आज निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हो । यो दिवस हरेक वर्ष जून, ४ तारिखका दिन भव्यताका साथ मनाइन्छ। जन्म पूर्व र जन्मेपश्चात् बालबालिकाको आधारभूत आवश्यकता एवं मौलिक हकको व्यवस्था हुनु गर्नु खराउनु नै बाल अधिकार हो । यी अधिकारहरू सुनिश्चित गर्ने दायित्व अभिभावक र वयस्क नागरिकको हो । बालबालिका भोलिका कर्णधार हुन्। आज जति उनीहरूलाई योग्य बनाउन सकिन्छ, भविष्यमा त्यति नै देशले उचित नेतृत्व पाउँछ । किन भने धतुरो रोपेर आँपको आस गर्नु मूर्खता हो। काँचो माटोलाई जता मोडो त्यतै मोडिन्छ। सोही बालबालिकामा पनि लागु हुन्छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सकारात्मक वातावरणले बालकको जीवनमा एक कुशल कुमालेको भूमिका खेली रहेको हुन्छ र यस आवश्यक कानुन बनाउने र वातावरण तयार गर्ने उत्तरदायित्व राज्यको हो। बालबालिका ऐन, २०७५ अनुसार १८ वर्षमुनिका व्यक्ति बालबालिका हुन्।
बालबालिका कलिला, अपरिपक्व, निर्दोष, अबोध एवम् परनिर्भर हुन्छन् । बालबालिकाको मनोवैज्ञानिक अवस्था वयस्कको भन्दा फरक हुन्छ। हामीलाई सामान्य लाग्ने कुराले बालबालिकामा गहिरो सकारात्मक तथा नकारात्मक प्रभाव पार्न सक्छ। बालबालिकाहरूका लागि भनेर मनाइने यो दिवस उनीहरू विरुद्ध हुने अत्याचार र हिंसा विरुद्ध मनाइन्छ।
कुरा, व्यवहारको शैली र संवेग कच्चा हुन्छ, जसलाई हामी बालापन भन्छौँ । बालापनको अवस्था र क्षमताको पहिचान एवं सम्मान गर्नु बाल अधिकारको विशिष्ट अवधारणा हो ।बालबालिकाले अनौपचारिक र औपचारिक शिक्षा स्वास्थ्य र स्वच्छ वातावरणमा पाउनु पर्ने उनीहरूको विकासको अधिकार हो। कसैले बालबालिकालाई धूम्रपान, मद्यपान वा जुवा, तास जस्ता कुलतमा संलग्न गराउने, बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्जन स्थलमा प्रवेश गराउने वा प्रयोग गराउने, घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोट पटक वा असर पुर्याउने, आतङ्कित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्लाउने वा मानसिक पीडा दिने, राजनीतिक प्रयोजनका लागि सङ्गठित गर्ने वा, हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने,जबरजस्ती अनाथ घोषणा गर्ने वा अनाथको रूपमा दर्ता गराउने, जादु वा सर्कसमा लगाउने,बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने, प्रचलित कानुन विपरीत बालबालिकाको अङ्ग झिक्ने, औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गर्ने,यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने इत्यादि कुराहरू निर्दोष बालबालिका माथि गरिने अत्याचार हुन्। यसरी बालबालिका माथि हुने अत्याचार हिंसा अन्त्य गर्न सचेतना कार्यक्रम र यस विरुद्ध कानुन थप कडा बनाई साथ लागु गर्नु पर्दछ।