धरान : पछिल्लो समय सहरीकरणले साँघुरो भएको घर आँगन गमलाका फुलेले बगैँचा बनाउन बाध्यता बढेको छ । कोठेवारिमा हुने तरकारीहरू कौसी खेतीमा फलाउन थालिएको छ । धरानमा आयोजित धरान एक्स्पोमा यी कुराहरू पनि उपभोक्ताले किन्न पाउने छन् ।
सहरी जीवनको अभिन्न अङ्ग बन्दै गएको फ्लोरिकल्चरका स्टलहरूमा फुलका बिरुवा त छदैछ । कौसीमा तरकारी फलाउने सब्जीका बिउहरू पनि सोताङ कृषि फर्मले विक्री वितरण गर्दै आएको छ । देशमै चर्चा कमाएका कृष्ण राईको कृषि फर्मको स्टलमा अर्ग्यानिक तरकारी, फलफूल पनि पाइन्छ ।
बोट, बिरुवा, फुलका सौखिनहरूका लागि घरायसी इण्डोर सजावटका बोन्साई सम्म एक्स्पोमा विक्रीका लागि राखिएका छन् । धरान-१६ स्थित बुद्ध नर्सरीको बोन्साई स्टलमा ३ दर्जन बोन्साइरुमा ४० वर्ष पुरानो सम्म छन् ।
फ्लोरिकल्चरमा बोन्साई आकर्षणको कुरा बन्न थालेपछि आफुपनि लागेको नर्सरी सञ्चालक रामबहादुर तामाङले बताए । निकै मिहिनेत गर्नुपर्ने र समय पनि लामो लाग्ने भएकोले बोन्साईको मूल्य महँगो हुने उनको भनाई छ ।
नर्सरीको स्टलमा बोन्साई मात्र बिक्रीका लागि राखिएका छन् । राखिएका बोन्साईहरु मध्ये स्वामी र काभ्रोको बोन्साई ४० वर्ष पुगेका छन् । त्यसको मूल्य ५० हजार तोकिएको छ । स्टलमा बरको बोन्साई पनि छ । साथै कामिनी फुल, सिफ्लेटिया, बगानबेलीको बोन्साईहरु पनि छन् ।
५ वर्ष, १० वर्ष, १५, १८, २५ र ३० वर्ष पुरानो बोन्साईको मूल्य वोन्साईको स्वरूप र समय अनुसार २० देखी ५० हजार रुपया कायम गरिएको तामाङले बताए । बोन्साईको मूल्य निर्धारण रुखको प्रजाति र प्राकृतिक स्वरूपको सुन्दरताबाट हुने गरेको छ ।
प्रकृतिमा पाइने अजंगका रुख घरको लिभिङ रुमको टेबुलमा सजाइनु हिजोआज प्रकृति प्रेमी हुनुको परिचायक मान्न थालिएको छ । त्यस्तो सजावट कृत्रिम बोट बिरुवाबाट पनि होला । तर बोन्साईको प्राकृतिकपन सँग त्यसको तुलना हुन्न ।
बोन्साई सुरुआतको इतिहास र सिद्धान्तलाई बुझ्ने हो भने यसलाई जीवन दर्शनको रूपमा लिइनु सकिने यस्का जिज्ञासु युवा नवीन राई बताउँछन् । बोन्साईप्रतिको चासो बढेपछि उनले नेपाली बोन्साईको ‘बाम रुख’अनलाइन सुरु गरेका छन् ।
बोन्साईलाई ‘बाम पुड्के रुख’ भन्न रुचाउने नवीनको अध्ययन अनुसार बोन्साई प्राचीन चिनियाँ बौद्ध भिक्षुहरूबाट सुरु भएको हो । चिनियाँ बौद्ध गुरुले चेलाहरूलाई जीवन बुझ्न एउटा रुखलाई आफूसँगै जीवनभर हुर्काउन सक्नुपर्ने ज्ञानका रूपमा अजंगको रुख बोन्साईको प्रार्दुभाव भएको हो ।
कुनै पनि रुखलाई प्राकृतिक रूपमा हुर्काउन खोजियो भने त्यसलाई मानिस सँगै वृद्धावस्था सम्म राख्न सकिन्न । सधैँ आफै सँग हुर्काउन बिरुवामा पलाउने जरा र हाँगाहरूलाई निश्चित समय र ठाउँमा छाँट्नुपर्छ भन्ने प्राकृतिक विज्ञान चेलाहरूले प्रयोग गर्दै जाँदा अजंगको रुख बोन्साई बनेको हो ।