रहेको वन्यजन्तु पाटेबाघको डमरु (बच्चा) धरानमा भेटिएको छ । धरान-१४, हात्तीसार क्षेत्रमा मङ्गलवार साँझ स्थानीय युवाहरूले बाघको डमरु भेटेका हुन ।
धरान-१६ का १८ वर्षीय युसन राई, सिमन राई, धरान-१३ का १७ वर्षीय अमन लिम्बुले सडक छेउ असामान्य रूपमा हिँडडुल गरिरहेको देखिएका डमरुलाई उनीहरूले बाघको बच्चा भएको अनुमान गरी सुरक्षित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार प्रारम्भिक अध्ययनले उक्त बच्चा पाटे बाघ, चितुवा वा निगालेको हुन सक्ने देखाएको छ । वन्यजन्तु संरक्षण ऐन अनुसार यस्तो अवस्थामा भेटिएका वन्यजन्तुहरू वन कार्यालयमा संरक्षणका लागि पठाइने उनले बताए ।
हात्तीसार क्याम्पसको वन क्षेत्र नजिक नजिक भएकाले त्यहाँ समय-समयमा चितुवा, स्याल लगायतका वन्यजन्तुहरू देखिनु सामान्य रहेको प्रहरीले बताएको छ । घटनाले धरान वरपरको जङ्गलमा पाटेबाघको बथान हुनसक्ने अनुमान गरिएको डिएसपी राईको भनाई छ।
पाटेबाघ विश्वमा घट्दो सङ्ख्यामा रहेकाले यसको संरक्षणका लागि विभिन्न मुलुकहरूले नीति निर्माण गरेका छन् । पाटेबाघ मुख्यतया भारत, नेपाल र बङ्गलादेशको रैथाने बाघको उपप्रजाति हो । बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छन् ।
घांसेमैदान देखि उष्ण तथा समशीतोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा र मरुभूमि आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले वासस्थान बनाएको हुन्छ ।
नेपाल तथा उत्तर भारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरू भन्दा केही ठुलो शरीरका हुन्छन् । संरक्षणवादीहरूको दाबी अनुसार अहिले पाटे बाघहरूको सङ्ख्या २००० भन्दा पनि कम भैसकेको छ ।
भारतको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्वेक्षण अनुसार विगत १० वर्षमा बाघको सङ्ख्यामा ६०५ कमी आएर अहिले करिब १,४११ पाटे बाघहरू मात्र बाँकी रहेको अनुमान गरिएको छ ।
नेपालमा राष्ट्रिय प्रकृति संरक्षण कोषले विसं २०७० मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाघको सङ्ख्या २०५० मा १७६ को रहेकोमा २०६५ मा बढेर १९८ पुगेको छ ।
उक्त सङ्ख्या चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँट वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा रहेको गणना भएको हो ।


































































