इटहरी : नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य केशवकुमार विष्टले अहिलेको सन्दर्भमा वृहत् वाम एकता अपरिहार्य भएको बताएका छन् । भूराजनीतिक प्रभावले नयाँ शक्तिको उदय गराउने र पुराना दलहरूलाई कमजोर बनाउने रणनीति विरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताए ।   

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सहित अन्य ६ दल तथा समूह बिच हुन लागेको एकताको बारेमा प्रस्ट पार्दै उनले राष्ट्रियतालाई बलियो बनाउने अभिप्रायले नेकपा समाजवादीलाई बलियो बनाउन लागेको बताए । कपुरी न्युजसँग कुरा गर्दै विष्टले वामपन्थी शक्ति बिचमा एकता गर्दै जाने र वृहत् वाम शक्ति निर्माण गर्ने प्रस्ट पारे । 

केही दिन अगाडी सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली काँग्रेस लगायत दलहरूलाई समेत वृहत् मोर्चावन्दी गर्न आग्रह गरेका उनले षडयन्त्र विरुद्ध लड्नुपर्ने बताए । जेनजी आन्दोलनमा वैदेशिक हस्तक्षेप भएको र अमेरिकाले चिन विरुद्ध नेपाललाई प्रयोग गर्न खोजेको उनको आरोप छ । 

‘अमेरिकी षडयन्त्रलाई कमजोर बनाउन वृहत् वाम एकता अपरिहार्य भएको छ । चीनलाई प्रहार गर्नको निमित्त नेपाललाई प्रयोग गर्न खोजिएको छ । नयाँ शक्तिको उदय गराउने र पुराना राजनीतिक शक्तिलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । नयाँ शक्ति मार्फत आफ्नो स्वार्थ पुरा गर्ने अभिलाषा अमेरिकाको देखिन्छ,’ उनले भने । वैदेशिक हस्तक्षेप रोक्नको लागि सबै देशभक्त दलहरू एक हुनुपर्ने विष्टको भनाइ छ । 

हरेक नागरिक सचेत भएर एकताबद्ध हुनुपर्ने विचार राख्दै लोकतन्त्रवादी र देशभक्तहरू एकताबद्ध भएर मात्र समाजवादको यात्रा तय गर्न सकिने विश्वास व्यक्त गरे । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीले पुनः माओवादी सँग एकता गर्न लागेको छ । 

एकताको विपक्षमा रहेका नेकपा एसका कार्यकर्तालाई लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमै फर्किन आग्रह गरिसकेका छन् । ओलीको पछिल्लो स्टेटमेन्टको विषयलाई विष्टले अपरिपक्व र अराजनीतिक तर्कको संज्ञा दिए । ओलीले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताउँदै वाम एकताको बाटो सकैले रोक्न नसक्ने चेतावनी दिए । 

नेपाल समाजवादी पार्टीले दर्ता गरेको चुनाव चिन्ह तारा लिएर ८ दल तथा समूहले एकता गर्ने तयारी गरेका छन् । वाम एकताको तयारी गरिरहेका सबै दलमा असन्तुष्टि देखिएको छ ।