इटहरी : विगत १ साता देखी इटहरीमा निजी कलेजका बिद्यार्थीहरुको आन्दोलन जारी छ ।
यस बिचमा ३ पटकको बैठक निष्कर्ष विहीन भएपछि पनि आन्दोलन जारी राख्ने उनीहरू बताउँछन् । निजी कलेजले लकडाउनको समयको समेत शुल्क लिएको भन्दै आन्दोलन गरेका उनीहरू शुल्क मिनाहा नभएसम्म आन्दोलन गर्ने तयारीमा छन् ।
बिहीबार इटहरी उपमहानगरपालिकाको सभा हलमा बसेको बैठकमा भने शुल्क बाहेक अन्य माग पुरा गर्न कलेज सञ्चालकहरू सहमत भए । तर बिद्यार्थीहरुले मुख्य मुद्दा नै शुल्क भएको भन्दै सहमत हुन नसक्ने धारणा राखे । शुल्कको विषय राष्ट्रिय मुद्दा भएकोले आफूहरूले निर्णय गर्न नसक्ने संचालकहरुको जिकिर छ । इटहरीको कस्तुरी कलेजबाट गत बुधवार सुरु भएको आन्दोलन अहिले ३ वटा कलेजमा फैलिएको छ ।
इटहरीको कस्तुरी, कोसी र विश्व आदर्श कलेजका विद्यार्थीले शुल्क मिनाहाको माग गर्दै कलेज प्रशासन देखी उपमहानगरपालिका कार्यालय समेत घेराउ गरिरहेका छन् । कलेजमा शिक्षकले अभिभावकलाई फोन गरेर टर्चर दिने र शुल्क तिर्न बाध्य बनाउने रणनीतिमा कलेज प्रशासन लागेको विद्यार्थीको आरोप छ ।
कलेज सञ्चालक तथा उपमहानगरपालिकाका अधिकारी सँगको छलफलमा समेत उनीहरूले कलेजले धेरै अत्याचार गरिरहेको धारणा राखे । “हामीले ६ महिना पढेर १२ महिनाको शुल्क तिर्नुपर्ने कुन कानुनमा उल्लेख गरिएको छ ? विश्व आदर्श कलेजका निमा तामाङले प्रश्न गर्दे भने, कलेजले हामी माथि गरेको अन्याय र अत्याचार अति भइसक्यो । अझै शुल्क मिनाहा भएन भने हामी आन्दोलन जारी राख्छौ ।”
उनकै भनाइमा सहमति जनाउँदै कस्तुरी कलेजकी विद्यार्थी गृष्मा रसाईलीले भनिन्, 'कलेजले नपढाएको समयको शुल्क मिनाहा गरेन भने अझै आन्दोलन जारी राख्छौ । सरहरूले बाहिर एउटा र भित्र अर्को कुरा गरेको कारण अहिलेसम्म सहमति नभएको हो । अहिले आएर हामीलाई धम्की दिन थाल्नु भएको छ ।'
१२ जना विद्यार्थी प्रतिनिधि सहितको बैठकमा इटहरी उपमहानगरपालिकाले सहकार्यको भूमिका निर्वाह गरेको थियो । २ घण्टा लामो छलफल शुल्कको विषयमा कुरा नमिलेपछि बिना निष्कर्ष टुङ्गिएको थियो । कलेजमा भएका दुर्व्यवहारमा कलेजमा बसेर छलफल गर्ने र गाडी चलेको महिनाको मात्र शुल्क लिन आफूहरू सहमत रहेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) का सचिव सागर भट्टराईले बताए ।
शुल्कको विषयमा इटहरी उपमहानगर शिक्षा महाशाखाका प्रमुख सूर्य सुवेदीले असोज महिना देखीको मात्र शुल्क लिन निर्णय गरेको बताए । उनले निर्णय सुनाउने बित्तिकै सुस्मा कलेजका सञ्चालक बोधराज नेपाल र हिसान अध्यक्ष मुकुन्द घिमिरे बाहिरिएका थिए ।
उनीहरू बाहिरिए पछि बिद्यार्थीहरु थप आक्रोशित भए । स्थानीय तहले कुनै पनि समन्वय नगरीकन निर्णय गरेको कुरा मान्य नहुने हिसानका पदाधीकारीहरुको तर्क छ ।
विद्यार्थीको मुद्दामा एकबद्धता जनाउँदै नेकपा एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियुले बैठकमा सहभागिता जनाएका थिए । बैठकमा बोल्दै युवासंघका नेता होमनाथ धमलाले विद्यार्थीलाई हतोत्साही बनाउने र मानसिक यातना दिने काममा निजी कलेज लागेको बताए ।
यदि शुल्क मिनाहा भएन भने हिसानको कार्यालयमा आफैले ताला लगाउने चेतावनी दिए । सामाजिक उत्तरदायित्व अन्तरगतको १० प्रतिशत छुट नदिएको दाबी गर्दै उनले अब एक एक हिसाब गरिने धारणा राखे ।
त्यस्तै अनेरास्ववियु जनता बहुमुखी क्याम्पसका अध्यक्ष उज्वल सिग्देलले विद्यार्थी आन्दोलनको औचित्य छैन भन्ने हिसानले आन्दोलन स्वीकार गरेको बताए । केही माग पुरा भएका र बाँकी मुख्य मागमा थप आन्दोलन जारी राख्ने उनको भनाई छ ।
हिसान सुनसरीले भने गत आइतबार नै आन्दोलनको कुनै औचित्य नभएको प्रस्ट पारेको थियो । सुनसरी वा इटहरीमा मात्र फरक नियम लागु गर्न नसकिने भन्दै आन्दोलन गरेर आफ्नो भविष्य बरबाद नपार्न बिद्यार्थीहरुलाई हिसानले आग्रह गरेको थियो ।