धरान : नेपाली काँग्रेसका युवा नेता किशोर राईले नेपाली काँग्रेस परित्याग गरेको उद्घोष गरेका छन् । आज मङ्गलवार बिहान सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा उनले काँग्रेस छाडेको कुरा लेखेका हुन ।
उनले लेखेका छन् ‘३६ वर्ष काँग्रेसको राजनीतिमा पूर्ण बिराम । तपाईँहरूको सहयोग र मायाप्रति गहिरो साधुवाद । अन्तिम पटक न्यानो जय नेपाल ।’
धरानमा २०४६ पछि नेपाली काँग्रेसको राजनीतिक उत्थानको एक खम्बा मानिएका किशोर राईको पार्टी परित्यागको अप्रत्याशित घोषणाको उनले पुष्टि गरेका छन् ।
उनले टेलिफोनमा भने ‘काँग्रेसलाई शून्यबाट नयाँ सुरुआत गरिने कुरामा विश्वास गरेको थिएँ, तर काँग्रेसको पुरानै गुटबन्दी भन्दा पनि व्यक्तिवादी सुरुआत गर्न थालियो ।’ काँग्रेसमा अवसरबाट पीडित हुँदै आएको थिएँ, नयाँ काँग्रेसको सुरुआतमा नयाँ आशा नपलाएको उनले बताए ।
किशोर राईले भने ‘अहिले राजनीतिक जीवनको मीड करियरमा छु, केही गर्छु भन्ने अठोट छ, तर अबको काँग्रेसमा केही गर्न पाउने सम्भावना देखिन ।’ 
तत्काल उनी कुनै पार्टीमा जाने योजना नभएको बताए । उनले भने ‘तत्कालै अर्को पार्टीमा जानका लागि मैलै काँग्रेस छोडेको होइन, अब म स्वतन्त्र छु ।’ 
उनले पार्टी छोडेको विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी नै गराउने बताए । भने ‘काँग्रेसका सहकर्मी साथीहरू, समर्थक कार्यकर्ताहरूलाई मैलै किने काँग्रेस छाडेँ भन्ने प्रश्न हुनसक्छ त्यसबारे बताउनु मेरो कर्तव्य हुन्छ ।’