धरान : तिहारमा देउसी खेलेर सङ्कलन भएको २ लाख १ हजार १०० रुपया धरान–१७ का सचेत नागरिक समूहले जेन–जी आन्दोलनमा तोडफोड,आगजनी गर्दा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण कोषमा प्रदान गरेको छ ।
समूहले तिहारमा एक दिने सांस्कृतिक देउसी कार्यक्रम आयोजना गरी उक्त रकम सङ्कलन गरेको थियो । सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता नम्बर १९६०१००१०२०७०००४० मा मङ्गलवार जम्मा गरेको हो ।
जम्मा रकमको डिपोजिट भौचर बुधवार इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले हस्तान्तरण गरेका हुन ।
कार्यक्रमका संयोजक दयाराम थापाले सांस्कृतिक परम्परा जोगाउँदै सामाजिक उत्तरदायित्वमा हातेमालो गर्ने उद्देश्यले देउसी कार्यक्रम आयोजना गरिएको बताए । पुनर्निर्माणका लागि आयोजित देउसी कार्यक्रम कात्तिक ५ गते रेल्वे चोकमा वडा कार्यालयको सहकार्यमा आयोजना गरिएको थियो ।
समूहले गत वर्ष २०८१ सालको भीषण बाढीका पीडितका लागि देउसी कार्यक्रमबाट सङ्कलित २ लाख ५ हजार रुपैयाँ सरकारी राहत कोषमा बुझाएको थियो । त्यस अघि कोरोना महामारीको समयमा समूहले खाद्यान्न वितरण, लत्ताकपडा सहयोग, होल्डिङ सेन्टर, क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय भूमिका खेलेको थियो ।



































































