• रश्मि प्रधान
धरान : धरान उपमहानगरपालिकाले सञ्चालनको जिम्मा लिएपछि धरान घण्टाघरको बेवारिसे जस्तै भएको छ । समय दिने घण्टाघरले हिजोआज समय दिँदैन, झुक्याउँछ मात्र । घडी बिग्रिएर बन्द भएको २ महिना भैसकेको छ । तर मर्मत गरेर पुनः चल्ने बनाइएको छैन । भानुचौकमा आइपुगेपछि बाहिरबाट आउने आगन्तुक, पर्यटकहरूको नजर प्रथम पटक घण्टाघरमै पर्दछ । उनीहरू घण्टाघरको घडी हेर्दछन् र आफ्नो नाडीको घडी हेर्छन् र हाँस्छन् मुसुक्क । 
पछिल्लो समय घण्टाघर धरानको 'ठेगाना' बनेको छ । कसैले कसैलाई पर्खने, भेट्ने ठाउँको टुङ्गो घण्टाघर बनेको छ । हात हातमा घडी भए पनि मानिसहरू घण्टाघरको घण्टिले बताउने समय रमाइलो मान्दै ध्यान दिएर सुन्छन् । तर दक्षिण तर्फको घडी बिग्रिएका दुई महिना बिते पनि घण्टाघर परिसर सञ्चालनको जिम्मा लिएको उपमहानगरपालिकाले यसको मर्मत सम्भारमा चासो राखे छैन । घडी बिग्रिएको बारेमा उपमहानगरपालिकामा पटक पटक जानकारी गराइए पनि मर्मत नगरिएको हो । 
घण्टाघर कर्मचारी ‘राजा’ नर बहादुर सुब्बा भन्छन् ‘घण्टाघर सञ्चालनको जिम्मा उपमहानगरपालिकाले लिएको छ, दुई महिना भयो घडी बिग्रिएको चासो राखेको छैन ।’ यसअघि घडी बन्द भए लगत्तै बनाइन्थ्यो । त्यस बेला पूर्व मेयर मनोजकुमार मेयाङबो अध्यक्ष रहेको सञ्चालनका समितिले घण्टाघर हेर्दथ्यो । घडी मर्मत नगरेको मात्र होइन तलब नपाएको पनि २ महिना भएको उनले बताए । अहिलेको महँगीमा दैनिक गुजारा गर्न गाह्रो भइरहेको उनको गुनासो छ । 
सुपरभाइजर निर्मल याक्थुम्बाले भने ‘उपमहानगरपालिका लाई जानकारी दिएका हौँ दुई महिना हुँदा पनि बनाउने चासो देखाएको छैन ।’ उपमहानगरपालिकाले मर्मत नगरेपछि वडा २ लाई मर्मतका लागि भन्दा वडाध्यक्ष रमेश राई उपमहानगरपालिकालाई भन्नु पर्ने बताएको उनको भनाई छ । आफै बनाउँदा खर्च निकासा गर्न गाह्रो हुन्छ । उनका अनुसार दैनिक आम्दानी दैनिकै दाखिला गरिन्छ । उपमहानगरपालिका बाट खर्च निकासा नहुँदा दैनिक कार्यमा समेत हुन सकिरहेको छैन एउटा झाडु किन्ने समेत रकम निकासा भइरहेको छैन । 
घण्टाघर वडा नम्बर २ स्थित भानुचौक बसपार्क क्षेत्रमा छ । उपमहानगरपालिकाले घण्टाघर जिम्मा लिएपछि यसको राम्रो रेखदेख र सञ्चालन गर्न वडालाई जिम्मा दिनुपर्ने प्रस्ताव वडाध्यक्ष रमेश राईले गरेका थिए । तर वडालाई जिम्मा दिइएन । वडाध्यक्ष राईले भने ‘उपमहानगरपालिकालाई वडालाई स्वामित्व हस्तान्तरण गर्न माग गरेको तर दिएन ।’ तसर्थ घण्टाघरको अहिलेको अवस्थाप्रति उपमहानगरपालिका कार्यालय नै जिम्मेवार छ । 
घण्टाघरको निर्माण २०६२ सालमा धरान हङकङ मञ्च तथा नगरवासीहरूको लगानीमा भएको हो । यसको निर्माणको योजना तत्कालीन मेयर मनोज मेन्याङवोले अघि बढाएका हुन । उनी अध्यक्ष रहेको सञ्चालक समितिले यस अघि घण्टाघर सञ्चालन गर्दै आएको थियो । २०७९ मङ्सिर १ गते घण्टाघरको स्वामित्व र सञ्चालनको दायित्व उपमहानगरपालिका कार्यालयले लिएको हो ।
सोही मिति देखी घण्टाघरको आम्दानी उपमहानगरपालिकाले लिन थालेको छ । दैनिक लगभग ५ हजार आम्दानी हुँदै आए पनि यतिका लामो समय घडी मर्मतका लागि चासो नलिएको हो । मर्मतको गर्न आग्रह गर्दा टेण्डर लगाउनु पर्ने बताउने गरिएको छ । उपमहानगरपालिका आर्थिक महाशाखाका प्रमुख भक्तिराज शर्मा त्यहाँ पहिले देखी कार्यरत कर्मचारीलाई नियुक्ति गरेर मात्र तलब दिनु मिल्ने बताउँछन् । घण्टाघरमा ६ जनाको दरबन्दी रहे पनि हाल ३ जना मात्र हाल कार्यरत रहेको उनले बताए ।
Ghantaghar next