सुनसरी : सुनसरीमा बालबालिका देखि सबै उमेर समूहका मानिस हराउने सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। भारतसँगको खुल्ला सिमाना भएका कारण आर्थिक समस्या परेका तथा कसैको लहैलहैमा लागेर विभिन्न देश पठाइदिने प्रलोभनमा परेर मानिस हराउनेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको तीन वर्षको तथ्याङ्क हेर्ने हो भने १ हजार ३ सय ११ जना हराएका छन् भने ५ सय ८५ जना मात्रै फेला परेका छन् । बाँकी ७ सय २६ जना कहाँ छन्, कुन अवस्थामा छन् कुनै जानकारी छैन ।
आर्थिक वर्ष २०७६/७७ मा महिला ४७, पुरुष १४, बालक १७ र बालिका ३५  जना गरी जम्मा ११३ जना हराएका थिए । यसमध्ये ६९ जना फेला परेका छन् । बाँकी ४४ जना अझै फेला पर्न सकेका छैनन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्ष भन्दा हराउनेको सङ्ख्या बढेको छ । महिला २०५, पुरुष १५१ बालक ३५ र बालिका ७२ जम्मा ४६३ जना हराएका छन् भने २३७ जना फेला परेका छन् बाँकी २२६ जना बेपत्ता छन् ।
विगतका दुई वर्षको तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा मानिस हराउने सङ्ख्या कहालीलाग्दो छ । महिला ३५१, पुरुष २०४, बालक ४२ र बालिका १३८ गरी जम्मा ७३५ जना हराएका छन् भने यस मध्ये २७९ जना फेला परेका छन् । बाँकी ४५६ जना अहिले सम्म फेला पर्न नसकेको जिल्ला प्रहरीले बताएको छ ।
कस्ता व्यक्ति बढी हराउँछन् ?
विशेष गरी आफ्नै कारणले बेपत्ता भएका घटनाहरु प्रहरी समक्ष जाने गरेका छन्  । उनीहरू आफू यो समाजमा बस्न उपयुक्त नभएको भन्दै मनोवैज्ञानिक  कारण हराउने गरेका छन् । त्यस्तै सोचे अनुसारको व्यापार व्यवसाय फस्टाउन नसक्नु तथा ऋण भार थेग्न नसकेर समाजका प्रतिष्ठित व्यक्ति समेत हराउने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकाल बताउँछन् । आपराधिक गतिविधिमा संलग्न कुनै व्यक्तिले कोही ब्यक्तिलाई साथमा लिएर हिँड्ने तर फर्किएर नआउने गरेको समेत प्रहरीको भनाई छ । प्रहरीको तथ्याङ्क अनुसार पैसाको प्रलोभन देखाएर ससाना बालबालिकालाई बाहिरी देशमा लाने र विभिन्न पेसामा संलग्न गराउने समेत घटना देखिएका छन् । 
त्यस्तै पहाड देखि तराई आउने, आफुँ खुसी घरमा थाहा नदिई हिँड्ने कारण बेपत्ताको सङ्ख्या बढी देखिएको प्रहरीको दाबी छ । एसपी ढकाल भन्छन् ‘पैसाको महत्त्व बुझ्न थालेपछि आफ्ना आवश्यकता पुरा गर्न पैसा कमाउने बाटो खोज्छन् । उनीहरू गाउँबाट सहर आउने र विभिन्न उद्योग तथा कम्पनीमा काम गर्छन् तर घरमा थाहा हुँदैन ।’
कसरी कम गर्न सकिन्छ ?
मानिस हराउने बढ्दै जाँदा प्रहरीलाई समेत चुनौती थपिएको छ । दिनप्रतिदिन हराउने ग्राफ बढे पनि प्रहरीले बेपत्ता भएका आधा मानिस समेत फेला पार्न सकेको छैन । समयमा प्रहरीमा खबर नपुग्नु र खुल्ला सिमाना कारण भारत तर्फ बढी आवतजावत हुने कारण हराएका व्यक्ति फेला पार्न प्रहरी असफल हुँदै आएको छ । 
प्रहरी उपरीक्षक ढकालले सोचे अनुसारको काम गर्न कठिनाइ भएको बताउँछन् । उनले सबै भन्दा सुरुमा आफैँ चनाखो हुनु पर्नेमा जोड दिन्छन् । समाजमा केही गर्न सक्छु, केही गरेर देखाउँछु भन्ने भाव भए बेपत्ता हुने सङ्ख्यामा कमी आउने उनको तर्क छ । कुनै आपराधिक तथा विभिन्न आरोप लागेका व्यक्ति पनि हराउने गरेका कारण यस्ता व्यक्तिले समाजमा केही नयाँ काम गरेर देखाउन सके आफैँलाई कमजोर नठान्ने हो भने सचेतना समेत फैलिने एसपी ढकालको भनाई छ ।
‘मानिस खोजी गर्न छुट्टै टिम बनाएका छौँ’ : प्रहरी
sp-prabhu-dhakalदिनप्रतिदिन हराउने व्यक्तिहरूको निवेदन लिएर आफन्तहरू प्रहरी कार्यालयमा पुग्ने गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले छुट्टै टिम नै बनाएको छ। खुल्ला सिमाना, आर्थिक अभाव तथा जीविकोपार्जनका लागि कामका कारण मानिस हराउने सङ्ख्या वृद्धि भएपछि छुट्टै टिम नै बनाएर खोजी गर्न थालिएको प्रहरी उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकाल बताउँछन् ।
बालबालिका, महिला तथा सबै उमेर समूहमा मानिस हराएको जानकारी आउनासाथ दुई तरिकाबाट खोजी गरिने प्रहरीको भनाई । ‘हामीले निवेदन पर्नासाथ (म्यानुअल सर्च र टेक्निकल खर्च) अनुसार खोजी गर्ने गरेका छौँ ।’ एसपी ढकालले भने ‘जिल्ला मातहतका प्रहरी तथा छिमेकी जिल्ला प्रहरीलाई फोटो पठाउने गरेका छौँ ।’ सम्पर्क नम्बर भए सोही आधारमा समेत खोजी गर्ने गरिएको छ । तर घरपरिवार माया मारेर बेपत्ता भएका व्यक्तिले मोबाइल तथा आफ्नो परिचय खुल्ने कुनै पनि परिचय पत्र घरमै छोडेर हिँड्नाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ । साथै कोही व्यक्तिले अपहरण गरे वा गर्न लागेको थाहा प्रहरी समक्ष तत्काल जानकारी दिन समेत आग्रह गरेको छ ।