धरान : इटहरीका सञ्चारकर्मी अर्जुन सुवेदी रिपोर्टिङको लागि धरान आउँदा एक जोर कपडा साथैमा लिएर आउने गर्दछन् ।

तरहराको पानीपिया देखि धरानको तीनकुने सम्मको धुलाम्मे सडकले उनी पुरै छोपिन्छन् । टकटकाउँदो पोसाकमा धरान हिँडेका उनी तीनकुने आइपुग्दा नचिनिनेगरी धुलोमय भएका हुन्छन् । सुवेदी भन्छन्-'जङ्गलको बाटोमा बाइक चलाउन सारै गाह्रो छ, कत्ति पटक त झन्डै दुर्घटनामा पनि परेको छु ।'

फराकिलो सडक बनाउनका लागि खनिएको सडक अति अव्यवस्थित भएकोले जङ्गलको बाटो दुर्घटनाको उच्च जोखिममा रहेको छ । सञ्चारकर्मी सुवेदी प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै दैनिक धरान इटहरी गर्ने मोटरसाइकल र स्कुटर चालकलाई जङ्गलको बाटो काल जस्तै भएको छ । 

सडक खनेर निकै ठुलो पारिएको छ । सवारी साधन सञ्चालनका लागि सडकमा एकतर्फी हुनुपर्ने हो । त्यो पनि छैन । अझ सडकमा पानी नहालेर डुङडुङती उड्ने धुलोले मोटरसाइकल र स्कुटरमा हिँड्नेलाई सास फेर्न नै समस्या हुने गरेको छ । सडक निर्माण गर्दा व्यवस्थित तरिकाले गर्नुपर्ने हो । तर जङ्गल क्षेत्र भएकोले कसैले सडक निर्माण गर्ने ठेकेदारलाई कम्प्लेन नगर्ने भएकोले ठेकेदारले सडकमा पानी नहालेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको भनाई छ।

Charkose-sadak-1सडक निर्माणका लागि रानी-धरान सडक विस्तार आयोजनाले धरान–तरहराको चारकोसे जङ्गल क्षेत्रमा ६ लेनको सडक विस्तार कार्य गरिरहेको छ । तरहराको पानी पिया देखि तीनकुने सम्म सडक निर्माणका लागि सडक भत्काइएको छ । सडक भत्काएर निर्माण गर्दा व्यवस्थित तरिकाले वान वे गरेर पानी छ्यापेर गर्नुपर्ने हो, तर यसो नभएकोले जङ्गल क्षेत्रमा पछिल्लो समय सडक दुर्घटना समेत बढेको छ । 

फागुन महिनामा १० दुर्घटना : १ जनाको मृत्यु, १६ जना घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका अनुसार पानीपिया देखि धरानको तीनकुने सम्मको ९ किलो मिटरको जङ्गल क्षेत्रको सडकमा फाल्गुण महिनामा मात्रै १० वटा दुर्घटना भएका छन् । १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । १५ जना सामान्य घाइते भएका छन् । यसरी जङ्गल क्षेत्रमा हुने दुर्घटनाको न्यूनीकरणको लागि रानी-धरान सडक विस्तार आयोजनाले निर्माणाधीन सडकमा सवारी आवागमनलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

ठेकेदारको मनोमानी र सडकमा धुलो उडेको बारेमा जङ्गल भएकोले कसैले गुनासो नगरेकोले ठेकेदारले पनि लापरबाही तरिकाले सडक निर्माण गरिरहेको बताइएको छ । सडकमा धुलो उडन नदिन सडकमा पानी छ्याप्नुपर्ने हो तर त्यसो पटक्कै भएको देखिँदैन । कहीँ कहीँ पानी हालेको पाइए पनि व्यवस्थित तरिकाले पानी हालेको पाइँदैन । कतै हिलम्य त कतै धुलम्य सडक दुर्घटनाको उच्च जोखिममा छ । 

तीनकुने देखि पानीपिया सम्मको सडकको अवस्थाका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्थानीय सरकार र सम्बन्धित निकायको तुरुन्त ध्यान जान जरुरी छ । यदि यस्तै अवस्था रहेमा जङ्गल क्षेत्रमा दुर्घटनाको उच्च जोखिम कायम रहने छ । 

Charkose-sadak-4Charkose-sadak-3