धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले दल दर्ता गरी विधिवत् राजनीतिक दल दर्ता प्रमाण पत्र प्रदान गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४ र ५ बमोजिम कात्तिक १६ गतको मितिमा पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता भएको प्रमाणपत्र दिएको हो ।

निर्वाचन आयोगको प्रमाणपत्रमा पार्टीको केन्द्रीय कार्यालयको ठेगाना काठमाडौँ महानगरपालिका वडा नं. ४ रहेको छ । धरानका नगर प्रमुख साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा राखिनु पार्टी प्रदेशको दायरामा मात्र सीमित नराख्ने सङ्केत भएको अनुमान गरिएको छ ।

ऐनको दफा ५ को खण्ड (घ) मा नयाँ दल दर्ता हुन ‘कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरूको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपि सहितका हस्ताक्षर’ हुनुपर्ने उल्लेख छ ।

साथै खण्ड (ङ) मा खण्ड (घ) बमोजिम प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी उद्घोषण पत्र संलग्न हुनुपर्ने उल्लेख छ ।

harka-dal