इटहरी  :  शिक्षाको प्रमुख उद्देश्य विद्यार्थीभित्र लुकेका प्रतिभाको पहिचान र प्रस्फुटन गर्नु हो भन्ने मान्यताका साथ इटहरी-१ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले यो वर्षदेखि सुरु गरेको ‘राष्ट्रिय मावि आइडल’ प्रतिस्पर्धाको क्वाटरफाइनल चरण सम्पन्न भएको छ।

मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट गायन, नृत्य र साहित्य तीनै विधामा गरी २७ जना विद्यार्थी सेमिफाइनलका लागि छनोट भएका छन्।

गायनतर्फ १७ जनामध्ये ११ जना, नृत्यतर्फ १४ जनामध्ये ६ जना र साहित्यतर्फ १५ जनामध्ये १० जना विद्यार्थी चयन भएको विद्यालयका दिवा सत्रका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक युवराज काफ्लेले जानकारी दिए। उनका अनुसार सेमिफाइनल चरण कार्तिक २८ गते र फाइनल प्रतिस्पर्धा मंसिर १२ गते विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा हुनेछ। विद्यालयले वार्षिकोत्सव हरेक वर्ष मंसिर १३ गते मनाउने गर्छ।

क्वाटरफाइनल चरणको कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष कोविदजंग कार्कीको प्रमुख आतिथ्यतामा र प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।

सो अवसरमा अध्यक्ष कार्कीले विद्यालयको वार्षिक नीति तथा कार्यक्रममा समावेश ‘प्रतिभा पहिचान कार्यक्रम’ कार्यान्वयनमार्फत विद्यार्थीमा आत्मविश्वास र सिर्जनात्मकता विकास भएको बताए। प्रधानाध्यापक बस्नेतले इटहरी क्षेत्रका सामुदायिक विद्यालयहरूबीच पहिलोपटक यस्तो आइडल प्रतिस्पर्धा आयोजना गरिएको बताए।

कार्यक्रममा विद्यालयका सूचना अधिकारी तथा सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले स्वागत मन्तव्य राखेकी थिए ।