धरान : कोकाहा खोलाबाट पानी ल्याउने क्रममा तत्कालीन नगर प्रमुख हर्क साम्पाङले वराहक्षेत्र १ चावाचावासी सँग चिस्याएको सम्बन्धलाई सुधार गरी कावा प्रमुख अइन्द्रविक्रम बेघाले सौहार्दपूर्ण बनाएका छन् ।
साम्पाङ र वराहक्षेत्र १ चावाचाका स्थानीयवासी बिच लामो समयदेखि सम्बन्ध चिसिएको थियो । त्यसलाई नयाँ विन्दुबाट सम्बन्ध सुधार गर्न कार्यवाहक मेयर बेघाले उनि अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डबाट चावाचाको लागि खानेपानी सामग्री सहयोग गरिएको हो।
खानेपानी व्यवस्थापनलाई सहज बनाउन बोर्डले वराहक्षेत्र १ लाई ४ लाख २९ हजार १ सय रुपैयाँ बराबरको पाइप तथा पानी ट्याङ्की हस्तान्तरण गरेको छ । बोर्डले उपलब्ध गराएको सामग्रीमा विभिन्न साइजका पाइप र पानी ट्याङ्की छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापाले चावाचा क्षेत्र अझै पनि खानेपानी अभावसँग जुधिरहेको बताए । धरानबाट प्राप्त सामग्रीले स्थानीयवासीलाई प्रत्यक्ष राहत पुग्ने उनको भनाई छ ।
वडाध्यक्ष थापाले धरानबाट प्राप्त पाइप र ट्याङ्कीले स्थानीयवासीलाई खानेपानीको पहुँच विस्तार गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउँदै भने ‘यो सहयोग चिसिएको सम्बन्धलाई सुधार गर्न सहयोग प्रदान गरिएको रूपमा लिएको छौँ र त्यसका लागि कावा मेयर बेघालाई धन्यवाद दिन्छौँ ।’
बोर्ड अध्यक्ष बेघाले समुदाय स्तरमा खानेपानी पहुँच विस्तारका लागि यस्ता सहकार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।









































































