राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन जारी छ । अधिवेशनमा होमिएका नेता कार्यकर्तामा उत्साह र निराश दुवै बढेको छ । लामो समय पार्टीमा काम गरेका कार्यकर्ता पाखा लाग्ने र नयाँ कार्यकर्ताले नेतृत्व पाउने अवस्था आएपछि निराशाको खाडल बढेको देखिन्छ । नेपालमै कमजोर बन्दै गइरहेको पुरातन बादी धार समाएको राप्रपाले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको मुद्दाको विषयमा पनि खुलेर अभियान चलाउन सकेको छैन ।
गणतन्त्रपछि पनि मुलुकमा संवैधानिक सर्वोच्चता कायम नहुने र जनताले सोचेजस्तो विकाश नभएको अवस्थामा राप्रपाको आगामी योजना के छ ? राप्रपाले उठाएका मुद्दाको भविष्य र नेतृत्व प्रतिको जिम्मेवारीका विषयमा पूर्व मन्त्री तथा राप्रपाका नेता रामकुमार सुब्बा सँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी :
मन्त्रीबाट बाहिरिएको पनि लामो समय भयो, अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले राप्रपा को सङ्गठन सुदृढ गराउनुपर्ने बाध्यता छ । कार्यकर्ता र जनतासँग घरैमा भेटघाट गर्ने र जनताका समस्यामा पुग्ने काममै मेरो दैनिकी चलिरहेको छ । निराश कार्यकर्तालाई आशा जगाउने र नयाँ युवामा ऊर्जा भर्ने काममा लागेको छु ।
कार्यकर्ता सँगको भेटघाटमा के प्रतिक्रिया पाउनु हुन्छ ?
राप्रपाको मुद्दाहरू स्थापित हुने सम्भावना बढेको पाउँछु म । जनमानसमा त्यसको प्रभाव राम्रो छ । जनता अहिलेको प्रणालीदेखि आजित भइसकेका छन् । थोरै कोर्ष करेक्सन गरेर राप्रपा अगाडी बढ्यो भने हाम्रो मुद्दा स्थापित हुन्छ । यस बिचमा जसरी संवैधानिक राजतन्त्र र धर्म सापेक्षताको विषय अगाडी बढाउनुपर्ने थियो त्यो हुन सकेन । केही कमजोरी हामीबाट भएको छ । त्यसलाई करेक्सन गर्नुपर्छ ।
त्यो कमजोरी चाहिँ के हो ?
नेतृत्वले जुन किसिमबाट योगदान पुर्याउनुपर्ने कुरा छ त्यो भएको छैन । यो बेला पार्टी नेतृत्वले गाउँमा जनताको घरमा पुगेर अभियान चलाउनुपर्ने थियो । तर शक्तिकै लागी दौडधुपमा देखिए । अहिले राप्रपा, काँग्रेस, एमालेमा कुनै फरक छैन । जनताको लागी भन्दा पनि व्यक्तिगत शक्ति र सत्ताकै लागी दौडधुप छ । राप्रपामा पनि विचारको भिन्नता हैन खाली को शक्तिशाली बन्ने भन्ने मात्र हो ।
राप्रपाको विचार देशव्यापी नहुनुमा नेतृत्वको अकर्मण्यता हो । ३ जना अध्यक्ष हुने तर काम नगर्ने भएपछि कसरी पार्टी बन्छ । पार्टी विभाजन र समायोजनको खेल बढेको कारण यो समस्या आयो । राप्रपा सुद्धृढ बनाउने हो भने ३ जनाबाट एक जना अध्यक्ष हुनुपर्यो हैन भने दोस्रो पुस्तामा नेतृत्व जानुपर्छ ।
दोस्रो पुस्ता भन्नाले तपाई आफूलाई भन्न खोज्नु भएको हो ?
हैन । मेरो कुनै पदमा उम्मेदवारी छैन । राजेन्द्र लिङ्देन र धवल समसेर राणाजीले दाबी गर्नु भएको छ उहाँहरूलाई दिए हुन्छ ।
दोस्रो पुस्ताले मुद्दा स्थापित गर्न सक्लान् ?
पहिलो तहका नेताहरू तेरीमेरीमा अल्झिएपछि दोस्रो पुस्ताले हस्तक्षेप गर्नै पर्छ । राजेन्द्र लिङ्देन र धवल शमशेर राणाजीले नेतृत्व दाबी गरे । मलाई खुसी लागेको छ । जसले भए पनि पार्टी हाँक्ने सङ्कल्प गरेर नेतृत्वमा आए मेरो समर्थन हुन्छ । पहिलो पुस्ताका नेता जसरी आलोचित छन् दोस्रो पुस्तामा त्यो समस्या छैन । हालको नेतृत्व आत्मालोचना भएर अगाडी बढ्दा धेरै राम्रो हुन्छ । अब वैचारिक क्रान्तिको समय आएको छ । त्यसमा कार्यकर्तालाई परिचालन गर्नुपर्छ । राप्रपा क्रान्तिकारी हिसाबमा लागेन भने पार्टी पलायन भएर जान्छ । त्यो क्रान्ति भनेको विचारको क्रान्ति हो । परिवर्तनको क्रान्ति हो ।
यसको मतलब दोस्रो पुस्ता हस्तक्षेप गर्न तयार छ त ?
त्यसका धेरै पक्ष छन् । कुन हिसाबमा हस्तक्षेप भन्ने हुन्छ । सर्वसम्मत अधिवेशन सम्पन्न गराउँदा धेरै राम्रो हुन्छ । जबरजस्त रूपमा विचार लाद्ने काम गर्नुहुन्न । सबैभन्दा ठुलो चिन्ता पार्टी नै रहला कि नरहला भन्ने हो । के गर्दा पार्टीलाई जीवन्तता दिन सकिन्छ भनेर हेर्ने हो । नेतृत्वमा तेरी र मेरी भन्दै आफू मात्र ठुलो भन्ने भयो । एउटाको अस्तित्व अर्को नेताले स्वीकार नगर्दा यो अवस्था आयो । नेताकै शैलीअनुसार वडा स्तरसम्म कार्यकर्ता विचलित भएका छन् । यो सबै समस्या समाधानको एउटै उपाय सहमति हो । सहमति नभए दोस्रो पुस्ताले नेतृत्व लिन्छ ।
राप्रपामा अझै पनि कुनै आकर्षण छैन । बरु निराशा बढ्दै गएको छ । अब कसरी सुधार्नुहुन्छ ?
सही हो । धेरै समर्पित कार्यकर्तामा निराशा छाएको छ । लामो समय योगदान गरेका साथीहरू पार्टी छाड्ने लाइनमा लागेको देखियो । पार्टी छाड्नु भनेको बिचार त्याग गर्नु हो । राष्ट्रिय महत्त्व बोध भएको मुद्दा छाडेर कता जानु भनेर कार्यकर्ता अल्झिएका छन् । नेताहरूको आ-आफ्नै गुटको कारण पार्टीमा यो समस्या आएको प्रस्ट छ । अहिले पार्टी सानो भयो । यो बेला एउटै व्यक्तिले धेरै काम गर्नुपर्छ । विचलनको मुख्य कारण सुख सुविधाप्राप्त गर्ने कुरा भयो । वैचारिक विवाद हैन । पद र प्रतिष्ठाको विवादले राप्रपा धुजा धुजा भएको हो ।
गणतान्त्रिक राज्य व्यवस्थालाई कसरी हेरिरहनु भएको छ ?
यो विरक्तिको अवस्था हो। जनताको अनुहारमा कुनै चमक छैन । कुनै आशा छैन । एउटा राजा फ्याँकेर नयाँ धेरै राजा पाल्नुपर्ने अवस्था आयो । धर्म सापेक्षता र राजसंस्थाको विलय पछि के समस्या भयो त्यो जगजायर छ । हाम्रो कला र संस्कृति माथि हस्तक्षेप बढेर गयो।
एमसीसी बारे तपाईँको बुझाई के हो ?
एमसीसी सुरुमै पक्ष र विपक्षको हिसाबमा देखापर्यो त्यो आफैमा समस्या हो । त्यसको विरुद्धमा सशक्त आन्दोलन हुने देखिएको छ । जनता र राष्ट्रलाई फाइदा हुने योजना हो भने जनतालाई बुझाउनुपर्छ। जनतालाई सर्वोच्च मानेर चित्त बुझाउन सके लागु गर्दा भयो । हैन भने एमसीसी लागु नगर्दा हुन्छ भन्ने मेरो बुझाई छ । पक्ष र विपक्षमा मत विभाजन भइरहँदा लागु गर्नुहुन्न । योजना भन्दा पनि जनताको अभिमत र जनताको हितको महत्त्वपूर्ण कुरा हो।
तपाईँको नजरमा अहिले इटहरीको विकाश कस्तो देख्नुहुन्छ ?
इटहरीका मेयर आफै थारु समुदायका हुन् । तर यहीँ थारु सभ्यताको नास भएको पाए मैले । यो दुःखद हो । संस्कार र सभ्यताको संरक्षण नभई विकाश भएको मानिँदैन । म आफै ३ कार्यकाल प्रधानपञ्च भए । मेरो अवधिमा एक लाखको बजेट कहिल्यै पुगेन । तथापि अहिले जति पूर्वाधार बनेका छन् तिनीहरू त्यसै बेला सुरु भएका हुन् । यसको मतलब जनसहभागिता र नेतृत्वको सहकार्य गराउने अठोट नभए विकास हुन्न । हाम्रो कला र संस्कृतिको संरक्षण र संवर्द्धन आफैमा ठुलो विकाश हो । अहिले त्यो भएको छैन।