• आर.ए.माधव लुइँटेल
विकासशील राष्ट्रहरू मध्ये हाम्रो देश नेपाल पनि एक हो । हाम्रो देशको रोजगारीको व्यवस्था हेर्दा विगत धेरै अगाडिबाटै यो धेरै नै न्यून रहेको देखिन्छ । २१औँ शताव्दिमा पुग्दा सम्म पनि उही पुरानो शैलीबाट कार्य गर्ने गर्दा नेपाल सरकारले रोजगारीका अवसरहरूको सृजना गर्न नसकिरहेको देखिन्छ । 
अर्थशास्त्रमा श्रम विभाजन बारे पङ्क्तिकारले गरेको अध्ययन अनुसार श्रम विभाजन गरेर पनि नयाँ नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ । श्रम विभाजनको मान्यतालाई हाम्रो मुलुकमा धेरै नै बेवास्ता गरिएको छ ।
सैनिक क्षेत्रमा श्रम विभाजनलाई कसरी प्रयोग गरेको पाइन्छ भने ढुङ्गाहरू ओसार्ने सवालमा धेरै व्यक्तिहरू लामबद्ध भएर उभिईकन एक व्यक्तिबाट अर्को व्यक्तिमा ढुङ्गा सार्दै गन्तव्यमा पुर्याउने र पहिरो वा बाढी नियन्त्रणका क्षेत्रमा त्यसरी कार्य गर्ने गरिएको देखिन्छ । त्यस्तै निर्माण सम्बन्धी कार्यमा  पनि तगारी व्यक्ति व्यक्तिमा हस्तान्तरण गरेर ढलाइ गर्ने चलनमा मात्र श्रम विभाजनको माध्यमबाट फाइदा प्राप्त गरी कार्य गर्ने गरिएको पाइन्छ । श्रम विभाजनलाई त्यसरी अति पुरानो शैलीमा मात्र सीमित गरिनु नै कार्यमा कमी आउनु हो ।
कृषि कार्यमा श्रम विभाजन सहरहरूको बाटोहरूमा हरियाली लगाउने सन्दर्भमा लागू गर्नु पर्ने हुन्छ । विशेष गरेर विद्यार्थी वर्गहरूलाई पार्ट टाइममा पारिश्रमिक दिने प्रचलन चलाउनु अति आवश्यक छ । कसैलाई पानी हाल्ने काम मात्र लगायो । कसैलाई गोडमेल गर्ने मात्र काम लगायो । कसैलाई बिरुवा रोप्ने मात्र काम लगायो । इत्यादि गर्न सकेको खण्डमा अवश्य पनि केही फाइदा  देशलाई पुग्दछ । कार्यहरूलाई नियमितता दिनु आवश्यक हुन्छ । साथमा कार्य विभाजन पनि गरिनु पर्दछ । काम गर्ने व्यक्तिहरूको सङ्ख्या बढाउनु हामीले आवश्यक हुन्छ । थोरै व्यक्तिबाट मात्र काम लिने परम्परालाई अव तोड्न आवश्यक हुन्छ । श्रम विभाजनको योजना गरेर वृहत् रूपमा कसरी फाइदा प्राप्त हुन सक्छ भन्ने केवल राम्रो विश्लेषण मात्र गर्न सकेको खण्डमा एकातिर रोजगार सङ्ख्या वृद्धि हुन्छ भने अर्को तिर देशमा दिगोपना पनि मजबुत हुन पुग्दछ । यस सवालमा रोजगारदाताले सोच्नु अति आवश्यक हुन्छ । 
हरेक घरको बाटो छोएको मुखमा फूलबारी लगाउने प्रचलन गर्न सकेको खण्डमा व्यापक मात्रामा रोजगारीको सृजना हुन सक्दथ्यो । धरानमा मात्र यत्ति धेरै घरहरू छन् सङ्ख्या गन्ने हो भने ५०००० भन्दा बढी घरहरू छन् । त्यो सङ्ख्या बढ्दो हुन्छ । त्यसैले हरेक घरधुरीहरूले बाटोको मुखमा परेको जग्गामा कसैको २० फुट होला कसैको ३० फुट होला कसैको ४० फुट होला यस्तै यस्तै हुन्छ नै । त्यो मुखको जग्गामा सबै स्थानमा फूलबारी निर्माण गर्नुपर्ने परिकल्पना भने गर्नु पर्ने हुन्छ । तर सदुपयोगको हिसाब गर्दा केही भागमा अनिवार्य फूलबारी लगाउन सक्ने अवस्था भने छ ।
गाडी चल्ने स्थानमा भने फूलबारी विकास गर्न सकिँदैन । त्यहाँ कङ्क्रिट निर्माण भएको हुन्छ । गाडीको आवत जावतका कारण फूलबारी विकास हुन सक्दैन । त्यस्तो अपवाद बाहेक हरेक घरको अगाडी ज्यादा भन्न खोजिएको छैन । यहाँ केवल सुन्दरताको मात्र विकास खोजिएको छ । थोरै अति थोरै क्षेत्रमा फुलहरू लगाउने परिपाटि अनिवार्य गरिन खोजिएको छ । 
वर्तमानमा राष्ट्रिय गौरवको योजना कार्यान्वयनमा आएको समस्याका कारण के होला भन्ने अनुमान गर्दा यस्तै स्वरोजगारको रोजगारीको कार्यहरू कहिल्यै नगरिएका कारणले भएको हो भन्ने लाग्दछ । सडकका घरहरूले बाटो नछाड्ने निर्णय गरिरहेको अवस्था अवलोकन गर्दा ती सबै घरहरूको मुखमा फूलबारी नलगाइएको कारण यस्तो भएको जस्तो लाग्दछ । सरकारको तर्फबाट त्यस्ता क्षेत्रमा कार्य गर्ने कामदारहरूले उनीहरूले कार्य गरिरहेको फूलबारी केही सार्नुपर्ने हुन्थ्यो । सार्नलाई उनीहरूले समयमा जानकारी गराउन सक्थे । तसर्थ अत्यधिक बजारका सडकहरूमा ती सडकको मुखमा जोडिएका घरहरूमा न्यूनतम अवस्था हेरेर फूलबारी लगाउने प्रचलन चलाउनु नितान्त जरुरी छ ।
सहरका व्यक्तिहरूले फूलबारीमा कार्य गर्ने गर्दैनन् । तसर्थ त्यस्ता क्षेत्रमा प्लस टु तथा त्यस माथिका विद्यार्थीलाई आय हुने अवस्था कायम गरिनु पर्दछ । उनीहरूलाई तलब सम्बन्धित सरोकार धर धनीहरूले रकम निकाल्ने गर्नु पर्दछ । सरकारले यस सम्बन्धमा कार्य गर्नु नितान्त जरुरी छ ।  
घरवालाले आफैँ फूलबारीमा काम गर्ने छैनन् । तर घरवालाको फूलबारीमा कलेजका विद्यार्थिहरुलाई श्रम विभाजनको मान्यता अनुसार पारिश्रमिक दिने व्यवस्था गर्दै फूलबारी विकास गरिनु नितान्त आवश्यक छ । त्यसो हुन सकेको खण्डमा पढाइमा संलग्न विद्यार्थिहरुको आय वृद्धि हुने हुन्छ । विद्यार्थीको आय वृद्धि हुन सकेको खण्डमा स्वदेशमा अन्य उद्योगहरू खुल्न सक्ने सम्भावना हुन सक्तछ । 
सरकार र निजी क्षेत्र सँगको सहकार्यमा सडक किनारामा बाटो भाग छाडेर सरकारी सहभागितामा व्यापक मात्रामा विद्यार्थिहरुलाई स्वरोजगार गराउने जमर्को गर्न फूलबारी योजना कार्यान्वयन गर्न सकिएको अवस्थामा धरानको विकासमा एउटा टेवा पुग्ने विश्वास लिइएको छ । 
धन्यवाद  ।