इटहरी : बिहीबार विराटनगर स्थित कोइराला निवासमा युवा विद्यार्थीहरू सँग डाक्टर शेखर कोइरालाले लामो संवाद गरे । युवा विद्यार्थीले काँग्रेस नेता डा. कोइराला सँग समसामयिक विषयमा अनेकौँ प्रश्न गरे । युवाको राजनीतिमा भूमिका र भविष्य देखी खेलकुदको क्षेत्रमा काँग्रेसको धारणाबारे जिज्ञासा राखे । 
खेलकुदमा धेरै दुःख भएको भन्दै उनीहरूले काँग्रेस पार्टीको योगदान र धारणा प्रस्ट नभएको उनीहरूको गुनासो छ । डा. कोइराला युवाहरूको कुरा सुन्नुहुन्छ भनेपछि आफूहरू भेटघाटमा आएको उनीहरूले बताए । 
एक युवाले गठबन्धनको औचित्य बारे पनि प्रश्न गरे । २०५२ साल अगाडी नै संवाद र गठबन्धन गरेको भए १७ हजार नेपालीले ज्यान गुमाउनु नपर्ने उनले धारणा थियो । 
एक छात्राले चुनावको बेला मात्र समय दिने अन्य नेताको जस्तो व्यवहार नगर्ने समेत सुझाव दिइन् । महिला तथा युवाको भविष्यको बारेमा गम्भीर हुन उनले आग्रह गरिन् । अधिकांश सहभागीले आगामी योजना र युवालाई राजनीतिमा हौसला दिनुपर्ने सवालका कुरा उठाएका थिए । 
सबैको जिज्ञासा सुनेपछि डा. कोइरालाले हरेक प्रश्नको नामै लिएर जवाफ दिए । युवाहरूलाई राजनीतिमा मात्र भविष्य नखोज्न आग्रह गर्दै उनले राजनीति कमाउने भन्दा पनि सेवा गर्ने क्षेत्र भएको बताए । खेलकुद, आइटी वा अन्य सिपयुक्त क्षेत्रमा भविष्य खोज्न आग्रह गर्दै उनले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कोइरालाले टेबल टेनिसको राष्ट्रिय खेलाडी भएको स्मरण गर्दै खेलाडीको भविष्यबारे गम्भीर हुनुपर्ने धारणा राखे । युवाहरू सिपयुक्त भए मात्र स्वरोजगार र आत्मनिर्भरता बढ्ने उनको तर्क थियो । रिसर्च लगायत रचनात्मक क्षेत्रमा लाग्ने युवाहरूलाई अवसर दिन तयार रहेको विश्वास दिलाए । राम्रो प्रस्ताव लिएर युवाहरू आए त्यसको सम्भावना हेरेर लगानीको वातावरण बनाइदिने बारे आश्वस्त पारे ।