धरान : चौथो हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान भेट्रान फुटबल क्लबले धरान भेट्रान क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै अईन्द्र विक्रम बेघाले भेट्रान खेलाडीहरूले आफ्नो अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै फुटबल खेललाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।
उनले अवकाशपछि पनि खेलकुद क्षेत्रमा सक्रिय रहँदै समाज र नयाँ पुस्ताका लागि प्रेरणादायी काम गर्न सकिने सन्देश भेट्रान खेलाडीहरूले दिएको उल्लेख गरे ।
धरानमा फुटबलप्रतिको चासो र महत्त्व बढाउन यस्ता प्रतियोगिताले विशेष योगदान पुर्‍याएको भन्दै कावा प्रमुख बेघाले प्रतियोगिता आयोजना गरेकोमा भेट्रान क्लबका सदस्यहरूलाई बधाई तथा धन्यवाद दिएका छन् ।
धरान–१६ स्थित रङ्गशालामा भएको उद्घाटन खेलमा धरान भेट्रान फुटबल क्लबका गणेश लिम्बुले खेलको १५औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि जनक सुनुवारले ३०औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए ।
यता,धरान भेट्रान क्लबका दिलीप बास्कोटाले ३०औँ मिनेटमै एक गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए ।
खेलको म्यान अफ द म्याच धरान भेट्रान फुटबल गणेश लिम्बु भए । उनले नगद १ हजार प्राप्त गरे । हाम्रो धरान भेट्रान कपको विजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीहरूमा धरान भेट्रान सुनसरी, मिल्स भेट्रान मोरङ, पूर्वेली भेट्रान झापा, हाम्रो इटहरी भेट्रान सुनसरी, भरौल भेट्रान भरौल, विराट भेट्रान मोरङ, हाम्रो धरान भेट्रान तथा बेलका भेट्रान बेलका रहेका छन् ।