धरान : नेपालमा सङ्कटापन्न सुचीमा परेको दुर्लभ चरा रातो ढाडे पुष्प कोकिल इलामको कुटीडाँडामा भेटिएको छ ।

झापाका फोटो पत्रकार देवेन खरेलले चराको खोज अनुसन्धान तथा अध्ययनको क्रममा सो दुर्लभ चराको फोटो नेपालमै पहिलो पटक खिच्ने मौका पाएका हुन् । गत वर्ष यही सिजनमा इलामको रोङ गाउँपालिकाको कुटीडाँडामा रहेको पाथीभरा मन्दिरको आसपासको क्षेत्रमा रातो ढाडे पुष्प कोकिल नामको दुर्लभ चरा नेपालमा सङ्कटापनको सुचीमा परेको चरा भेटेको बताएका छन् ।

उनले यो चरा भेटेको १ वर्ष पछि मात्रै आफ्नो फेसबुक वालमा सार्वजनिक गरेका हुन् । नेपालमा दुर्लभ तथा सङ्कटापनको सुचीमा परेको चरा भेटेर पनि ढिलो गरी सार्वजनिक गर्नुको कारणबारे खरेलले आफूले थप त्यही चरा रातो ढाडे पुष्प कोकिलको अझ राम्रो तस्बिर खिचेर मात्रै सार्वजनिक गर्ने सोच गरेको थिए । तर पुनः यो भन्दा राम्रो तस्बिर खिच्न नसकेकोले पहिलेकै फोटो फेसबुकमा अपलोड गरेका हुन् ।

पछिल्लो ५ वर्ष देखि निरन्तर चराको खोज अध्ययन, अनुसन्धान र फोटोग्राफीमा लागिरहेका झापाको मेचीनगर काँकडभिट्टा देबेनले खिचेको चरा दक्षिण पूर्वी एसियामा पाइने रातो ढाडे पुष्प कोकिल नामको चरा नेपालमा भने नेपालका चराहरूको रातो तथ्याङ्क किताबका अनुसार सङ्कटापनमा परेको चराको सुचीमा परेको चरा भएको चरा विज्ञ डा. हेम सागर बरालले बताए ।

यो चरा नेपालको पूर्वी भेगको सुनसरी सम्ममा मात्रै अहिले सम्म देखिएको रेकर्ड रहेको डा. बरालले बताए । डा. बरालका अनुसार यो चरा सन् १९७६ मा धरानको पश्चिमी क्षेत्र धरान चतराको बिचको जङ्गलमा भेटिएको रेकर्ड छ । जुन समुन्द्र सतहबाट ३०५ मिटर को. उचाइमा भेटिएको थियो । त्यस पछि सन् १९७६ सालमा इलाममै २१३५ मिटर को उचाइमा फेला परेको रेकर्ड छ ।

त्यस पछि यो चरा नेपालमा चराविज्ञहरुले भेटेका थिएनन् । सन् २०१६ मा इलाममै पोखरा वर्ड सोसाईटीका मनसान्त घिमिरेले पनि देखेको बताएका छन् । उनले भने चराको फोटो खिच्न नपाएको बताए । उनले पनि यो चरा नेपालको सङ्कटापनको सुचीमा परेको दुर्लभ चरा भएको बताए ।

यसै गरी अर्का चराविद् सञ्जीव आचार्यले पनि देवेन खरेलले भेटेको चरा नेपालका लागि अति दुर्लभ चरा भएको बताए । उनका अनुसार चराविद् हथन चौधरीले धरान चतराको बीचको जङ्गलमा रातो ढाडे पुष्प कोकिल भेटेको आफूलाई जानकारी भएको बताए । चराविद् आचार्यका अनुसार यो चरा भँगेरा भन्दा केही सानो र फिस्टा चरा भन्दा ठुलो हुन्छ ।

अहिले सम्म यो चरा ३०५ मिटरको उचाइ देखि २१३५ मिटर सम्मको उचाइमा भेटिएको रेकर्ड छ । नेपालमा पाइने ८८६ प्रजातिको चराहरू मध्ये यो चरा अति नै दुर्लभ र सङ्कटापनको सुचीमा परेको चरा हो । नेपालको पूर्वी क्षेत्र सुनसरी जिल्लामा यो चरा देखिएकोले यो चराको पश्चिमी सिमाना सुनसरी भएको चरा विज्ञ सञ्जीव आचार्यले बताए । सुनसरी भन्दा पश्चिममा अहिले सम्म देखिएको र भेटिएको छैन ।

अहिले सम्म खरेलले करिब ४०० प्रजातिका चराहरूको तस्बिर खिचेका खरेलले नेपालमा नेपालका चराहरूको रातो तथ्याङ्क किताबका अनुसार सङ्कटापनमा परेको चराको सुचीमा रहेको यो चराको नेपालमा पहिलो पटक आफूले फोटो खिचेको दाबी गरेका छन् ।

Deven-Kharel
फोटो पत्रकार देवेन खरेल