चतरा : वराहक्षेत्र स्थानीय सरकारले ५ वर्षमा निर्माण गरेको पुल,  सडक , भवन , क्याम्पस जस्ता विकासको कुराको प्रशंसा पछि गरौँला । सँगै निर्माण भएको सडकको गुणस्तर ,भ्रष्ट्राचार जस्ता कुराको आलोचना पनि पछि नै गरौँला । 

२०७४ सालमा स्थानीय तहको निर्वाचन पश्चात् आएका जनप्रतिनिधिको पनि कार्यकाल सकिनै लाग्यो । अगामी जेठ महिनादेखि हालका जनप्रतिनिधिको म्याद सकिँदै छ । भन्ने सरकारले वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन गर्ने भनेर मिति तय गरी सकेको छ ।

देशभरकै स्थानीय तहमा राजनैतिक दलले चुनावी गतिविधि बढाउँदै लगेका छन् । वराहक्षेत्र नगरपालिकामा पनि पार्टीहरूले चुनाव लक्षित  गतिविधि गर्न थालेका छन् । चिया पसल देखि हाट बजारमा भावी मेयर, उप– मेयर, वडाध्यक्षहरूको चर्चा परिचर्चा सुरु हुन् थालेको छ ।

२०७३ सालमा राज्य पुन:संरचना आयोगले सुनसरीका तत्कालीन ५ बटा गाउँ बिकास समितिलाई मिलाएर तत्कालीन वराह नगरपालिका बनाएको थियो । त्यस पछि नगरवासीको चाहना र स्थानीय सरकारको सिफारिसलाई मध्यनजर गर्दै नेपाल सरकारले २०७४ सालमा नामलाई संशोधन गरेर वराहक्षेत्र नगरपालिका बनाएको थियो ।

सुनसरीका १२ वटा स्थानिय तह मध्य वराहक्षेत्र नगरपालिकाका भौगोलिक रूपले ठुलो र नगरपालिका घोषणाको हिसाबले कान्छो नगरपालिका हो । यसमा तत्कालीन वराहक्षेत्र, भरौल, महेन्द्रनगर , प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर नगरपालिका बनेको थियो ।

२२२०९ वर्ग किलो मिटर क्षेत्रफल रहेको यस नगरपालिकाको २०७८ सालको जनगणना अनुसार ९१ हजार ८ सय ९१ जनसङ्ख्या रहेको छ । नगरपालिकाको पूर्वमा रामधुनि नगरपालिका , पश्चिममा उदयपुर जिल्लाको वेलका नगरपालिका , उत्तरमा धरान उपमहानगरपालिका र  धनकुटा जिल्लाको सागुरिगढि गाउँपालिका र दक्षिणमा भोक्राहा र कोशि गाउँपालिका रहेको छ ।

नगरपालिकाको उत्तरमा आदिवासी जनजाति समुदाय राई जातिको बसोबास अधिक रहेको छ भने नगरपालिकाको दक्षिण भेगतिर मधेसी समुदाय यादव, मेहता, चन्द्रवंशी , उराँव र मुस्लिम समुदायहरूको बाक्लो बस्ती रहेको छ । त्यस्तै साबिकको भरौलमा चौधरी थारु र राजधानी जातिहरूको बाक्लो बसोबास रहेको छ । 

जल, जङ्गल र जडीबुटी जस्ता अमूल्य पदार्थ , बस्तुले सम्पन्न यस क्षेत्र धार्मिक , ऐतिहासिक, प्राकृतिक रूपले सौन्दर्ययुक्त क्षेत्रको रूपमा रहेको छ । जातीय रूपले विविधता र सांस्कृतिक रूपमा  खस , आर्य परम्परा संस्कृति ,  किरात संस्कृति, थारु संस्कृति , झाँगड संस्कृति , नेवार संस्कृति , माझी संस्कृति यहाँका चिनारी हुन् । 

धार्मिक , सांस्कृतिक तथा प्रकृति रूपले सम्पन्न नगरपालिका  बने देखि नै सम्भावना र चुनौती बोकेको स्थानीय तह भनेर चर्चा भएको थियो । पहाड, चुरे र सम्म मैदान भौगोलिक अवस्था रहेको नगरपालिकामा आफैमा सम्भावना बोकेको नगरपालिकाको रूपमा स्थापित छ । तर नगरपालिका बनेको ५ वर्ष बिती सके पनि स्थानीय सरकारले नगरवासीलाई भावनात्मक रूपले एक बनाउन भन्ने सकेको छैन । अहिले पनि वराहक्षेत्र नगरवासीलाई नगरपालिकाले कानुनी र कागजी रूपले एक बनाए पनि भावनात्मक रूपमा वराहक्षेत्र चतरालाई मधुवनसंग जोड्न सकेको छैन । 

अहिले पनि चतराका मान्छेलाई मधुवनको  झाँगड टोल , प्रकाशपुरको बकुल्ला चाप टोल थाहा छैन भने मधुवन प्रकासपुरवासिलाई चतराको शिलपाखा , चियाबारी र भरौलको तीनकुने , सिमरवना टोल पुगेका छैनन् । अझै पनि चतरावासीलाई धरानकै माया छ भन्ने मधुवनबासीलाई लौकही नै उपयुक्त ठान्छन् ।

मधुवनबासीलाई चक्रघट्टि,चतरा र भरौल अपनत्व गराउन र चतरा , भरौलवासिलाई मधुवनबासी प्रति नजिक बनाउन वराहक्षेत्र नगरपालिकाले ५ वर्षमा सकेन । भौगोलिक रूपले टाढा भए पनि सांस्कृतिक , मनोवैज्ञानिक रूपले साबिकका ५ वटा गाविसकालाई जोड्न वराहक्षेत्र नगरपालिकाले अझै सकेको छैन । र प्रयास समेत भएको देखिदैन् ।

अझ राजनैतिक रूपले निर्वाचन आयोगले वराहक्षेत्र नगरपालिकालाई सुनसरीको १ र ४ निर्वाचन क्षेत्रमा विभाजन गरिदिए पछि चतरा र भरौलका नेतालाई धरानप्रतिको प्रेम र चक्रघट्टि, प्रकाशपुर र मधुवनका नेतालाई कोशि र भोक्राहा प्रति स्नेह बढाएको छ । 

राजनैतिक रूपमा निर्वाचन क्षेत्रमा विभाजन , भौगोलिक रूपमा भिन्नता , साबिकका गाउबिकास जोड्ने सुविधा जनक सडक निर्माण नहुनु , सामाजिक , धार्मिक, सांस्कृतिक , मेला , पर्व , खेलकुद ,त्यस्तै विकास निर्माणमा राजनैतिक रूपमा पक्षपात आग्रह पुर्बाग्रहले गर्दा नगरपालिका  मनोवैज्ञानिक रूपमा सबै नगरवासीको भावनात्मक रूपले अपनोत्ब हाल सम्म लिन सकेनन् ।

वराहक्षेत्र नगरपालिकामा क्रियाशील महत्त्वपूर्ण  सामाजिक सङ्घ संस्था  स्थानीय तह नगर स्तरीय गठन हुन नसक्दा पनि  नगरवासीको भावना गाँसिन सकेको छैन । हाल पनि वराहक्षेत्रमा व्यपारीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घ नगरपालिकामा २ वटा क्रियाशिल छ । रेडक्रसको उपशाखा पनि साबिकमै समिति छन् । ११ वटा वडामा सेवा क्षेत्र बिस्तार भएको सहकारी छैन । 

जातीय , धार्मिक सङ्गठनले पनि आफ्नो लेटर प्याडबाट साबिक हटाउन नसक्दा व्यापारिक र सामाजिक हिसाबले पनि नगरवासी गाँसिन सकेका छैनन् । अहिले पनि चतरामा हाम्रो वडा नं १ र २ , हालको वराहक्षेत्र ३,४ र ५ मा साबिक हाम्रो भरौल भनेर गौरव गर्ने तर अन्य वडालाई टाढा ठान्ने बानी हटेको छैन । 

चक्रघट्टिमा रहेको सप्तकोसी बहुमुखी क्याम्पसले नगर भरिका बिद्यार्थीहरुलाई अध्ययन गर्न सक्ने वातावरण तयार पारेर मधुवनसंग चतरालाई गाँस्ने प्रयास थालेको छ । बाङ्गेमा लाग्ने पशु हाटले र कृषि बजारले नगरवासीलाई भेट हुने वातावरण छ । तर यी मात्र पर्याप्त बनेका छैन । औद्योगिक ग्राम निर्माण नहुनु । रिङ रोडको परिकल्पना नहुनु । नगर बसको व्यवस्था नहुनु । नगरपालिकाको केन्द्रमा सुविधा सम्पन्न अस्पताल नहुनुले पनि साबिकका ५ वटा गाविसवासीलाई जोडन सकेको छैन ।

तत्कालीन महेन्द्रनगर गाविसमा नगरपालिकाको केन्द्र हुनाले महेन्द्रनगरवासीले नगरपालिकाका भएको महसुस गरेका छन् । तर कोशि पारी कोसीले काटेको चिलैयावासी बत्ती मुनिकै अँधेरै भने झैँ विकासको आधारभूत आबश्यक्तबाट समेत टाढा छन् । उनीहरूलाई नगरपालिका बन्दा न हर्षित छन् नत बिस्मात नै । त्यस्तै साबिक भरौल निबासीनै हालको वराहक्षेत्र नगरपालिकाको मेयर हुन् । तत्कालीन भरौल गाविसको उपाध्यक्ष उनै मेयर निलम खनाल थिए । यस अर्थमा पनि विकास गतिविधि भरौलमा अन्य क्षेत्रमा भन्दा बढी देखिएकाले भरौलवासी नगरपालिका हुँदा खुशीनै नै देखिन्छन् । साबिक प्रकाशपुरले पनि कतै गुनासो गरेको पाईदैन् । प्रकाशपुर घर भएकी कमला मगर वराहक्षेत्र नगरपालिकाकी उप– प्रमुख छिन् । त्यस अर्थमा पनि होला प्रकाशपुरमा विकासकालागि बजेट पनि परेकै छ। हालका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि प्रकाशपुरको विकासको लागि लागिनै परेका छन् । उनले प्रकाशपुरको मुहानै बदलिदिएका छन् ।

तर साबिक वराहक्षेत्र गाविसवासी र मधुबनवासी भन्ने नगरपालिकादेखि अन्य तिन वटा गाविस जस्तो खुसी देखिँदैनन् । साबिक वराहक्षेत्रवासी वराहक्षेत्र नगरपालिकामा मिसिदा खुसी महसुस गरेका छैनन् । ५ वटा गाविस मध्ये तुलनात्मक रूपमा थोरै नगरपालिकाले विकास बजेट विनियोजन गर्दा चतरावासीको मन धरान तिर मोडिएको छ ।

भौगोलिक रूप पनि धरान मिल्ने भएकाले हाल वराहक्षेत्र नगरपालिका वडा नं १ र २ का अधिकांस वडावासिको चाहना धरान उपमहानगरपालिका जोडिनु छ । हुन् पनि ५ वर्षसम्म नगरपालिको बजेटमा १ मिटर पनि कालोपत्रे भएको छैन । वराहक्षेत्र १ र २ मा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष र जनप्रतिनिधिको संङख्या बढी भएकाले पनि नगरपालिकाको मेयरले राजनीति आग्रह पुर्वग्रह गरेको चतरावासीको बुझाइ छ । चतराबाट धेरै कर लिने , नगरपालिकाले नाम लिने तर विकासको योजनामा बजेट नदिने भन्दै वडावासी नगरपालिकाप्रति रुष्ट छन् ।

चतरावासीको जस्तो बुझाई मधुवनबासीको नभए पनि उनीहरू पनि नगरपालिकामा जोडिदा खुसी देखिँदैनन् । भौगोलिक रूपमा नगरपालिकाको केन्द्र टाढा र सांस्कृतिक , धार्मिक रूपमा उनीहरूको परम्परा कोशि गाउँपालिका बासीसँग मिल्ने भएकाले उनीहरू मन मतिष्कलाई तलतिर तानेको छ । मधुवनको पहाडी समुदायहरू वराहक्षेत्र प्रति प्रेम गर्छन् । भन्ने अधिकांश मधेसी र मुस्लिम समुदायहरू वराहक्षेत्र भन्दा पनि कोशि गाउँपालिमा रमाउन चाहन्छन् । वराहक्षेत्र नगरपालिकाले पनि मधुवनबासीको भावना बुझ्न सकेको छैन । भन्ने मधुवनवासीको कालान्तरमा हामी कोशि गाउँपालिका वा अन्य पालिकामा मिसिनु पर्छ भन्ने बुझाई छ ।

वराहक्षेत्र नगर भए ता पनि गाउँ नै गाउँले भरिएको एउटा सुन्दर स्थल पालिका हो । यहाँ ब्यसायिक कृषि ब्यावसाय , प्रस्तुत जमिन र खाद्यन्नकोलागि उर्वर भूमि भएको बहुसांस्कृतिक, वहुजाति , बहुभाषिक ऐतिहासिक पर्यटकीय धार्मिक नगरी हो । सबै बस्ती , टोल , बजारको आ– आफ्नै विशेषता छ ।

१२ महिना नै जाडो हुने सुर्यकुण्ड र समतल भित्री मधेस मधुवन पनि यसै नगर भित्र छन् । संसारको चार धाम , कुम्भ नगरी जस्ता धार्मिक स्थल , माझी जातिको सङ्ग्रहालय मधुबनमा छ । सबै कुराले सम्पन्न यस नगरपालिकाका सबै भुगोललाई समान रूपमा विकास गतिमा अगाडि बढाई नगरपालिकाबासीको मनोविज्ञान बुझेर स्थानिय सरकार अगाडि बढ्ने हो भने साँचै वराहक्षेत्र नगरपालिका सुनसरीको मात्र नभई देशकै सम्भावना बोकेको नगरपालिकाको सुचीमा अग्र स्थानमा हुनेछ  ।