धरान : महेन्द्र बहुमुखी क्याम्पस प्रशासनलाई स्वतन्त्र विद्यार्थी युनियनले आज मङ्गलवार ४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै बुँदाहरूमा उल्लेखित समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
स्ववियु सभापति प्रसान राई र सचिव पवन बस्नेतले हस्ताक्षरित गरेको स्ववियुको ध्यानाकर्षण पत्रमा विद्यार्थीहरूले दैनिक रूपमा भोगिरहेका समस्या समाधानमा प्रशासन गम्भीर नभएको आरोप लगाएको छ ।
कार्यालय खुलेको समयमा समेत विद्यार्थीहरूले सहज सेवा नपाएको, बीबीएस प्रथम वर्षको आन्तरिक परीक्षा समयमै सञ्चालन नभएको र क्याम्पस व्यवस्थापन प्रभावकारी बन्न नसकेको उल्लेख छ ।
पत्रमा भनिएको छ‘क्याम्पसमा विद्यार्थीमैत्री वातावरण कमजोर बन्दै गएको छ,गुनासोको सुनवाई गर्ने कार्यमा ढिलासुस्ती भइरहेको छ ।’ 
स्ववियुले समस्या समाधानकालागि तत्काल पहल गर्न आग्रह गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।