काठमाडौँ : महिला साधक ‘योगमाया’को जीवनमा आधारित वृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौँमा एक समारोहबिच निर्माण घोषणा गरिएको छ ।

यो वृत्तचित्रलाई भीमदेवी मल्टी क्रियशन प्रा.ली. र आरम्भ नेपालले संयुक्त रूपमा निर्माण गर्ने भएको छ । योगमाया वृत्तचित्र फिल्मका लागि कलाकारहरू सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, वासुदेव खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकारहरू चयन भएको यो बृत्तचलचित्रको घोषणा समारोहमा जानकारी गराइयो ।

योगमाया बृत्तचलचित्र सँगै कार्यक्रममा नुभिव फाउन्डेसनको पनि घोषणा गरियो । निर्देशक भिमा मैनालीको दिवङ्गत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अवसर पारेर सो फाउन्डेसनको घोषणा गरिएको हो ।

मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई सुरुमा वृत्तचित्र र त्यसपछि चलचित्रको रूपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भिमा मैनालीले कार्यक्रममा बताइन् । राणा शासनको बेला स्वतन्त्रताको लागि योगमायाले बृहत् सङ्घर्ष गरेर जल समाधि समेत लिएकाले यो बृत्तचलचित्र उनकै सङ्घर्ष कथामा केन्द्रित रहने पनि निर्देशक भिमाले बताइन् । यस्तै आफ्नो किशोरावस्थाको छोरा नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात् हत्या भएकाले यस्तो हत्या अरूको नहोस् भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको पनि भिमाले बताइन् । बाल कलाकारको रूपमा चर्चा कमाएका नुभिवको काठमाडौँको एक कलेजबाट अपहरण पश्चात् पोखरामा हत्या भएको अवस्थामा शव भेटिएको थियो ।

योगमाया बृत्तचलचित्र घोषणा समारोहमा बोल्दै अग्रज निर्देशक यादव खरेलले भने,‘विगत दुई दशकदेखि अभिनयमा आफ्नो छुट्टै परिचय बनाएकी भिमाले योगमायामाथि पनि यथार्थपरक चलचित्र बनाउनेमा म विश्वस्त छु ।’

अग्रज कलाकार तथा निर्देशक लय सङ्ग्रौलाले कार्यक्रममा बोल्दै भने,‘मैले धेरै वटा टेली फिल्ममा बाल कलाकारको रूपमा अभिनय गराएका नुभिवको एक वर्षअघि अपहरण गरी हत्या भएको खबरले अहिलेसम्म पनि म दुःखी छु । यो प्रकरणका अपराधीहरूलाई चाँडो भन्दा चाँडो कारबाही होस भन्ने म माग गर्दछु ।’ आफ्नो कलाकारलाई गुमाउँदाको पीडा सम्झेर उनी कार्यक्रममा भावुक भए 

यस्तै साहित्यकार निनु चापागाईँले योगमाया आयुर्वेदिक विश्व विद्यालयको स्थापनाका लागि आफूहरूले काम गरिरहेको बेला उनको जीवनीमा आधारित बृत्तचलचित्र निर्माण हुँदै गरेको कुराले हर्षित भएको बताए । योगमायाले त्यति बेलाको नेपाली समाजमा अग्रणी भूमिका निर्वाह गरेकोबारे पनि चापागाईँले कार्यक्रममा चर्चा गरे ।

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सुरेश ढकालले कार्यक्रममा भने,‘योगमायामाथि भिजुअल एन्थ्रोपोलोजीमा एम फिल गर्दै गरेकी भिमाले योगमायामाथि नै अनुसन्धानमूलक चलचित्र बनाउन लागेको कुराले हामी खुसी छौँ । यो सार्थ फिल्म बनोस् भन्ने कामना गर्दछु ।’

अचेल समूहले संयोजन गरेको सो कार्यक्रममा योगमायाको बारे गरिएको स्थलगत रिपोर्टिङमा आधारित छोटो  वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।