सुनसरी : आगामी आम निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ मा राजनीतिक दलका केन्द्रीय तहका नेता देखि स्वतन्त्र उम्मेदवारी दिनेको ताँती छ । कोही पुराना अनुहार छन् भने कोही युवा छन् । 
मुख्य राजनीतिक दलले पटक पटक जिते पनि समाजमा देखिएका समस्या ज्युँका त्युँ भएको भन्दै वैकल्पिक शक्ति दाबी गर्दै स्वतन्त्र समूहले पनि पार्टी गठन गरेर चुनावमा होमिएको छ । यिनै मध्येका एक हुन् विजय कालिकोटे । सामाजिक कार्य देखि सञ्चारको क्षेत्रमा रहेर समय काम गरेका उनी अहिले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उम्मेदवार भए। हाम्रो पार्टी नेपालबाट 'लौरो' चुनाव चिन्ह लिएर चुनावी दौडमा छन् । उनै कालिकोटे सँग गरिएको कुराकानी :

गत स्थानीय तहको निर्वाचनमा काठमाण्डौं र धरानमा एकै चुनाव चिन्ह परेर दुवै नगर प्रमुखले विजय हासिल गरे । तर अहिले लौरो चुनाव चिन्हको त पार्टी नै गठन भएको छ । यस पार्टीको राष्ट्रिय एजेन्डा के हो ?

हाम्रो नेपाली पार्टीको अभियानको मुख्य उद्देश्य भनेको भ्रष्टाचार न्यूनीकरण, पुराना दलले जति भ्रष्टाचार गरेका छन् । मन्त्री, सांसदको अचल सम्पत्ति राष्ट्रियकरण गर्नु पर्छ र गरिब जनतालाई शिक्षा स्वास्थ्यमा लगानी गर्नु पर्छ । जति पनि नेपाल भारत सन्धि भएका छन् । ती सन्धिले नेपालमा के आयो के गुमायो । खोजी गर्ने छौँ । प्रत्यक्ष कार्यकारी प्रमुख, प्रत्यक्ष निर्वाचन प्रणाली । चुनाव महँगो भयो, डिजिटल चुनावको व्यवस्था मिलाउनु पर्छ ।

अन्य स्वतन्त्र पनि चुनावी मैदानमा छन् । तपाईँमा अरू भन्दा एजेन्डा के फरक छ ?

धेरै साथीहरूले एक हातमा लालपुर्जा अर्को हातमा भोट भनेर चुनाव एजेन्डा बनाउनु भएको छ । म त्यसो भन्दिन, म आम मतदातालाई के भन्छु भने यदि लालपुर्जा दिने भए, त्यो दिने ऐन कानुन खोज्नु होला । यो भ्रममा नपर्नु होला । अर्को कुरा धरानमा खानेपानीको समस्या छ । मेयरले अल्पकालीन गरेको काममा साथ दिन्छौँ । तपाई हामीले देख्दै आएको इटहरी र धरानको बिचमा रहेको जङ्गलमा निकुञ्ज तथा चिडियाखाना निर्माण गर्नु पर्छ । धरान देखि भेडेटार सम्म केबलकार । निर्माणाधीन ६ लेन सडकलाई विजयपुर देखि फुस्रे हुदैं लागे योजना मसँग छ । सहर बिच भागबाट ६ लेनको सडक लाने हैन । 

तपाईँले भने अनुसारको सडक घुमाएर लाने हो भने धेरै लगानी गर्नु पर्छ । आयोजनाले आफ्नो योजना छोडेर तपाईँको योजनामा आयोजना हिँड्ला र ?

सडकले असर पर्ने त्यहाँको जनता मान्छन् मान्दैनन् । जनतालाई सोध्नु पर्छ , त्यति धेरै संरचना छ, भत्काउन कसरी भत्काउने । सेउती कोरिडोरबाट लाने हो कि ? एक पटक सडकको प्रभावित जनतालाई कसरी आयोजना सफल पार्न सकिन्छ । त्यो सोध्नु पर्छ ।

स्थानीय तहको निर्वाचनपछि धेरै उम्मेदवारहरू स्वतन्त्र भनेर लागेका छन् । यसले गर्दा स्वतन्त्र, स्वतन्त्र नै चुनावी मैदानमा होमिँदा तपाईँहरूलाई घाटा गर्दैन ?

यसमा के छ भने, मेरो धरानका मेयर हर्क साम्पाङसँग धेरै पटक छलफल भइसकेको हो । एउटा कमजोरी चाहिँ हर्क साम्पाङलाई नै दोष दिन्छु । उहाँले न्युट्रल बस्नु नै धरानको लागि दु:ख भइदियो । स्वतन्त्र रूपमा जितिसकेपछि उहाँको टिममा राजनीतिक बुझेको दक्ष को छ,  प्रदेश, केन्द्रको भूमिका कसले बुझेको छ । कानुन बुझेको छ । उहाँ नजरमा को हुन सक्थ्यो ?  विडम्बना त्यो गर्नु भएन । उहाँलाई धेरे पटक सोधियो तर कुनै वास्ता गर्नु भएन । टिमसँग कुरा गर भन्ने तर उहाँले कुनै निर्णय गर्न नसक्दा च्याउ जस्तै स्वतन्त्र फैलिए । मियाँ बिनाको दाइ जस्तै आफुँ खुसी उम्मेदवार बने जसले घाटा गरायो । 
हर्क साम्पाङ पनि जितेको लौरोबाट हो । अहिले पनि मिलेर जाऊँ भन्दा कोही पछि नहट्ने । यसले गर्दा स्वतन्त्र बिच नै प्रतिस्पर्धा हुने देखियो । यदि मिलेर चुनाव लडेको भए त वैकल्पिक शक्ति दह्रो हुन्थ्यो तर त्यो हुन सकेन । 

सुनसरी क्षेत्र नम्बर १ मा धरान बाहेकका धेरै ठाउँ छन् ।  विष्णुपादुका, चिन्डे डाँडा, धरान-४ लगायतका स्थानलाई सहर सँग जोड्ने योजना के छ ?

देश सङ्घीयतामा नगएको भए चुनावी एजेन्डा ती ठाउँबाटै बन्थे होला तर सङ्घीयतामा गएपछि समग्र हेर्नु पर्ने हुन्छ । अझ हामी प्रदेशमा उठ्नेलाई त थोरै ठाउँ छ । मेरो क्षेत्राधिकारमा धरान नै पर्ने भएकाले यी कुरा आउन नसकेका हुन सक्छन् । तर हामीले उक्त भूगोललाई मात्र हैन समग्र हेर्नु पर्ने हुन्छ । 

हर्क साम्पाङले पनि कोसीको पानी ल्याउँछु  भनेर चुनाव जिते, अहिले फेरी तपाईँहरू जो राजनीतिकमा वैकल्पिक शक्ति भन्दै हुनुहुन्छ । कोसीबाट पानी सम्भव छ ?

त्यति सजिलो छैन, त्यति असजिलो पनि छैन । कुन तरिकाले कस्तो इन्जिनियर लगाएर ल्याउने त्यो हर्क साम्पाङले जान्ने कुरा भयो । कोसी पानी ल्याउन कुन प्रविधि अपनाएर ल्याउन सकिन्छ ? यो विषयमा हर्क साम्पाङसगँ बसेर पनि कुरा गरेको हो तर उहाँले खासै वास्ता नगरेपछि कुरा अघि बढ्न सकेन । तर हामीले त्यहाँ गएर काम गर्ने भन्दा पनि नेतृत्व तहमा पुगेपछि योजना बनाउने हो । योजनालाई कार्यान्वयन गर्ने काम त सम्बन्धी कार्यालय तथा विज्ञबाट हुन्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
निर्वाचनमा मलाई भोट दिनै पर्छ भनेर म कुनै मतदातालाई जबरजस्ती गर्दिन । म जस्ता धेरै व्यक्तिहरू चुनावी मैदानमा हुनुहुन्छ । तर प्रष्ट के हो भने राजनीतिमा हिँड्दै गर्दा हिजो जुन पार्टीमा हिँडियो आज त्यही पार्टी नेतृत्वले नगरेको काम भोलि कसरी गर्न सक्छ ? यसर्थ एक पटक राजनीतिक दललाई भोट नहालौँ ता कि भोलिका चुनावमा उनीहरूले जनताको काम गरुन् ।