धनकुटा : चालिसको दशकमा तत्कालीन सरकारको विरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरू खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरू जेलमा हुँदा गाउँ गाउँबाट  जनजागरण ल्याउन सबै दलका युवाहरू सक्रिय भएका थिए । तिनै पङ्क्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी ।

धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति सङ्गठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारणलाई समाहित गर्न उनी छिमेकी गाउँ मारेक कटहरे, डाडागाउँ लेगुवा लगायतका टोलटोल पुग्थे । 

२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा सङ्गठनको नेतृत्व सम्हालेका उनी जिल्ला तहका नेताहरूको आँखामा परेका थिए । पञ्चायतका हस्ति एवं तत्कालीन प्रधानमन्त्रीसमेत भइसकेका सूर्यबहादुर थापा जस्ता शक्तिशाली नेतालाई चुनावमा जितेर नाम कमाएका कम्युनिस्ट नेता गोपाल गुरागाईँको नगरमा उति बेलै परिसकेका थिए ।
२०४६ सालको आन्दोलन सहर केन्द्रित मात्र थिएन । गाउँबाट आन्दोलनको ज्वारभाटा उठिरहेको थियो । दीपक त्यही आन्दोलनलाई जिल्लाको उत्तरी सिमानामा रहेको भोजपुर र सङ्खुवासभा जोडिएको गाउँ चानुवाको नेतृत्वमा होमिए । गाउँ तहदेखि जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।
लगातार दुई पटक गाविस अध्यक्षमा निर्वाचित
जनआन्दोलन सफल भई प्रजातन्त्र पुनर्स्थापना पश्चात् भएको पहिलो निर्वाचनमा बुढाथोकीलाई तत्कालीन चानुवा गाउँ विकास समितिको नेतृत्वका लागि पार्टीले टिकट दिने भयो। ‘२५ वर्षको उमेरमा सबैको मत जित्नु सामान्य कुरा थिएन ।’  चालिसको दशक सम्झिँदै उनले भने ‘६ वर्षदेखि गाउँमा काम गरेको अनुभव थियो । मलाइ जनताले पत्याउनहुन्छ भन्ने दृढ विश्वास थियो ।’ 
प्रजातान्त्रिक शक्तिको बाहुल्य भएको ठाउँमा कम्युनिस्ट गढ बनाउनु सामान्य थिएन । उनले अथक प्रयास गरे । पार्टीले पत्यायो । नभन्दै उनले भारीमतले विजयी भए । युवा अवस्थामै गाविसको अध्यक्ष पदमा निर्वाचित उनलाई गलत काम गर्ने छुट थिएन । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई पार्टीले दोस्रो कार्यकालका लागि पनि सोही पदमा टिकट दियो । उनले दोस्रो कार्यकाल पनि चुनाव सहजै जिते ।
यसरी दश वर्ष गाविसको नेतृत्व गर्दा उनले सीमित बजेटको भरमा जनताका तत्कालीन आवश्यकता परिपूर्ति गर्न चुनौती थियो । यद्धपी जनश्रमदानमा अधिक काम भए । अधिकांश कृषि पेसामा आबद्ध रहेका जनताका समस्या सम्बोधन गर्ने प्रयास गरे । सडक, बिजुली र अत्यावश्यक पूर्वाधारको अभाव रहेता पनि त्यसका लागि स्रोत जुटाउन उनी लागिरहे । माओवादी द्वन्द्वमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अपहरणसमेत गर्‍यो । पछि सम्मानजनक रूपमा घर फर्काइदिएको थियो
तेस्रो पटक जनअनुमोदका लागि चुनावमा
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन भयो । त्यो बेला स्वयंसेवी भावले निरन्तर जनताको काममा लागि रहका उनलाई २०७४ सालको निर्वाचनमा कार्यकर्ताबाट सिफारिस भए पनि चुनावमा टिकट पाउन सकेनन् । एमालेको कार्यकर्ताको रूपमा इमानदारीपूर्वक जनताको काममा जुटिरहे । तत्कालीन चानुवा गाविससहित डाडागाउँ, मारेक कटहरे, लेगुवा, अर्खौले जीतपुर र मूर्तिढुंगा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको नेतृत्वका लागि आतुर छन् ।
संविधान बनेपश्चात् पहिलो कार्यकालमा आएका जनप्रतिनिधिबाट स्थानीय तहका काम गर्ने जग बसेको छ । दोस्रो कार्यकायलका लागि उनै बुढाथोकीलाई पार्टीले विश्वासका साथ महालक्ष्मी नगरपालिकाको मेयरका लागि टिकट दिएको छ । स्थानीय तहको दुई चुनावमा निर्वाचित उनी तेस्रो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा छन् । महालक्ष्मी नगरपालिकाका घरघरका मतदातासामु पुगिरहेका छन् । 
dipak-budathokiगाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश एक कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान् व्यक्तिका रूपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाइ पार्टी र जनतासामु लगनशील भएर काम गर्नु नै वहाँको विशेषता हो ।’ बुढाथोकीका राजनीतिक गुरुसमेत रहेका कम्युनिस्ट नेता गोपाल गुरागाईँ भन्छन्-‘वहाँलाई युवा अवस्थादेखि चिन्छु । यो पटक पुनः जनताले जिताउने छन् भन्नेमा ढुक्क छु ।’ 
जनतालाई अनुभूत हुने काम गर्छु
यसअघि महालक्ष्मीसहित सातै पालिकामा नेकपा एमालेले जीतेको थियो । बुढाथोकीले अघिल्लो कार्यकालमा थालिएका काम सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभूत गर्ने काममा आफ्नो लगाव रहने बताएका छन् । ‘मसँग दुई कार्यकाल जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जनताको आवश्यकता र अवस्थाप्रति जानकार छु ।’ उनले भने ‘म जनतालाई पुरा नहुने सपना देखाउँदिन । नेकपा एमालेको इमानदार कार्यकर्ता भएको नाताले सर्वसाधारणको जीवनस्तर उकास्ने काममा मेरो ध्यान हुनेछ । ’ 
बुढाथोकीसँग सत्तारुढ गठबन्धन उम्मेदवार एवं तत्कालीन महालक्ष्मी २ का वडा अध्यक्ष ध्रुव राय चुनावी प्रतिस्पर्धामा छन् । राय नेपाली काँग्रेसकारतर्फबाट वडाध्यक्षमा निर्वाचित बनेका थिए ।