इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले अबको काँग्रेस युवामैत्री हुनुपर्ने बताएका छन् । २० देखि ४० वर्ष उमेरका ७५ लाख युवाको नेतृत्व गर्न सक्ने काँग्रेसको खाँचो रहेको र अब वडा देखी केन्द्र सम्म नै युवाहरू नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ ।

कोइरालाले कम्युनिस्टलाई समाप्त नगरुन्जेल आफू आनन्दले बस्न नसक्ने बताएका छन् । ३८ औँ बिपी स्मृति दिवसको अवसरमा सुनसरीको इटहरीमा आयोजित अगुवा सम्मान कार्यक्रममा बोल्दै उनले कम्युनिस्टले देशको भलो नगर्ने भन्दै समाप्त पार्न लागिपरेको बताए ।

सुनसरी क्षेत्र नम्बर २ (क) ले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले कम्युनिस्ट सरकार असफल भएको बताएका हुन् । यो सरकारले अनेक बहानामा जनताको स्वतन्त्रता माथि हमला गर्दै नियन्त्रित लोकतन्त्र अख्तियार गरेको उनको आरोप छ ।

‘बिपीको बिचार बिर्सँदा काँग्रेस पनि समाप्त हुन्छ ।, उनले भने, कोरोनाको कारण प्रजातान्त्रिक समाजवादको महत्त्व बढेको छ । सामाजिक न्याय र समान पहुँचको कुरा बिपीले व्यवहारिक अभ्यासबाटै प्रस्ट पार्नुभएको थियो ।’

आसन्न १४ औँ महाधिवेशनमा सभापतिको दाबेदारको रूपमा हेरिएका कोइरालाले युवा उद्यमशीलता र युवा नेतृत्वको विषयमा ध्यान दिनुपर्ने बताए ।

‘अहिले काँग्रेस भन्दा पनि काँग्रेसीको मानसिकता कमजोर बन्दै गइरहेको हो की ? बिपी कोइराला एसियाको नेता हो यस्तो नेताले बनाएको पार्टी कहिल्यै कमजोर बन्न सक्छ ?,’ उनले प्रश्न गरे ।