बराहक्षेत्र : बराहक्षेत्र-७ की सावित्रा तामाङलाई गाउँ घरमा कोरोना भित्रिएको सूनेरै डर लाग्थ्यो । झन् कोरोना लागेर आइसोलेसन जान पर्छ भनेको सुन्दै सातो जान्थ्यो ।
तर अन्तिममा आफैँलाई कोरोना सङ्क्रमण भएपछि घरमा अरूलाई नि सर्ने भो भनेर डराई डराई चक्रघट्टी आइसोलेसन जान बाध्य भइन् । मनभरी अनेकौ कुरा खेलाउँदै आइसोलेसन पस्दा अलि चिन्तित हुईदो रहेछ तामाङको अनुभव छ । तर भित्र त्यत्रा विधि मान्छे नडराई बसेको देख्दा र उनीहरूलाई भेटेर उनीहरूको त्यहाँ बस्दाका अनुभव सुनेर मन निक्कै हल्का भएको उनलाई महसुस भयो ।
गाह्रो हुँदा र स्वास्थ्यमा असर पर्नासाथ औषधी दिने , मनोबल उच्च बनाउनका निम्ति स्वास्थ्य परामर्श दिने लगायत मनोरञ्जनात्मक कुराहरू गर्ने , दैनिक स्वास्थ्य अवस्था बारे सोधपुछ गरिरहने खालका पक्षले आइसोलेसन प्रतिको उनको डरलाई परास्त भइसकेको थियो ।
मास्क र सेनिटाईजर जस्ता आवश्यक स्वास्थ्य सामाग्री दिने , सरसफाइलाई मध्यनजर गरी लुगा कपडा धुनका लागि साबुन नुहाउनका लागि स्याम्पु प्रदान गर्ने , पोसिलो खानपानको व्यवस्था गरिदिँदा आइसोलेसन प्रति आफू एकदम सन्तुष्ट भएको उनी बताउँछिन् ।
एक हात नभएका र अर्को हातको नि औँला नभएका बराहक्षेत्र नगरपालिका-२ चतराका परशुराम अधिकारीलाई कोरोना सङ्क्रमण भएको पत्ता लागेपछि त निकै गाह्रो र असहज स्थिति सृजना भएको थियो ।
आफू शारीरिक रूपमा अशक्त पनि रहेको र त्यहाँ माथि कोरोना सङ्क्रमण पुष्टी भएसँगै आफ्नो आफन्त इष्टमित्रले छि छी दूर दूर गर्दा साह्रै नराम्रो लागेर मनमा अनेक किसिमका पिडाहरू भयो । एक प्रकारले मनले हरेस खाने जस्ता तनावहरू भएको उनी बताउँछन् ।
बराहक्षेत्र नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा जुन दिन देखि भर्ना भए त्यो दिनबाट त्यहाँको वातावरणमा घुलमिल भएपश्चात् आफ्नो स्वास्थ्य अवस्थामा निकै सुधार पनि आएको र आफू अशक्तm भएको हुँदा खाना अरूले खुवाउनुपर्ने समस्या भएको उनलाई आइसोलेसनमा आफू बसेकै कोठाका मान्छेले खाना खुवाइदिँदा उनी झन् खुसी भए । आइसोलेसन सेन्टरको हेरविचार तथा सेवा , सुविधाबाट आफ्नो मनोबल निकै उच्च भएको अनुभव सुनाउँछन् उनी ।
आइसोलेसन सुरक्षाको दृष्टिकोणले पनि निकै सुरक्षित रहेको, राम्रो खाना पिनाको व्यवस्था रहेको थियो । हप्ताको २ दिन (बुधवार र शनिवार) मासु र त्यस्तै हरेक दिन पोषणयुक्त आहारहरु दुध,गेडागुडी,दाल,भात,तरकारी,अण्डा,फलफूल आदि जस्ता पोसिलो खानेकुराको राम्रो व्यवस्था रहेको साथै सामाजिक सञ्जालका लागि इन्टरनेटको पनि राम्रो व्यवस्था रहेको बराहक्षेत्र-७ कि पुनम थापा बताउँछिन् ।
आइसोलेसनमा सबै कुरा ठिक छ तर आइसोलेसनमा अलि निकै साह्रो गाह्रो हुँदा आवश्यक स्वास्थ्य सामाग्री लगाएर कोठा भित्रै आएर हेरविचार गरिदिए अझ राम्रो हुने उनको सुझाव छ ।
आइसोलेसनमा खटिएका एच.ए. विकाश झा का अनुसार आफूहरूले आइसोलेसनमा मात्र नभई होम आइसोलेसनका सङ्क्रमितलाई पनि अक्सिजन तथा औषधीहरूको व्यवस्था गरिदिएको र नगरपालिकाको मातहतबाट सञ्चालित नगरपालिकाकै प्रमुखको गाडीसहित २ वटा गाडी एम्बुलेन्सको रूपमा प्रयोग गरिएको बताए । अहिले सम्म १ सय २८ जनाले उ्रक्त गाडीबाट निःशुल्क सेवा लिइसकेको उनी बताउँछन् ।
आइसोलेसनमा २ जना नेपाल प्रहरी , १० जना नेपाली सेना सुरक्षाका लागि तैनाथ रहेका छन् । साथै उपचार सेवाका निम्ति २ जना स्वास्थ्यकर्मीको व्यवस्था रहेको छ ।
नगरपालिकाकै मातहतमा नगरपालिकाको कार्यालय नजिकै रहेको अवतार होटलबाट खानाको व्यवस्था गरिएको छ । आइसोलेसनमा भर्ना भई आएका सङ्क्रमित व्यक्तिहरूलाई १४ दिनको बसेपश्चात् उनीहरूलाई नगरपालिकाद्वारा निःशुल्क पिसिआर परीक्षण तथा एन्टिजेन परीक्षणको व्यवस्था गरिदिने र निको भई घर जाने व्यक्तिहरूलाई पनि अपनाउनुपर्ने सावधानीका उपाय बारे प्रस्ट पारेर पठाउने गरेको एच.ए. झाले बताए ।
नगरपालिकाले घरमा बस्न असहज हुनेहरू तथा औषधीमुलो गर्न गाह्रो हुने, हात मुख जोड्नै कठिन हुने समस्या भएका व्यक्तिहरूलाई, सङ्क्रमित भई आइसोलेसन सेन्टरमा बस्न रुचाउने र संक्रमणदरलाई न्यून बनाउने अभिप्रायले भर्ना हुने सबै सङ्क्रमितलाई उचित सेवा ,सुविधा सहित राखिएको बराहक्षेत्र नगरपालिकाले जनाएको छ । अस्पताल जानलाई एम्बुलेन्स चाहिएका मानिसलाई नगरपालिकाकै गाडीको व्यवस्था गरी गरी सेवा दिइरहेको छ ।
जति बेला अप्ठ्यारो साह्रो पर्छ निर्धक्क भई आइसोलेसन आउन जसले नि पाउने छ । यो स्थानीयबासीकै लागि सञ्चालन गरिएको हो बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनाल बताउँछन् ।
२०७८ वैशाख २५ गतेबाट बराहक्षेत्र नगरपालिका-७,सप्तकोसी क्याम्पसको भवनमा बराहक्षेत्र नगरपालिकाले आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
कोभिड आइसोलेसन सेन्टरमा जम्मा ६५ जनाले सेवा पाइसकेका छन् । आइसोलेसनमा नै २ जना सङ्क्रमितको मृत्यु भयो । शव व्यवस्थापन नेपाली सेनाको भोक्राहबाट आउने समूहले गरेको आइसोलेसन प्रमुख डा. प्रमोद यादवले बताए ।
आइसोलेसन बराहक्षेत्र नगरपालिकाबाट सञ्चालनमा ल्याईएको हो । आइसोलेसन सञ्चालन गर्नका निम्ति विभिन्न सहयोगी सङ्घ संस्थाहरूले पनि सहयोग गरेका छन् । गोर्खा वेलफेयर ट्रस्ट द्वारा पिपिई-२०० थान, अक्सिजन कन्ट्रयाक्टर-३ थान , वन वातावरण व्यवस्थापन मन्त्रालय द्वारा डेड बडी ब्याग-६ थान, अक्सिजन सिलिन्डर-४ थान, अक्सिजन कन्ट्रयाक्टर-१ थान, सर्किजल मास्क आदि, नेपाल आर्युवेदिकबाट पनि स्वास्थ्य समाग्रीहरु, आवश्यक सामान प्रदान गरेको आइसोलेसन प्रमुख यादव बताउँछन् ।
सङ्क्रमित बिरामीलाई आइसोलेसनमा केही असहज महसुस भए त्यस्ता बिरामीलाई तत्काल अस्पताल रेफर गर्ने गरेको डा. यादवले बताए ।
आइसोलेसनमा रहेका बिरामीलाई पनि दैनिक स्वास्थ्य परामर्श दिने, कसरतहरू गर्न लगाउने , मनोरञ्जनका लागि भनेर इन्टरनेटको सुविधा पनि रहेको र बिरामी भेट्न आउने आफ्ना आफन्तलाई टाढाबाट भेट्न दिने , ल्याइदिएको खानेकुरा लगायत अन्य आवश्यक वस्तुहरूलाई प्रत्यक्ष रूपमा प्रहरी तथा सेनाको निगरानीमा भित्र पठाइदिने गरेको छ ।
जसले गर्दा सुरक्षामा कुनै कमी नआओस् भनेर त्यस्तो गरिएको पनि आइसोलेसन प्रमुख यादव बताउँछन् । आइसोलेसन सेन्टरबाट बिरामीलाई आवश्यक पर्नासाथ औषधी लगायतका वस्तुको तत्काल व्यवस्था गरिन्छ र आगामी दिनमा पनि थुप्रै अन्य सेवा सुविधा तथा उदाहरणीय कार्यहरू गर्दै जाने र आइसोलेसन सेन्टर आउन नडराउन पनि बराहक्षेत्र नगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमित भएर परिवारबाट अलग्गै बस्न सहज नहुनेहरूका लागि बराहक्षेत्र आइसोलेसन निकै प्रभावकारी भएको छ । आइसोलेसनमा भर्ना भएर पाउने सेवाबाट समेत सङ्क्रमितहरू दङ्ग छन् । अझ यसलाई थप सुधार गर्दै आइसोलेसनको सेवा प्रभावकारी बनाएर नमुना आइसोलेसन बनाउन बराहक्षेत्र नगरपालिकाको ध्यान पुग्नसकोस भन्ने आइसोलेसनबाट घर फर्किएका पूर्व सङ्क्रमितहरूको सुझाव रहेको छ ।