इटहरी : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । काँग्रेस भित्र संसदीय दलको नेता छनौटमा कोइरालाको भूमिका महत्त्वपूर्ण मानिएको छ । उनकै समर्थनको बलमा संसदीय दलको उम्मेदवार बन्ने दौडमा छन् महामन्त्री गगनकुमार थापा । काँग्रेस सभापति शेरबहादुर देउवा सँग प्रतिस्पर्धामा उत्रिएका थापालाई रोक्न शीर्ष नेताहरू नै लागिरहँदा शेखरले भने भेटघाटलाई तीव्र बनाएका छन् ।
डा.शेखरले सबैसँगको सल्लाह र परामर्शमा मात्र निर्णय लिइने बताउँदै आएका छन् । कूटनैतिक हिसाबमा अगाडी बढेका उनको कदमलाई रणनीतिक रूपमा हेरिएको छ ।  
नेपालको राजनीतिमा'कोइराला निवास' सदाबहार केन्द्रमा रहेको स्मरण गर्दै डा.शेखरले पुनः त्यही शक्ति पुनर्बहाली गर्ने तयारीमा छन् । केही दिन अगाडी कोइराला निवासमा पत्रकार भेटघाट कार्यक्रममा पनि उनले विराटनगरको शक्ति कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे । मङ्गलवार गुरुराज घिमिरेको नवौँ पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रममा समेत कोइरालाले विराटनगरलाई राजनैतिक केन्द्र बनाउने सङ्केत गरे । 
काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो । विराटनगरको जुटमिलबाट सुरु भएको आन्दोलनले राणा शासनको अन्त्य गरायो । त्यसपछि लामो समय विराटनगर राजनीतिको केन्द्रमा रह्यो । २०६२/०६३ सालको जनआन्दोलनको नेतृत्व गरेका गिरिजा प्रसाद कोइरालाले विराटनगरलाई राष्ट्रिय राजनीतिको सदाबहार केन्द्रको रूपमा स्थापित गराए । गिरिजा प्रसादको मृत्यु पछि कमजोर बनेको 'कोइराला निवास' विरासत फर्काउने तयारीमा छन् डा.शेखर । 
केन्द्रीय स्तरमा प्रभावशाली मानिएका डाक्टर मिनेन्द्र रिजाल राजनीतिको किनारा तर्फ लागेका छन् । पूर्व अर्थमन्त्री महेश आचार्य समेत राजनीतिको केन्द्र बाहिर पुगेका छन् । काँग्रेस महाधिवेशनको पराजय र प्रतिनिधिसभाको उम्मेदवारीबाट वञ्चित भएपछि दुवै नेता छायामा परेका छन् । राष्ट्रिय राजनीतिका प्रभावशाली नेता गुरुराज घिमिरे काँग्रेसको प्रदेश सभापति र प्रदेशसभा सदस्यमा पराजित भए । गणतन्त्रीय आन्दोलनका हस्ति मानिएको घिमिरेको पराजयले विराटनगरको राजनैतिक विरासतमा केही असर पुगेको छ । 
गिरिजा पुत्री सुजता कोइराला निर्वाचनको पराजय सँगै पुनः राजनीतिको केन्द्रमा फर्कने सम्भावना कम देखिन्छ । काँग्रेस भित्र अमृत अर्याल, केदार कार्कीको उदयले डा.शेखरको कदमलाई बल पुर्‍याएको छ । 
पूर्वमन्त्री भरतमोहन अधिकारीको साइनो जोडिएको विराटनगरले नेकपा एमालेबाट प्रभावशाली नेतृत्व दिन सकेको छैन । पूर्व मन्त्री लालबाबु पण्डितले केही चर्चा कमाए पनि उनी यस पटक डा.शेखर सँगै पराजित भए । यस बिचमा उनको छवि विवादित बनेको छ । 
koirala-niwas-brt-2सफल होलान् शेखर ? 
डा.कोइराला १३ औँ महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्य विजयी भएसँगै उनी सभापतिको तयारीमा लागे । पार्टी सभापति शेरबहादुर देउवालाई खबरदारी गर्ने र असन्तुष्ट कार्यकर्ता सँगको भेटघाटलाई उनले तीव्रता दिए । जसले गर्दा १४ औँ महाधिवेशनमा उनी सभापतिको उम्मेदवार बने । 
५ जना आकाङ्क्षी मध्ये दोस्रो स्थान भएपछि पुनः निर्वाचन भयो । जसमा सभापतिका आकाङ्क्षी उम्मेदवार रहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवालाई सघाए । फलस्वरूप कोइराला पराजित हुन पुगे । 
कोइरालाको पराजय सँगै काँग्रेस भित्र कोइराला परिवारको विरासत कमजोर भएको अनुमान लगाइयो । चुनावकै बेला बिपी पुत्र डाक्टर शशाङ्क कोइरालाले पनि शेखरलाई सघाएनन् । देउवा इतर मानिएका रामचन्द्र पौडेलले पनि कोइरालालाई सहयोग गरेनन् । गिरिजा प्रसाद कोइराला पुत्री सुजता कोइरालाले झनै शेरबहादुरको पक्षमा मत मागिन् । पछि शेखरले बिपीले आफ्ना पिता केशवप्रसाद कोइरालालाई लेखेको पत्र स्मरण गराए । आफ्नै भाइ बैनीले धोखा दिएको भन्दै चित्त दुखाए । 
महाधिवेशनको सो घटनाले शेखरलाई 'कोइराला निवास' विरासत धान्ने एकल पात्रको रूपमा उभ्याएको छ। हाल शेखर परिवारको मात्र नभएर नेपाली काँग्रेसकै विरासत मानिएको 'कोइराला निवास'मै बस्दै आएका छन् । गिरिजा प्रसादकै शैलीमा निवासमै कार्यकर्ता भेटघाट र राजनैतिक निर्णय गर्छन् उनी ।
हालै शेखर निर्वाचित क्षेत्रबाट बिपी कोइराला समेत निर्वाचित भएका थिए । २०१५ सालमा क्षेत्र नम्बर ३२ मोरङबाट बिपी निर्वाचित भएका थिए । सोही क्षेत्रबाट २०४८ देखि ०५६ सम्म शैलेजा आचार्य लडिन । २०६४ को पहिलो संविधानसभा निर्वाचन देखी शेखरले सोही क्षेत्रबाट चुनाव लड्दै गएका छन् । पछिल्लो समय राजनीतिको केन्द्रमा रहेका शेखरले विराटनगरको विरासत फर्काउने कसरत गरिरहेका छन् । 
प्रदेश १ को राजधानी मानिएको विराटनगर प्रशासनिक केन्द्रकै रूपमा उदाएको छ । पञ्चायतको समयमा धनकुटामा रहेको प्रशासनिक केन्द्र विराटनगर सरेको छ । हालसम्म आर्थिक केन्द्रकै रूपमा चिनिएको विराटनगरले राजनैतिक शक्तिको रूपमा डा.शेखरको भूमिकालाई पर्खिरहेको छ । 
dr.shrkehar-brt-niwas