इटहरी : कोरोना भाइरसको कारण कोहि मानिसको ज्यान गए सरकारले शवलाई व्यवस्थापन कसरि गर्ने भनेर कार्यविधि बनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शवको व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको हो ।
मन्त्रालयले भविष्यमा देशभित्र कुनै संक्रमितको मृत्यु हुन गएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो ।
सार्वजनिक गरेको संक्षिप्त कार्यविधि अनुसार मृतकका आफन्तले शव छुन पाउने छैनन् । जसमा ६० वर्ष भन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शव नजिक जानबाट रोक्ने उल्लेख गरिएको छ।
करीब एक मिटर टाढाबाट पालैपालो हेर्न, सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोईकन जल छर्कन, पाठ गर्न तथा फूलमाला चढाउन भने सक्नेछन् ।
त्यसैगरी अन्तिम संस्कार सहभागी हुने मृतक परिवारका सदस्यले पनि पीपीई लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ। मृतकको शव हेर्न चाहाने परिवारका सदस्यहरुले एक मिटर परैबाट हेर्ने सकिने कार्यविधिमा उल्लेख छ।
साधारण शव बहानबाटै लैजान सकिने व्यवस्था कार्यविधिले तयार पारेको छ ।
कार्यविधिको १९ बुँदाहरु :
(क) शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीई को प्रयोग गर्नुपर्दछ ।
(ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्दछ।
(ग) कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नुहुँदैन।
(घ) शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नुपर्दछ।
(ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ।
(च) शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ।
(छ) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।
(ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।
(झ) शवलाई 'डिस्इन्फेक्ट' गर्नु आवश्यक छैन।
(ञ) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनुपर्दछ।
(ट) शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्नेछैन।
(ठ) ६० वर्ष माथिका व्यक्तिहरू र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।
(ड) सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरू गर्न सकिनेछ।
(ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोईकन कम्तिमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।
(ण) कोभिड-१९ ले मृत्यु भएको ब्यक्तिको सामान्यता पोष्टमार्टम गर्नुपर्दैन। यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्दछ।
(त) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्दछ।
(थ) कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नुपर्दछ।
(द) पोष्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरू 'डिस्इन्फेक्ट' गर्नुपर्दछ।
(ध) 'क्लिनिकल वेष्ट'हरूको सावधानीपूर्वक 'डिस्पोज' गर्नुपर्दछ।