धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.विजय श्रीवास्तव र बाल रोग विशेषज्ञ डा.लोकराज शाह प्रतिष्ठानको नियम उल्लङ्घन गर्दै निजी अस्पताल सञ्चालनमा संलग्न रहेको पाइएको छ ।

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको चाप बढिरहेको छ । तर जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका डा. श्रीवास्तव र बाल रोग विशेषज्ञ डा.शाह निजी क्लिनिक सञ्चालनमा संलग्न भएको हुन । उनीहरू धरान-८ स्थित धरान सिटी हस्पिटलमा दोहोरो जागिर खाइरहेका छन् ।

बिरामी कुरुवाहरूले प्रतिष्ठानको इमर्जेन्सीमा डाक्टर नभेटिएको गुनासो गरेका गर्दै आएका छन् तर डाक्टरहरू भने निजी क्लिनिकमा व्यस्त रहँदा इमरजेन्सीमा नर्स र इन्टर्नका जुनियर डाक्टरको भरमा चल्ने गरेको कुरुवाहरूको गुनासो छ ।

डाक्टर वीपीका, निजी अस्पतालमा ओपिडी प्रमुख

जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका डा. श्रीवास्तव र बाल रोग विशेषज्ञ डा.शाह गतवर्ष देखी नै सिटी हस्पिटलमा संलग्न रहेको बुझिएको छ । डाक्टर वास्तवले सिटी हस्पिटलमा ओपिडी सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालका श्रोतले बताएको छ । उनी दिउँसो ३ बजे देखि ५ बजे सम्म सिटी हस्पिटलमा बस्दै आएका छन् ।

सिटी हस्पिटल वीपी प्रतिष्ठानकै कर्मचारी र डाक्टरहरूले सञ्चालनमा ल्याएका हुन । सिटी हस्पिटलमा बिरामी रियान कटुवालका बुवाले भने ‘बच्चा बिरामी भएकोले डा. विजय श्रीवास्तवलाई देखाएर आएको हुँ ।’

अर्का बिरामी कुरुवा रञ्जीता सुनुवारले पनि डा. श्रीवास्तवले आफ्नो बिरामी जाँच गरेको बताइन् । उनले भनिन् ‘पहिले देखि नै यहीँ सिटी हस्पिटलमा नै फलोअपमा देखाउँदै आएको छु ।’

अर्का बिरामीका कुरुवा विनोद विश्वकर्माले विगत ४ महिना अगाडी आमा र बच्चालाई देखाएको बताए । उनले बच्चा र आमालाई बाल रोग विशेषज्ञ डा.लोकराज शाह र विजय श्री वास्तवलाई नै देखाएको बताए ।

वीपीका डाक्टरको दोहोरो कमाई   

वीपी प्रतिष्ठानमै पूर्णकालीन सेवामा रहेका डाक्टरद्वयले प्रतिष्ठानको ड्युटी समय मै क्लिनिक आवत-जावत गर्ने गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ अनुसार प्रतिष्ठानका शिक्षक वा कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित कामबाहेक प्राइभेट प्राक्टिस, ट्युसन वा कुनै वैतनिक-अवैतनिक काम गर्न नपाउने व्यवस्था छ ।

तर, डाक्टरद्वयले वीपी प्रतिष्ठान र निजी अस्पतालमा संलग्न रहेर उक्त प्रावधान उल्लङ्घन गर्दै दोहोरो डाक्टरी पेशालाई दोहोरो कमाई गर्ने माध्यम बनाएका छन् ।

प्रमाणित भएमा कारबाही गर्छौं :  रजिष्ट्रार 

प्रतिष्ठानका रजिष्ट्रार सूर्य प्रसाद सङ्ग्रौलाले कानुन विपरीत कार्य गर्ने जो केहीलाई नियम बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताए । उनले भने ‘सीमित व्यक्तिहरूले व्यक्तिगत स्वार्थ लिइरहेका छन् तर सबै डाक्टर, प्रोफेसर त्यस्ता छैनन् ।’

केही डाक्टरहरूले प्रतिष्ठानको नियम विपरीत कार्य गरिरहेको थाहा छ, भन्न कसैले सकिरहेका छैनन् यदि प्रमाणित भए कानुन बमोजिम सबैलाई कारबाही गर्छौँ’ उनले भने।

डा. श्री वास्तवको भनाई 

वीपी प्रतिष्ठानका डा.विजय श्रीवास्तवले निजी अस्पतालमा संलग्न रहेका अस्वीकार गर्दै भने ‘साथीका कारण साथी भेट्न मात्र गएको थिएँ, अहिले गाको छैन ।’ उनले फोनमा आफू बिपीको इमर्जेन्सी कन्सल्टेन्ट भएकाले बाहिर संलग्न हुने समय नहुने बताए ।

डाक्टर लोकराजसँग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन