सुनसरी : चाउमिन फ्याक्ट्री चलाएर घरको गर्जो टार्दै आएका इटहरी-२ का तिलक कार्कीको ४ वर्ष अघि र अहिलेको कथा फरक छ । सानो लगानीमा ठुलो आर्थिक सपना देखेका उनले लामो समय सानो उद्योग चलाउँदै आएका थिए । जेनतेन घरको आर्थिक अवस्था सुधार हुँदै थियो । उनी चाउमिन मात्रै उत्पादन गर्दैनन् थिए, बिक्री गर्नका लागि मोटरसाइकलमा राखेर बजारका होटेल सम्म पुर्याउने काम गर्थे । ४ वर्ष अघि सदाझैँ बिहानै मोटरसाइकलमा थुक्पा तथा चाउमिन बजार पुर्याएर फर्किँदै थिए ।
उनको जीवनमा नसोचेको बज्रपात आई पर्याे । उनलाई इटहरीको आर्मी क्याम्प अगाडी बोलेरो गाडीले ठक्कर दियो । ठक्करबाट उनी गम्भीर घाइते भए। उक्त घटना पछि उनी मात्रै घाइते भएनन् । उनेको घरपरिवारको मियो ढल्यो ।
समयमा उपचार पाएका कारण लामो उपचार पछि घर फर्किए तर उनको शरीर पुरानो लयमा फर्किएन । मेरुदण्डले काम गर्न छोडेपछि अहिले शरीरको आधा भाग चल्दैन । दिशा पिसाब आएको थाहा हुँदैन । सानो उद्योग चलाएर घर व्यवहार चलाउने सपना देखेका उनी ह्वीलचेयरको सहरमा हिँडिरहेका छन् ।
ह्वील चेयरमा हिडेपनि ४० वर्षे खड्का हिजो सम्म घर खर्च कसरी धान्ने भन्ने चिन्तामा थिए तर आज सिप सिकेर उद्यमी बन्ने सपना देखिरहेका छन् । अपाङ्गता भएर घरमा बस्दा समय काट्न गाह्रो हुने खड्कालाई सिप सिकेपछि ४ वर्ष अघिको अवस्थामा फर्किए सरह भएको छ ।
खुट्टा नचले पनि हातले गर्न सक्ने कपडा सिलाउने सिप सिकेपछि मनमा अब केही गर्छु भन्ने आसा पलाएको छ खड्कालाई । ‘जब म दुर्घटनामा परे तब म नबाच्ने भए, बाँचे पनि पुरानो अवस्थामा फर्किन्न झैँ लागेको थियो,’ उनी भन्छन् “अब यही सिप सिकेर कमाएर गरी खान सक्ने भएको छु ।” केही समय समूहमा गर्ने सबै खालका कपडा सिलाउन सक्ने भएपछि एक्लै सिलाई कटाई सेन्टर खोल्ने उनको योजना छ ।
उनी जस्तै इनरुवा-५ घर भएकी भगवती तामाङ पनि आफ्नो सिपले आफैँलाई आर्थिक पाटोमा जोडेको देख्दा खुसी छिन् । पोलियोथोपाको कमिले खुट्टा चलाउन नसक्ने भएपनि हातले गर्ने काम सहजै गर्न सक्छिन् । उनी अहिले दैनिक १० वटा कपडा सहजै सिलाउने भएकी छिन् । बिनाकाम गाउँघरमा बस्दा सामाजिक हेला समेत सहेकी भगवतीको अहिले गाउँकै मान्छेले तारिफ गर्ने गरेको सुनाउँछिन् । अपाङ्गता भएपछि घरमै बस्नु पर्छ भन्ने हैन रहेछ, यो सिप सिक्न ढिला भएछ उनी भन्छिन् “अब आँखा खुल्यो केही महिना सिकाइबाट भेष्ट, सुरुवाल कुर्ता लगायतका कपडा सिलाउने भएको छु ।”
श्रीमान् अपाङ्गता भएपछि घरको आर्थिक अवस्था सुधार्न सुन्दरहरैंचा-१० बाट सरिता पाण्डे समेत आएकी छिन् । दुर्घटनामा पर्नु अघि घरको आर्थिक पाटो श्रीमानले हेर्ने गरेका थिए । तर त्यस यता उनको आम्दानीको श्रोत गुमेपछि आफैँले काम गरेर घर खर्च चलाउने अवस्था आएको सरिताको भनाई छ। छोटो समयमा सिप सिकेपछि केही समय समूहमा बसेर काम गर्ने । सबै कपडा सिलाउन जान्ने भएपछि आफै सेन्टर खोलेर व्यवसाय सञ्चालन गर्ने उनको तयारी छ। कसरी घर खर्च धान्ने भन्ने चिन्ता थियो, अहिले आस पलाएको छ पाण्डे भन्छिन् ‘केही समय समूहमा बसेर काम गर्छु, सिक्छु, पछि आफैले लगानी गरेर व्यवसाय खोल्छु ।’
स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ को संयोजन तथा विभिन्न संस्थाको सहयोगमा इटहरी-४ आइतबारेमा एक सानो कोठा भित्र थालेको सिप सिक्ने अवसरले १० जनालाई आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाएको छ । उनीहरूले ट्राकसुर्ट, खेल खेल्न लगाउने जर्सी, लेडिज सर्ट, सुरुवाल लगायत ७ प्रकारका कपडाहरू सिलाउने गरेका छन् ।
स्थानीय स्तरमा सिलाइएका कपडा विभिन्न विद्यालय तथा संघसस्थाले समेत लाने गरेका छन् । सिप सिक्दै समूहमै बसेर गार्मेन्ट उद्योग चलाउने उनीहरूको तयारी छ । १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई सिलाई कटाई सिकाउँदै आएकी सन्जिता बराइली छोटो समयमा धेरै राम्रो प्रगति भएको बताउँछिन् ।
सानो कोठाबाट थालेको सिप सिकाइले गार्मेन्ट उद्योग स्थापना गर्ने सम्म साहस आएको बराइलीको भनाई छ । उनी भन्छिन् ‘अहिले बजारमा माग राम्रो छ, यस्तै माग आउने हो भने उद्योग चलाउन कुनै समस्या पर्दैन ।’ अहिले खेलकुद क्लब, विद्यालयले समेत अर्डर गर्ने गरेका छन् । तर नेपाली बजार स्थिर नभएकाले आफुँहरुले उत्पादन गरेका कपडा बिक्री गर्न स्थानीय सरकारले सहयोग गरे आगामी दिनमा १० जनाबाट बढाएर २० जना सम्म पुर्याउन सकिने उनको भनाई छ ।