धरान : मगर समुदायले आफ्नो मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका उद्देश्यसहित शनिवार धरान-१० स्थित सैनिक भवनमा सामूहिक 'हुर्रा नाच’ प्रदर्शन गरेका छन्।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि धरान उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानलाई सबै जातजाति,धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहरका रूपमा परिचित रहेकाे बताए।

बेघाले भने 'धरान अरू शहरभन्दा बेग्लो हो। यहाँ सबै जातजाति मिलेर संस्कार र संस्कृतिको सम्मान गर्दै सहकार्यका साथ अघि बढिरहेका छन्,।' उनले धरानको अस्तित्व र इतिहासलाई जीवन्त राख्न सांस्कृतिक पहिचान संरक्षण र समुदायको विकास प्रवर्द्धनमा एक भएर लाग्नुपर्नेमा जोड दिए।

'हुर्रा नाच हाम्रो समुदायको मौलिक चिनारी हो' : अध्यक्ष चित्र थापा मगर

अध्यक्ष थापा मगरले भने “हुर्रा नाच हाम्रो समुदायको मौलिक सांस्कृतिक चिनारी हो। यसलाई जोगाएर पुस्ता हस्तान्तरण गर्नु प्रमुख जिम्मेवारी हो।”उनले हरेक वर्ष धरानमा सामूहिक नाच प्रदर्शनमार्फत मौलिक परम्परालाई निरन्तरता दिइँदै आएको उल्लेख गर्दै संस्कार र संस्कृतिको आदान–प्रदानलाई “रातो किताबमा अङ्कित गर्न” धरान उपमेयर बेघालाई आग्रह गरे।

मगरका अनुसार हुर्रा नाचको उद्गमस्थल नेपालको पूर्वी पहाडी भूभाग  हालको चौबिसे गाउँपालिका  हो। धनकुटाको दक्षिणी क्षेत्र, मोरङको लेटाङ–केराबारी, र धरान–४, ५, ६ का मगर समुदायबिच यो नृत्य विशेष रूपमा लोकप्रिय रहेको उनले बताए।  मगरले 'हुर्रा नाचजस्ता सामूहिक नृत्यहरूले हराउँदै गएको मौलिक परम्परालाई पुनर्जीवन दिन्छ र युवा पुस्तामा गर्व र मोह जगाउँछ।,'  सांस्कृतिक निरन्तरताको उत्सव देउसीको अवसर पारेर तिहारको अघिल्लो दिनदेखि पूर्णिमाको अघिल्लो दिनसम्म सामूहिक रूपमा हुर्रा नाच नाच्ने परम्परा रहेको बताए ।

शहरीकरणको प्रभावले समुदायहरू साना समूहमा सीमित भइरहेका बेला सामूहिक रूपमा गरिएको यस प्रदर्शनले स्थानीय मगर समुदाय र युवा पुस्तालाई एकत्रित गरेको आयोजक समितिले जनाएको छ।

कार्यक्रमको आयोजना नेपाल मगर सङ्घ धरानउपमहानगर समितिले गरेको हो।कार्यक्रमको प्रमुख अतिथि रहेका उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ भने कार्यक्रममा अनुपस्थित रहे सँगै प्रमुखलाई ईङित गर्दै अध्यक्ष मगरले नगरप्रमुख आफ्नो अनुकूल समयमामात्र उपस्थित हुने तर अहिले उपस्थित नहुने बताए ।

कार्यक्रमको अध्यक्षता नेपाल मगर सङ्घ धरानका अध्यक्ष चित्र थापा मगरले गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेपाल मगर सङ्घका केन्द्रीय महासचिव शारदा थापा मगर,उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठ लगायत विभिन्न जातीय सङ्गठनका पदाधिकारीहरू सहित पाहुना टोलीसहित स्थानीय मगर समुदायका युवा पुस्ताको उपस्थिति रहेको थियो।

hurrra-12

hurraa-dance-Kapurinews

hurra-dance-KapuriNews2