धरान : कोरोना महामारीको प्रत्यक्ष असरले अन्य सबै क्षेत्रमा झैँ पत्रकारिता क्षेत्रलाई पनि नराम्ररी गाँजेको छ ।
अझ मोफसलमा बसेर सानो लगानीमा सञ्चालन गरिरहेका सचारगृहहरु मध्ये ९० प्रतिशत छापा सञ्चार माध्यमहरू कोरोनाकै कारण बन्द भएका छन् । त्यसै गरी पत्रकारिता क्षेत्रको लागी पूर्वको उर्वर भूमि भनेर चिनिने धरानका सञ्चारगृहहरु पनि कोरोना कहरको कारण आर्थिक समस्या उत्पन्न भई ६० प्रतिशत बन्द भएका छन् ।
आर्थिक अभावका कारण लकडाउन पछि औजार दैनिक, फास्ट टाइम्स दैनिक र मर्निङ टाइम्स बन्द भएका छन् । पत्रकारिता नै भविष्य हो भनेर काम गर्दै गरेका दिपेश राई औजार पत्रिका बन्द भएपछि बेरोजगारी झैँ बने पछि थप विकल्प रोज्नु परेको उनी बताउँछन् । मर्निङ टाईम्स पनि बन्द भएपछि पत्रकार सङ्गम विष्टले पनि एउटा रोजगारी गुमाएका हुन् ।
बाल पत्रकार देखि सक्रिय युवा पत्रकार जन्माउने सहरको रूपमा धरानले परिचय बनाएको छ । काठमाडौँ पछि पत्रकारिता क्षेत्रको उर्वर भूमि मानिँदै आएको धरानमा झन्डै डेढ सय जना पत्रकारहरूले पत्रकारिता पेसा अपनाएर काम गरिरहेका छन् ।
ती मध्ये पनि धरान कर्मथलो बनाएका राजधानीका विभिन्न राष्ट्रिय पत्रपत्रिका, अनलाइन, टेलिभिजन र रेडियोहरूमा पनि राम्रो छवि बनाएर काम गरिरहेका पत्रकारहरूको सङ्ख्या पनि उल्लेखनीय रहेको छ ।
स्थानीय विकाश निर्माण देखि अपराध तथा भ्रष्टाचारका मुद्दाहरुमा निर्भीक भएर कलम चलाउने धरानका पत्रकारहरूले आर्थिक सङ्कटको सामना त गर्नु परेको छ,त्यस बाहेक बेलाबेलामा समाजका उश्रृखल तत्त्वहरूबाट गाली गलौेज र शारीरिक, मानसिक हिंसाको सिकार पनि बन्दै आएका छन् ।
केही राम्रा सचारकर्मीहरुले त पत्रकारितामा निरन्तर घाटा खानु परे पछि यो पेसा नै परिवर्तन गरी अन्य पेसा अपनाउनु बाध्य भएको उदाहरण पनि भेटिन्छन् । आर्थिक सङ्कट तथा कोरोनाको कारण हाल प्रकाशन बन्द गर्नु परेका फास्ट टाईम्स दैनिकका सम्पादक तथा प्रकाशक केशव घिमिरेको तितो अनुभव यस्तो छ ।
पहिलो लकडाउनमा नै पत्रिका प्रकाशनमा आर्थिक सङ्कट भयो भने दोस्रोमा झन् गाह्रो भएकाले पत्रिका पूर्ण रूपमा बन्द गर्नु पर्यो । अहिले पुस्तकहरू सम्पादनमा गर्दे बसिरहेको छु । अब नयाँ व्यापार गर्ने योजना रहेको उनी बताउँछन् ।
धरान उपमहानगर पालिकाको सहयोग ,हात्तीको मुखमा जिरा
पत्रकारिता क्षेत्रमा हेर्दा साना देखिने तर ठुलो समस्या निम्त्याउने विषयलाई न्यूनीकरण गर्नका लागि स्थानीय सरकारले जति भूमिका खेल्नु पर्ने थियो त्यति नगरेको धरानका अग्रज पत्रकार हर्ष सुब्बा बताउँछन् ।
उनी भन्छन् –नियमित रूपमा प्रकाशन हुने पत्रपत्रिका अनलाइनलाई धरान उपमहानगरपालिकाले केही वार्षिक रूपमा सहयोग गरे पनि बन्द भएका पत्रपत्रिकालाई किन बन्द भए भनेर सोधपुछ गरी पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्नु पर्ने देखिन्छ ।
स्थानीय खबर स्थानीय जनताले जान्न खोज्छन् । राष्ट्रिय पत्रिका अनलाइनमा साना तिना खबरले स्थान पाउन मुस्किल पर्छ त्यसैले स्थानीय पत्रपत्रिका ,रेडियो , टेलिभिजन र पत्रिकालाई नै स्थानीय सरकारले हेर्नु पर्छ भन्ने तर्क सुब्बा गर्छन् ।
धरान उपमहानगरपालिकाले गत वर्ष देखि स्थानीय सञ्चार क्षेत्रलाई पनि आर्थिक रूपमा सहयोग गर्न सुरु गर्यो तर, यो भने पर्याप्त देखिदैन् । यस क्षेत्रका लागि आर्थिक सहयोग झन् आकासिँदै जानु तर, बजेट शून्य हुँदै जानुको मुख्य कारण लकडाउन रहेको उपमहानगरपालिकाले दाबी गरेको छ ।
धरान उपमहानगरको सूचना तथा सञ्चार शाखाले दिएको जानकारी अनुसार अनलाइनतर्फ क्लिक धरान, कपुरी न्युज र कोशी पोष्ट दर्ता बमोजिम सञ्चालन भएका छन् । टेलिभिजनतर्फ कृति र स्पेस टाईम्स रहेका छन् । एफ.एम गणतन्त्र, दन्तकाली, हार्ट, रेडियो धरान, विजयपुर एफ.एम रहेका छन् ।
दैनिक पत्रिकामा ब्लाष्ट, कोशी पत्र, र औजार,मर्निङ टाइम्स र फास्ट टाईम्स रहेका छन् । साप्ताहिक पत्रिका तर्फ विश्वस्त सूत्र, महाप्रतिवाद,प्रबोध, एक्सन टाईम्स, विजयपुर, पूर्व टाईम्स, धरान साप्ताहिक, हाम्रो कोशी आवाज र दिव्य रोशनी रहेका छन् । आर्थिक अभावका कारण लकडाउन पछि औजार दैनिक पत्रिका, फास्ट दैनिक र मर्निङ टाइम्स बन्द भएका हुन् ।
धरान उपमहानगरपालिकाले गत आर्थिक वर्षमा अनुसन्धानमूलक लेखनबृत्ति(फेलोसिप), जनतासँग मेयर कार्यक्रम, पत्रकारिता पुरस्कार,पत्रकार क्षमता विकास कार्यक्रम लगायत १७ वटा शिषर्कका लागि ५० लाख बजेट विनियोजन गरेको थियोे ।
तर, चालु आर्थिक वर्ष २०७७/७८ मा भने गत वर्षकै सञ्चार नीतिलाई आधार मानेर ३० लाख मात्र बजेट छुटाएको छ । उपमहानगरपालिकाको स्थानीय सञ्चार नीति अनुसार दैनिक पत्रिकाहरुलाई गत आर्थिक बर्ष ७६÷७७ मा वार्षिक रूपमा १ लाख, साप्तिाहिकलाई ४५ हजार, एफ.एमलाई ४१ हजार, टेलिभिजनलाई ७५ हजार र अनलाइनलाई १५ हजार भुत्तानी गर्ने गरेको थियो ।
चालु आर्थिक वर्षको बजेट कम भएपछि दैनिक पत्रिकाहरूलाई ६३ हजार ६ सय, साप्ताहिकलाई ३६ हजार ९ सय, एफ.एमलाई ३३ हजार ८ सय ५०, टेलिभिजनलाई ६१ हजार ५ सय र अनलाइनलाई १२ हजार ३ सय भुक्तानी गर्ने गरी बजेट विनियोजन गरेको छ ।
सो रकम प्राप्त गर्न सञ्चारमाध्यमले उपमहानगरपालिको जनचेतनामूलक तथा सूचनामूलक सन्देशहरू प्रकाशन गर्नु पर्ने सर्त राखिएको छ । “हुन त सचारमाध्यमको खर्च हेर्दा यो रकम हात्तीको मुखमा जिरा सरह हो । तर ,पनि नहुनु मामा भन्दा कानो मामा निको भने झैँ यसले भरथेग चाहिँ गरी दिन्छ यो पनि स्थानीय सरकारले गरेको ठुलो सहयोग मान्नु पर्छ भन्छन् विजयपुर अनलाइनका सम्पादक देवेन्द्र कार्की ।
यसरी गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तथ्याङ्क हेर्दा दैनिक पत्रिकाले पाउने बजेटगत वर्षको बजेट भन्दा चालु वर्षको बजेट विनियोजन २६.४ प्रतिशतले घटेको छ । कोरोनाका कारण आउने वर्षमा यस क्षेत्रको लागि झन् बजेट घट्ने सम्भावना रहेको उपमहानगरले बताए पछि पत्रकारहरूमा निराशा छाउनु स्वाभाविक हो ।
पत्रकारितामा बेरोजगारको समस्या
कुनै वेला दक्ष सचारकर्मीहरुको अभावमा सञ्चार गृहहरूलाई जनशक्तिको ठुलो समस्या पर्ने गर्थ्यो । तर अहिले ठिक उल्टो परिस्थिति सृजना भएको छ ।
जनशक्ति भए पनि कोरोनाको कारण सचारगृहहरु आर्थिक सङ्कटका कारण अधमरो अवस्थामा रहेकोले पारिश्रमिक दिएर राख्न सकिरहेका छैनन् । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट पत्रकारिता विषयमा अध्ययन गर्ने १ सय बढी पत्रकारिता विषयका विद्यार्थी वर्षेनी उत्पादन हुन्छन् । तर, उनीहरूको रोजगार हुन नसक्नु पनि एउटा ठुलो समस्या भएको र पत्रपत्रिका विषय किन पढेको भन्ने निराशा पैदा भएको पत्रकारिता पढ्दै गरेकी विद्यार्थी नमिता राई बताउँछिन् ।
यस्तै आम सञ्चार विषयमा स्नातक गरिरहेकी सृजना राई भन्छिन्–अन्य उपत्यकामा कलेजमा नै रेडियो,क्यामरा हुन्छ तर, धरानमा हामी विद्यार्थी धेरै छौ र प्रयोगात्मक परीक्षाको आफ्नै कलेजमा रेडियो क्यामरा नहुँदा सधैँ समस्या हुने गरेको बताउँछिन् ।
आम सञ्चार तथा पत्रकारिताका शिक्षक किशोर थुलुङ किताब अनुसार विद्यार्थीलाई रेडियो मार्फत पढाउनु पर्ने तर, रेडियो अभावका कारण कापीमा मात्र रेडियो यस्तो हुन्छ भनेर पढाउन बाध्य भएको उनी बताउँछन् ।
यसका लागि नगरपालिकालाई अपिल गर्दा पनि सहयोग प्रति उपमहानगरले चासो नदेखाएका कारण भविष्यका कर्णधार मानिने विद्यार्थीको भविष्य माथि छड्के प्रहार भएको उनको भनाई छ ।
लेखनवृति कार्यक्रमले पत्रकारहरूमा उत्साह
स्थानीय पत्रकारहरूलाई प्रोत्साहन गर्नको लागी तत्कालीन धरान उपमहानगरपालिकाले ४ वर्ष अधि देखि नेपाल पत्रकार महासङ्घको समन्वयमा फिचर लेखनवृति कार्यक्रमको सुरुवात गरेको थियो ।
नगरपालिकाको वार्षिक योजनामा नै बजेटको विनियोजन गरी सो कार्यक्रम संचालन हुँदै आएको छ । एक वर्षमा झन्डै १५ जना पत्रकारहरूले सो कार्यक्रममा भाग लिन पाएका छन् ।
स्थानीय अखबारमा स्थानीय विषयवस्तुलाई समेटेर लेख्नु पर्ने सो लेखनवृति कार्यक्रमले पत्रकारहरूलाई प्रोत्साह थपेको कुरा पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष अमर खड्का बताउँछन् । उनले धरानले यो कार्यको थालनी गरेपछि सुनसरीका अन्य नगरपालिका र गाउँपालिकाले पनि सुरु गरेको उनको भनाई छ ।
कोशी पत्र दैनिकका समाचार सम्पादक गोविन्द बस्नेत भन्छन्–महासङ्घका पूर्व अध्यक्ष अमर खड्काको पालादेखि सक्रियताका साथ सुरु गरिएको फेलोसिप २ वर्ष भएको छ । अहिले पनि महासंघले यही कार्यलाई निरन्तरता दिँदै फेलोसिप आयोजना गरेको उनले बताए ।
क्लिक धरान डटकममा सम्पादक रोहित राई भन्छन् –धरान उपमहानगरपालिकाको सहयोग र महासङ्घको सहकार्यमा स्थानीय विषय उठान गरेर फिचर तयार पार्दा पत्रकारले छानेको विषय बस्तु राम्रो सँग बुझ्ने, विषयवस्तु उठान गर्न सिकिने, संकलन गरिएका सूचना कहाँ प्रस्तुति गर्ने, तथ्याङ्क कसरी केलाउने र फिचर लेखनले क्षमताको परिष्कृत गर्नुका साथै पत्रकारलाई आर्थिक सहयोग भएको बताउँछन् ।
उपमहानगरपालिकाले स्थानीय सञ्चारलाई गत वर्ष देखि छुटाएको राशि सुरुवात हो भने यसले पर्याप्त नहुने भएकाले राशि बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।
सञ्चार क्षेत्रको हक हितको लागि बजेट बढाउँदै लानु पर्ने तर, बजेट घटेका कारण बन्द भएका पत्रपत्रिकाले पनि पुन काँचुली फेर्न नसक्ने अवस्था भएको पत्रकार महासङ्घका अध्यक्ष जनकऋषी राई बताउँछन् ।
उपमहानगरपालिकाको सञ्चार क्षेत्र बिच अन्योन्याश्रित नाता रहेको हुँदा उपमहानगरपालिकाले सञ्चार सम्बन्धी नीति परिवर्तन गरी स्थानीय सञ्चारको लागि थप बजेट विनियोजन गर्नु पर्ने उनको सुझाव छ ।
तर पत्रकारिता एक स्वतन्त्र पेसा तथा आफ्नै आचार संहिताको परिधिमा रहेर कलम चलाउनु पर्ने भएकोले स्थानीय निकायहरूले दिएको यस्ता लेखनवृति कार्यक्रमहरूले पत्रकारहरूलाई दाता संस्था प्रति नतमस्तक हुनु पर्ने प्रवृत्ति त सिकाउँदैनन् भन्ने कुरामा पनि महासङ्घ र स्वयम पत्रकारहरू सजग हुनु पर्ने जरुरी छ भन्छन् महासङ्घका पूर्व सभापति आनन्द श्रेष्ठ ।