धरान : नेपाल तरुण दल धरान समितिले धरानमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका मोडिफाई मोटरसाइकल र स्कुटीका कारण सहरको शान्ति सुरक्षा प्रभावित भएको भन्दै नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको छ।

तरुण दलका अध्यक्ष रामकुमार तामाङको नेतृत्वमा बिहीबार उक्त ज्ञापन पत्र बुझाइएको हो।

दलले धरानमा राति अबेरसम्म ठुलो आवाजमा सवारी चलाउने, तीन–तीन जना सवार हुने र बिना हेल्मेट तीव्र गतिमा दौडिने मोटरसाइकल तथा स्कुटीका गतिविधिले स्थानीय बासिन्दामा त्रास फैलाएको जनाएको छ।

अध्यक्ष तामाङका अनुसार, “मोडिफाई सवारी साधनको बढ्दो प्रयोगले बालबालिकादेखि वृद्धासम्मको स्वास्थ्यमा असर पारेको छ, र समाजमा अराजकता बढाएको छ।”

तरुण दलले यस्ता गतिविधि तत्काल रोक्न तथा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरी, प्रशासन र स्थानीय निकायको ध्यानाकर्षण गराएको छ।

ज्ञापन पत्रमा प्रहरी प्रशासन, स्थानीय निकाय र नागरिक समाज सबैले हातेमालो गरी धरानमा सुशासन र शान्ति कायम गर्नुपर्नेमा जोड दिइएको छ।

tarun-dal-1