धरान : केन्द्रीय प्राविधिक क्याम्पस, हात्तीसार सञ्चालक समितिको शनिवार भएको बैठकले विद्यार्थीको माग सम्बोधन नभएको भन्दै आइतबारदेखि स्ववियु स्ववियु सभापति पेशल राज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राई विद्यार्थीका ६ बुँदे माग सहित धर्नामा बसेका छन् ।
स्ववियु सभापति सञ्चालक समितिमा पदेन सदस्य रहने व्यवस्था छ । सभापति कार्कीका अनुसार बेठकमा विद्यार्थीहरूको माग राखिएता पनि चित्त बुझ्दो सम्बोधन भएन ।
दुवै जना क्याम्पसको मुख्य गेटअगाडि धर्नामा बसेका हुन । उनीहरूले माग पूरा नभएसम्म प्रत्येक दिन बिहान ११ देखि दिउँसो १२ बजेसम्म धर्ना जारी राख्ने जनाएका छन् ।
सभापति कार्कीले प्रस्तुत गरेको माग पत्रमा क्याम्पसले त्रिभुवन विश्वविद्यालयको निर्देशिका मान्ने कि स्वायत्तताको निर्देशिका भन्ने स्पष्ट पार्नुपर्ने, स्वायत्त बनेपछि प्राप्त अनुदान तथा आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
क्याम्पस प्रशासनका सबै बैठक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने, प्रशासनका पदाधिकारीहरू कार्यालय समयमा उपस्थित हुने निश्चित समय सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
परीक्षामा उत्तीर्ण सङ्ख्या घट्दै जाँदा विद्यार्थी कोटा किन थपिएको हो स्पष्ट गरिनु पर्ने माग गरिएको छ । विद्यार्थीको स्वास्थ्य बीमाका लागि ५०० रुपैयाँ शुल्क लिए पनि बिमा नगरिएकोले उक्त रकम बारे जानकारी माग गरिएको छ ।
क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राईले भने ‘विद्यार्थी स्टेकहोल्डर हुन,जायज माग भए तुरुन्त सम्बोधन गर्छु ।’ माग पत्र आधिकारिक रूपमा आएपछि छलफल गरी समाधानका उपाय खोजिने उनको भनाई छ । क्याम्पसले पारदर्शी प्रशासन र विद्यार्थी अनुकूल नीति ल्याउन तयारी गरिरहेको उनले बताए ।


































































